पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच सम्झौता

२०७९ साल भदौ २१ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच स्वास्थ्य क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी नागरिकको स्वास्थ्य सुविधा कायम राख्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले आयोजना गरेको तीनदिने कार्यशालाको सञ्चालनस्थल लेकसाइड, पोखरामा आयोजित उक्त समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट स्वास्थ्य विज्ञान सङ्काय डीन सह–प्रा.डा. अमर नागिला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले हस्ताक्षर गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी एवम् पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीको समुपस्थितिमा हस्ताक्षर सम्पन्न भएको उक्त समझदारी पछि दुबै संस्थालाई स्वास्थ्य सम्बन्धी अनुसन्धानलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी, व्यापक एवम् व्यावहारिक र समय सापेक्ष बनाई व्यावसायिक क्षेत्रको क्षमता विकास र नवप्रवर्तनमुखी बनाउन एक आपसमा मिलेर कार्य गर्न सहज हुने विश्वास लिइएको छ ।

सम्झौताबमोजिम लक्ष्य र उपलब्धि हासिल गर्न आलोपालो अध्यक्षता गर्ने गरी दुबै संस्थाबाट एक–एक जना संयोजक र दुई–दुई जना सदस्य रहने गरी जम्मा छ सदस्यीय सम्झौता कार्यान्वयन समिति गठन हुनेछ । समितिले संयु्क्त अनुसन्धानका तथा अन्य क्रियाकलापका लागि आवश्यक सञ्चालन कार्यविधि र नीतिहरू तर्जुमा गरी लागू गर्ने र अनुसन्धान कोषको व्यवस्थापन गर्नेछ ।

सम्झौता समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारी, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको थियो ।