नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स पोखरा विश्वविद्यालयमा ।

नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स पोखरा विश्वविद्यालयमा ।

२०८० फाल्गुन ११ गते शुक्रवार, | नमराज धामी, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र, पोखरा-३०, कास्की |
फाल्गुन ११, २०८० (तदनुसार फेब्रुअरी २३, २०२४) को दिन पोखरा विश्वविद्यालयका लागि संसारकै उत्कृष्ट बैज्ञानिक तथा सन् १९९३ को मेडिसिन विधा अन्तर्गत नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स (The Nobel Laureate Sir Richard John Roberts, recipient of The Nobel Prize in Physiology or Medicine 1993) लाई विश्वविद्यालयका परिसरमा स्वागत गर्न पाएको र उहाँ सित प्रत्यक्ष साक्षात्कार हुन पाएको बिरलै तर प्रथम अवसर प्राप्त भएको भाग्यशाली दिनका रुपमा स्थापित भएको छ | हाल अमेरिकाको बिश्व प्रसिद्ध न्यू इंगल्याण्ड बायोल्याब्स (New England Biolabs) मा प्रमुख बैज्ञानिक (Chief Scientific Officer) का रुपमा सक्रिय रहेका ८० बर्षिय सर रिचर्ड पोखरा स्थित बन विज्ञान क्याम्पसमा फाल्गुन १०-११, २०८० मा आयोजित तेस्रो RTSTI2024 (https://www.rtsti.com/) सम्मेलनको मुख्य बक्ताको रुपमा सहभागी हुन नेपाल आएको अवसर पारेर गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (GPAST) को सहकार्यमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) ले सर रिचर्ड र पोखरा विश्वविद्यालयका बिद्यार्थी, शिक्षक र कर्मचारीहरु गरि झन्डै ८० जनाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो |

अन्तरक्रिया कार्यक्रममा सर रिचर्डले अनुबंश परिवर्तित जीवहरु (Genetically Modified Organisms, GMOs) हरुको समुचित प्रयोग गरेर खाद्य सुरक्षा, पोषण सुरक्षा, वातावरणीय प्रदुषण नियन्त्रण, र गरिबी निवारण लगायतका वैश्विक चुनौतिहरुको सजिलै र दिगो समाधान गर्न सकिने हुनाले Genetic Engineering सित सम्बन्धित अध्ययन अनुसन्धान कार्य लाई उच्च प्राथमिकता साथ आगाडी बढाउनु पर्ने बिषयमा जोड दिनुभयो | उदाहारणका लागि कोभिड -१९ को महामारी नियन्त्रण गर्न सफल भएका भ्याक्सिनहरु अत्यन्तै छोटो समयमा उत्पादन गर्न Genetic Engineering को प्रयोगले मात्र सम्भव भएको जानकारी दिनुभयो | त्यस्तै, Bacillus thuringiensis नामक ब्याक्टेरियाको Bt जीन समावेश गरि निर्माण गरिएका Bt Brinjal (भन्टा) र Bt Cotton (कपास) को खेति गर्नाले हानिकारक विषादीको प्रयोग न्यूनीकरण गर्दै सजिलै सित प्राकृतिक रूपमै बालीमा लाग्ने किराको प्रकोप नियन्त्रण गर्न सकिने जानकारी दिनु भयो | त्यस्तै बहुसंख्यक मानिस हरुले दैनिक खाने चामलमा बिटा क्यारोटिन (beta carotene) नामक रसायन एकत्रित हुने गरि अनुबंश परिवर्तन गरिएको सुनौलो धान (Golden Rice) को खेति गर्नाले करोडौ मानिसहरुलाई भिटामिन ए को अल्पताबाट जोगाउन सफल हुने दाबी पेश गर्नुभयो र फिलिपिन्स देशले सुनौलो चामलको परिकारहरु दैनिक उपभोग गर्ने गरि विधिवत रूपमा सफल प्रयोग गरि सकेको जानकारी समेत दिनु भयो |

