साइबर सुरक्षासम्बन्धी किकअफ् एवम् योजना कार्यशाला बैठक शुरू

साइबर सुरक्षासम्बन्धी किकअफ् एवम् योजना कार्यशाला बैठक शुरू


२०८० साल मङ्सिर ५ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवम् युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सी (European Education and Culture Executive Agency (EACEA)) को आर्थिक सहयोगमा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय परियोजनाको सामूहिक शुरूवाती बैठक (Kickoff Meeting) आज पोखरामा शुरू भयो । नेपाल लगायत भारत, इन्डोनेसिया, साइप्रस, क्रोसिया र स्पेन देशअन्तर्गतका १४ वटा संस्थाहरूका लगभग ३० जना विज्ञहरू सहभागि रहेको उक्त किकअफ् एवम् योजना कार्यशाला बैठक आउँदो मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ । सबैका लागि साइबर सुरक्षा नाम दिइएको उक्त बैठकलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

साइबर सुरक्षासम्बन्धी उक्त किकअफ् बैठकलाई सम्बोधन गर्दै रजिष्ट्रार भण्डारीले डिजिटल प्रविधिको विकास र प्रयोगले विभिन्न अवसरहरू सिर्जना गरेपनि त्यसको दुरूपयोग र अनाधिकृत पहुँचले साइबर जगतमा त्यत्तिकै जोखिम र आक्रमण बढ्दै गएको बताउनुभयो । उहाँले विज्ञान प्रविधि र आधुनिक उपकरणको बढ्दो प्रयोगले संवेदनशिल डाटा तथा सूचना चोरी÷दुरूपयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई न्यूनिकरण गर्न जनस्तरमा साइबर सुरक्षासम्बन्धी जनचेतना र अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

उक्त बैठकलाई पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. उमेशसिंह यादव, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका सह–प्रा.डा.दिपाञ्जल श्रेष्ठ तथा लोकमाया तिलक जनकल्याण शिक्षण संस्था, नागपुर, भारतका डा. विवेक नानोति लगायतले विश्वव्यापी डिजिटल प्रविधिको प्रयोग र सम्बन्धित राष्ट्रको वर्तमान अवस्था, साइबर सुरक्षामा देखिएका विद्यमान दुरूपयोग र चुनौतिलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।