“चौथो अन्तर्राष्ट्रिय सम्मेलन – दिगो विज्ञ प्रणाली (ICSES 2024)” सम्पन्न

पोखरा विश्वविद्यालयद्वारा “चौथो अन्तर्राष्ट्रिय सम्मेलन – दिगो विज्ञ प्रणाली (ICSES 2024)” सम्पन्न

२०८१ साल असोज २९ गते मङ्गलबार, पोखरा–३०, कास्की

पोखरा विश्वविद्यालयले “4th International Conference on Sustainable Expert System – ICSES 2024”  भर्चुअल रूपमा सम्पन्न गरेको छ । यस सम्मेलनमा विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरूले सहभागिता जनाएका थिए। सम्मेलनको मुख्य उद्देश्य दिगो विकासका लागि विज्ञ प्रणालीहरूमा भएका नयाँ प्रविधिहरूको खोज र अनुसन्धानलाई प्रवर्द्धन गर्नु रहेको थियो।

कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय, ईन्जिनियरिङ संस्थान, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुवर्ण शाक्यले स्वागत मन्तव्यका साथ गर्नुभयो। डा. शाक्यले सम्मेलनका विविध कार्यक्रमहरूलाई समेट्दै, दिगो प्रविधि विकास र विज्ञ प्रणालीहरूको महत्त्वको बारेमा प्रकाश पार्नुभयो। उहाँले यस्तो प्रकारका अन्तर्राष्ट्रिय सम्मेलनहरूले प्रविधि क्षेत्रमा ज्ञानको आदान-प्रदान गर्न ठूलो सहयोग पुर्याउने कुरा उल्लेख गर्नुभयो।

सम्मेलनको सहजीकरण पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन, प्राध्यापक राजेश कुमार ठगुराठीले गर्नुभयो। उहाँले यस्ता सम्मेलनहरूले अनुसन्धान र प्रविधिमा योगदान पुर्याउने र पोखरा विश्वविद्यालयको भूमिका थप सशक्त हुने विश्वास व्यक्त गर्नुभयो।

मुख्य वक्ताका रूपमा जर्मनीको TUM विश्वविद्यालयका अतिथि प्राध्यापक र भारतीय सूचना प्रविधि संस्थान, कोट्टायमका अनुसन्धान तथा अन्तर्राष्ट्रिय मामिलाका प्रमुख डा. शाजुलिन बेनेडिक्टले “Sustainable Federated Learning for Health Care Application” विषयमा आफ्नो प्रस्तुति दिनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग र दिगो विकासमा त्यसको योगदानको बारेमा प्रस्ट्याउनुभयो।

यस सम्मेलनले दिगो विज्ञ प्रणाली, कृत्रिम बुद्धिमत्ता, मानव-कम्प्युटर अन्तरक्रिया, र स्मार्ट प्रणालीहरूको विकासमा नयाँ सम्भावनाहरूको खोजी र तिनका व्यावहारिक उपयोगका विषयमा गहन छलफलको अवसर प्रदान गर्यो।