GMO हरुको निर्माण निर्दिष्ट उद्धेश्य प्राप्ति गर्नका लागि गरिने र तिनीहरुको वातावरणीय तथा मानव स्वास्थ्यमा पर्ने    बहुआयामिक प्रभावहरुको सम्पूर्ण मुल्यांकन बैज्ञानिकहरुले अनुसन्धानकै क्रममा निर्क्यौल गरी सक्ने र पूर्ण सुरक्षित प्रमाणित भएका GMO हरु मात्रै सार्वजनिक प्रयोगका लागी योग्य हुने भएपनि बिभिन्न देशहरुले GMO को प्रयोग सम्बन्धि फरक फरक र असहयोगी नीतिहरु अख्तियार गरेको साथै ग्रीनपीस (Green peace) लगायतका संस्थाहरुले यथेष्ट जानकारी समेत नराखी पूर्वाग्रही ढंगले GMO हरुको प्रयोगको अनावश्यक बिरोध गर्ने गरेको बताउनु भयो | GMO र GMO बाट उत्पादित बस्तुहरु तोकिएको प्रयोजनका लागि उपयोग गर्न पुर्णतया सुरक्षित रहेको पुष्टि बैज्ञानिक अनुसन्धानहरु बाट पटक पटक गरिने भएकोले नेपाल जस्ता अल्प विकसित राष्ट्रहरुले Genetic Engineering का माध्यम बाट उत्पादन गरिएका बस्तु र सेवाको उचित प्रयोग गर्नका लागी यथाशिघ्र राष्ट्रिय नीति र मापदण्ड निर्माण र कार्यन्वयन गर्न राजनैतिक सचेतना र प्रतिबद्धता आवश्यक रहेको जनाउनु भयो | बिश्वब्यापी रूपमा GMO को प्रयोग सुलभ हुने गरी उपयोगमा ल्याउनका लागि आफु लगायत १६७ नोबेल पुरस्कार बिजेताहरुले संयुक्त आवाज उठाई राखेको बिषय समेत जानकारी दिनु भयो | सहभागीहरुका तर्फबाट उठेका जिज्ञासाहरु लक्षित गर्दै सर रिचर्डले GMO को प्रयोग गर्दा किसानहरु लगायत समस्त उपभोक्ताहरु लाई समेत आर्थिक लगायतका बहुआयामिक फाइदा हुने तर्क राख्नु भयो | तर, Genetic Engineering उत्कृष्ट प्राबिधिक विधा भएकोले सो सम्बन्धि प्राबिधिक दक्षता भएका बैज्ञानिकहरुको यथेष्ट उपलब्धता नेपालमै पनि हुनु पर्ने र राजनैतिक एबम् व्यवस्थापकीय नेतृत्वकर्ताहरुले बैज्ञानिकहरुका खोज अनुसन्धान प्रति चासो दिई नवीन उपलब्धिहरुलाई देशको छरितो बिकासका लागि सदुपयोग गर्नु पर्ने बिषयमा जोड दिनु भयो |

नेपालमा Genetic Engineering लगायत अन्य विशिष्टीकृत विधाहरुको पठन पाठन तथा अनुसन्धान कार्य अझै सम्भव नभएको र कतै कतै अध्यापन शुरु गरिएका बिषयहरु पनि प्राय: सैद्धान्तिक मात्रै रहेको र प्रयोगात्मक सीप सिक्ने अवसर निकै न्यून हुने गरेको हुनाले पछिल्लो समयमा युवा विद्यार्थीहरुको विदेश पलायन बढेको सम्बन्धि जिज्ञासाको  विषयमा बोल्दै सर रिचर्डले बिद्यार्थीहरुलाई संसारको जुनसुकै ठाउँमा भएको पनि उत्कृष्ट केन्द्रहरुमा अध्ययन गर्न प्रेरित गर्नु पर्ने र जानु नै पर्ने तर ज्ञान र शीप हाँसिल गरि सकेपछि सक्दो चाँडो घर फर्केर स्वदेश सेवा गर्नु पर्ने सुझाव दिनु भयो | संगसंगै, पोखरा विश्वविद्यालय लगायत नेपालका अन्य विश्वविद्यालयहरुले Genetic Engineering लगायत सम्बन्धित विधाहरुमा देश विदेश बाट नयाँ नयाँ ज्ञान र सीप हाँसिल गरेका दक्ष जनशक्ति लाई उच्च प्राथमिकतामा राखी संबन्धित काम गर्न उपयुक्त श्रोत, साधन, र वातावरण निर्माण गर्ने कार्य यथाशिघ्र थालनी गर्नु पर्नेमा जोड दिनु भयो | र सो कार्यका लागि बिभिन्न संस्थाहरु सित समन्वय गर्नमा आफुले सहयोग गर्न पाए खुशी हुने प्रतिबद्धता समेत सर रिचर्डले जाहेर गर्नु भयो |

