व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम

व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम

२०७९ साल वैशाख ५ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा एक दिने प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति एवम् रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा लेखनाथ उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भयो । उक्त प्रशिक्षात्मक कार्यक्रमलाई प्राज्ञ डा. चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिनु भएको थियो ।

पोखरा विश्वविद्यालयका उपकुलति प्रा.डा. प्रेमनारायण अर्यालले प्रशिक्षात्मक कार्यक्रमलाई पानसमा दियोबाली उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपकुलपतिले मान्छेको प्राण, कमाएको धनसम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको तर उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडि सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिनु भयो । उहाँले विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेश र घृणा छोड्नुपर्ने बताउनुभयो । विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उपकुलपतिले यसका लागि एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले कम्प्यूटरमा हार्डवयर र सफ्टवयर भएजस्तै मान्छेको शरीररूपी हार्डवयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ नयाँ सिर्जनात्मक एवम् सकारात्मक सोचहरूले मस्तिकलाई समयानूकुल रूपान्तरण गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उहाँको विश्वास थियो ।

प्रशिक्षक डा. चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धनसम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकोले उसले आफैले आफूलाई चिन्न नसकेको तर्क राख्नुभयो । उहाँले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गर्नुभयो । मानिसले पलभर पनि आफ्नो प्राण र शरीरलाई साथ दिन नसक्दा विभिन्न दुःख, कष्ट, पिडा र चिन्ताले ग्रस्त हुने गरेको डा. योगीले बनाउनु भयो । जबसम्म सकारात्मक र नकारात्मक सोच चिन्न सकिदैन, पवित्र र अपवित्र के हो बुझ्न सकिदैन, सत्कर्म र दुत्कर्म के हो छुट्याउन सकिदैन, तबसम्म मानिसले आफूलाई परिवर्तन गर्न नसक्ने उहाँको तर्क थियो । जुन काम आवश्यक छैन, जसलाई त्याग्दा जीवनलाई कुनै हानि हुँदैन त्यस्ताको प्रयोग गर्न मानिस बाध्य हुने गरेको र यसलाई परिवर्तन गर्न आत्मबल र दृढशक्ति हुनुपर्ने उहाँले बताउनुभयो । डा. चिन्तामणि योगिले पोखरा विश्वविद्यालय शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण धरोहर भएकोले यसको प्रतिष्ठा अभिवृद्धिका लागि सहयोग र सहकार्यका लागि आफू सँधै लागि पर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घ जीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले योगा, भोजन शुद्धि, वाणि शुद्धि, परिवेश शुद्धि र सौचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने बताउनुभयो । मनको शुद्धि, साधना, सत्संग, संस्कार जस्ता विधि र प्रयोगले मानिसलाई ज्ञानी र कृपालु बनाउने उहाँको विचार थियो । मन चिन्ताबाट मुक्त गर्दै आनन्दित र पुलकित तुल्याउन लफिङ्ग थेरापी, मेडिटेशन र विभिन्न योगा विधिका बारेमा स्वामी योगानन्दले अभ्यास प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवम् व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम तयारी समितिका संयोजक डा. दिपकराज पौडेलले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने विचार राख्दै जिम्मेवारी निर्वाह गर्नुपनि तनाव व्यवस्थापनको एक पाटो रहेको आफूले बुझेको बताउनुभयो । डा. अर्जुनकुमार थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, शिक्षक, कर्मचारी लगायत लगभग २०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अन्य तस्बिरहरूः