रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी

रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी

२०८० साल मंसिर १ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र पोखरा र नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टर काठमाडौ विश्वविद्यालय, धुलिखेलका (https://ntic.ku.edu.np/) बिच २०८० साल कार्तिक २४ गते शुक्रबार रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्र (एमओयु) मा पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा.डा. नमराज धामी र नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टर काठमाडौ विश्वविद्यालयको तर्फबाट उक्त संस्थाका निर्देशक प्रा.डा.राजेन्द्र ज्ञवालीले हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टरका निर्देशक प्रा.डा.राजेन्द्र ज्ञवालीले नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टरमा रहेको अत्याधुनिक सुविधायुक्त प्रयोगशालालाई सबै विश्वविद्यालयहरूसँग सहकार्य गर्दै सञ्चालनमा ल्याउन सके यसको उपादेयता र प्रभावकारीतामा उल्लेख्य बृद्धि हुने बताउनुभयो । त्यसैगरी काठमाडौ विश्वविद्यालय स्कुल अफ साइन्सका डीन प्रा.डा. जनार्दन लामिछानेले दुई विश्वविद्यालयहरूबीच भएको समझदारी संयुक्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याउन कोशेढुंगा सावित हुने बिचार व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्रा.डा. अमर नागिलाले दुई संस्थाबीचको समझदारीले विद्यार्थी प्राध्यापक लगायतलाई एकआपसमा मिलेर अनुसन्धानात्मक कार्यहरू गर्न बाटो खुलेकोले यसबाट दुबै संस्था लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा.डा. नमराज धामीले सहकार्यमा अनुसन्धान गर्नका लागि दुईसंस्थाबीच भएको समझदारीले असल सुरुवात गरेको र यसलाई जीवन्त बनाइ राख्न संयुक्त कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा.मनिष पोखरेल, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह प्रा. डा. उमेश सिंह यादब, स्कुल अफ हेल्थ एण्ड अलाईड साइन्सेजका निर्देशक बिमला भट्ट लगायत पोखरा विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।