दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

२०७९ साल असार ३ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरामा दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । असार २ र ३ गते दुई दिनसम्म चलेको सो सम्मेलनमा प्रस्तुतिकरण र सामूहिक छलफल भएको थियो । सम्मेलनलाई पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवम् त्रिभुवन विश्वविद्यालय पृथ्वी नारायण क्याम्पस, पोखराले संयुक्त रूपमा आयोजना गरेका हुन ।

दक्षिण एसियाली अध्ययनका विभिन्न पक्षका अन्तरविषयमा सहभागि विद्वानहरूले प्रस्तुतिकरण र सामूहिक छलफल गरेका थिए । सम्मेलनले दक्षिण एसियाली अध्ययनसँग सम्बन्धित १) संग्रहालय र स्मारकहरू, २) आदिवासी, भाषा र साहित्य, ३) पर्यटन, वातावरण र इकोक्रिटिकिजम्, ४) सिनेमा, प्रदर्शन र दृष्यकला तथा ५) नयाँ मिडिया, सञ्चार र साइबर संस्कृतिलाई निचोडको रूपमा प्रस्तुत गर्नेछ । सम्मेलनमा प्रस्तुत भएका दक्षिण एसियाका विविध सांस्कृति, इतिहास, भाषा र साहित्यसँग सम्बन्धित विषयका अनुभव र अन्वेषणलाई एकत्रित गरी जर्नल प्रकाशित हुनेछ । नेपाल यात्रु र साहसिक यात्रा खोज्नेहरूका लागि पनि उत्कृष्ट गन्तव्य स्थल रहेको र यहाँको समृद्ध सम्पदा, साहसिक कार्य, प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र विविधताका विभिन्न पक्षहरूलाई समेत विश्वसामू ल्याउन सम्मेलन फलिभूत हुने विश्वास लिइएको छ ।

सम्मेलनमा ६ वटा विभिन्न देशहरू–नेपाल, भारत, चीन, भुटान, बंगलादेश र इटालीका १५ वटा विश्वविद्यालयहरूबाट कुल ८६ जना प्राध्यापक, विद्वान, स्वय्सेवक एवम् अनुसन्धानकर्ताहरू सहभागि थिए । सम्मेलनमा कुल ३५ वटा पेपरहरू प्रस्तुत भएका थिए । सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, नेपालका अंग्रेजी केन्द्रीय विभागका प्रा.डा. अभि सुवेदी प्रमुख वक्ता हुनुहुन्थ्यो ।

पाँचवटा सत्रमा चलेको सम्मेलनको सत्रको अध्यक्षता प्रा.डा. अभि सुवेदी, प्रा.डा. जिवलाल सापकोटा, प्रा. विश्वराज अधिकारी, प्रा.डा. धु्रव कार्की र प्रा.डा. मोम्मद इस्लामले गर्नुभएको थियो ।

उद्घाटन सत्रको अध्यक्षता पृथ्वी नारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख सह–प्रा. घनबहादुर थापाले गर्नुभएको थियो । त्यसको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिव लाल भुसाल हुनुहन्थ्यो । त्यसैगरी समापन समारोहको अध्यक्षता पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सह–प्रा.डा. अजय थापाले गर्नुभएको थियो । त्यसको प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल हुनुहुन्थ्यो ।

सम्मेलनको आयोजक समितिको संयोजकमा पृथ्वी नारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख सह–प्रा. घनबहादुर थापा र वैज्ञानिक समितिको संयोजकमा प्रा.डा. मिन पुन हुनुहुन्थ्यो ।

सम्मेलनका केही तस्विरहरूः