१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २२ औं सभा सम्पन्न

१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २२ औं सभा सम्पन्न

२०७८ साल असार १४ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको २२ औं साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा बसी सम्पन्न भएको छ ।

सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा गहना रहेकोले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डोर्याउन यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने भन्दै प्रधानमन्त्रीले यसको लागि विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गरी शिक्षित बेरोजगार अन्त्य गर्ने संस्था भनेका विश्वविद्यालयहरू नै हुन भन्दै शैक्षिक क्षेत्र अस्तव्यस्त र दिशाहीन बनेमा यसको घाटा भनेको तपाई हामी र मुलुकलाई नै हो भन्नुभयो । त्यसैले सकारात्मक सोच लिएर विश्वविद्यालयको विकास र विस्तारमा सबैले साथ सहयोग दिनुपर्नेमा उहाँको जोड थियो । उहाँले विश्वविद्यालयले पनि स्थानीय सरकार, महानगरपालिकहरूसँग समन्वय गरी अगाडि बढ्न सकेमा यसले यस गति लिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले उच्चशिक्षालाई देशको आवश्यकतामुखी, रोजगारमुखी, व्यवहारिक, गुणस्तरीय र विश्वका उत्कृष्ट विश्वविद्यालयका समकक्ष बनाउन सरकार दृढ संकल्पित रहेको उल्लेख गर्दै शैक्षिक क्षेत्रमा देखिने विसंगतीको अन्त्य गर्दै शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम एवम् रजिष्टार डा. दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को लागि कुल १ अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ ।

स्वीकृत बजेटमा पूँजीगत खर्चतर्फ रू. ६४ करोड ३ लाख ५७ हजार र साधारण तर्फ जम्मा रू. ८१ करोड ९६ लाख ४३ हजार रहेको छ ।

सभाले विश्वविद्यालयको सम्बन्धनप्राप्त महाविद्यालयहरुलाई बढीमा दुईवटा कार्यक्रम/समुह (सेक्सन) प्रतिस्थापन तथा थप गर्ने गरी महाविद्यालयहरुलाई सङ्काय विशिष्टिकरण गर्ने विश्वविद्यालयको नीतिलाई परिमार्जन गरी सम्बन्धित महाविद्यालय/कलेजहरुलाई स्वैच्छिक अवसर दिई सोको बाँकी प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको छ । साथै दश वर्षदेखि रोकिएको नयाँ महाविद्यालयहरूको सम्बन्धन प्रक्रियालाई समेत सभाले खुला गर्ने नीति अवलम्बन गरेको छ र मौजुदा सम्बन्धन शुल्कमा समेत परिवर्तन भएको छ ।

त्यसै गरी सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्न स्वीकृति प्रदान गर्दै विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८ औं साधारण सभाको वैठकबाट भएको निर्णय बमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रकृयाहरु अवलम्बन गर्नु पर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा विश्वविद्यालयले भौतिक निर्माण र पूर्वाधार विकासमा जोड दिएको छ । जसमध्ये सञ्चालन हुन लागेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका साथै केन्द्रीय कार्यालय प्रशानिक भवनमा दुई तला थप, परीक्षा नियन्त्रण कार्यालयको लागि थप भवन निर्माण, मुँसेटुडामा रहेको जग्गाको विस्तृत गुरू योजना अनुसार ५ हजार विद्यार्थी पठनपाठन गर्ने क्षमताका प्राज्ञिक भवन तथा शैक्षिक भवन निर्माण र तिनलाई चाहिने आवश्यक पूर्वाधार निर्माणको गुरू योजनाको लागि बजेट विनियोजन रहेको छ ।

२२ औं सभाले स्वीकृत गरेबमोजिम यसै शैक्षिकसत्रदेखि मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत कानुन विषयमा Bachelor of Arts – Bachelor of Laws (BA LLB) कार्यक्रम र शिक्षा विषयमा Post Graduate Diploma in Pedagogical Science (PGDPS) कार्यक्रम; स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत BSc Medical Imaging Technology (BSc MIT) कार्यक्रम; विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत PhD in Engineering कार्यक्रम र MSc Sanitary Engineering कार्यक्रम; मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत PhD in Development Studies तथा व्यवस्थापन सङ्कायअन्तर्गत PhD in Management   कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले सरकारको नीति अनुरूप मेडिकल कलेजको सञ्चालन प्रक्रिया अगाडि बढाउने छ । साथै विभिन्न सङ्कायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहका आङगिक कार्यक्रमहरूको सबलीकरण हेतु सरकार, सरोकारवाला एवम् स्थानीय निकायको सहभागितामा भूगोलको विशेषता र सम्भाव्यताको अध्ययन गरेर देशका ७ वटै प्रदेशमा आवश्यकता अनुसार आङ्गिक महाविद्यालयहरूको विस्तार गरिने भएको छ ।

यसै गरी पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयहरूलाई आवश्यकता अनुसार सामूदायिक तथा निजी महाविद्यालयको रूपमा वर्गीकरण गरिनेछ र सामूदायिक महाविद्यालयको सञ्चालनलाई स्थानीय सरकार र संघसंस्थाको सहयोगमा मुनाफारहित महाविद्यालयको रूपमा व्यवस्थित गर्ने नीति अवलम्बन गरिनेछ । पोखरा विश्वविद्यालयले दिने छात्रवृत्तिलाई सरकारले अवलम्बन गरेको नीति अनुरूप योग्यता र समावेशिताका आधारमा वर्गीकरण गरी छात्रवृत्ति प्रदान गर्ने आधार निर्माण गरिनेछ ।

२२ औं सभाका तस्विरहरूः