बिद्यार्थीहरु सित घुलमिल हुन्  र हाँस्न रुचाउने सर रिचर्डले कार्यक्रममा उपस्थित भएका झन्डै ५० जना विद्यार्थीहरु सित २० मिनेट जति छुट्टै अन्तरक्रिया समेत गर्नु भयो | अन्तरक्रिया कार्यक्रम समापन भए पश्चात पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आगन्तुक पुस्तिकामा समेत सर रिचर्डले विदेश गएका युवा बिद्यार्थीहरु लाइ स्वदेश फर्किन प्रेरित गर्ने र उनीहरुले नेपालको विकाशमा सहभागी हुन् सक्ने गरि नीति तथा कार्यक्रम बनाउनु पर्ने विषयमा बिशेष जोड दिनु भयो | सर रिचर्ड लेख्नु हुन्छ “You have excellent students. Listen to them and come up with policies that will both enable and make them want to come back and improve Nepal”.

आफुले ८० बर्ष पार गरि सक्दा समेत हरेक दिन नयाँ नयाँ कुराहरुको खोज गरि रहेको प्रसंग जोड्दै शुरु शुरुका दिनहरुमा सबैले पबित्र उद्देश्य प्राप्तिका लागि संघर्ष गर्नु नै पर्ने तर मिहिनेत गर्न छोड्न नहुने कुरामा जोड दिनु भयो | मिहिनेत गर्दै गर्दा सफलता हात पार्नका लागि भने “भाग्य” को उच्च भूमिका हुने र अनुसन्धान निरन्तरता र उत्कृष्टताका लागी निस्वार्थ सुझाव दिने र सहयोग गर्ने असल सहकर्मी (true friend) को अपरिहार्यतामा बिशेष जोड दिनु भयो | साथै, पछिल्लो समयमा फेसबुक लगायतका सामाजिक संजाल तथा artificial intelligence को जानाजान हुने दुरुपयोगले समाजमा बिग्रह ल्याउने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै आफु सामाजिक संजालमा नरहेको र त्यसरी समय खेर फाल्ने आफुलाई फुर्सद समेत नभएको जिकिर गर्नु भयो  र सबैले सचेत रहनुपर्ने सुझाव दिनु भयो |

अनुसन्धानका उपलब्धिहरु तथा ज्ञानको विश्वब्यापी रूपमा सुलभ पहुँच हुनु पर्छ भन्ने मान्यता राख्दै ज्ञानमा खुला पहुँच (Open Access) को परिकल्पनाकार सर रिचर्डको उत्कृष्ट अनुसन्धान एवं मानव कल्याणका लागि गर्दै आउनु भएको योगदानको सम्मान स्वरूप पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका तर्फबाट उहाँ लाइ प्रशंशा पत्र र मायाको चिनो प्रदान गरियो |

पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालय परिसरमा रहेको सभाहलमा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नमराज धामीले संचालन गर्नु भएको उक्त विशेष कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार दीपक बहादुर भण्डारी, स्वास्थ्य विज्ञान संकायका डीन अमर नागिला, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक उमेश सिंह यादव, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक ढाका राम भण्डारी लगायत विद्यार्थी, शिक्षक र कर्मचारी गरि (स्थान अभावका बाबजुत) ८० जना भन्दा बढी सहभागीहरु उपस्थित हुनु भएको थियो |

स्थापनाको २७ औं बर्षमा अगाडी बढ्दै गरेको पोखरा विश्वविद्यालयले Pharmaceutical Sciences, Medical Biochemistry, Medical Microbiology, र Bioinformatics बिषयहरुमा स्नातक तह सम्मको पठन पाठन जारि राखेको अवस्थामा उच्च प्राथमिकताका साथ यथाशिघ्र Biotechnology र Molecular Biology सित सम्बन्धित सुबिधा सम्पन्न अनुसन्धान प्रयोगशालाहरुको स्थापना गरि स्नातकोत्तर एबम विद्यावारिधी तहका कार्यक्रमहरु संचालनमा ल्याउनु अपरिहार्य देखिन्छ |

लेखक नमराज धामी पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ |

 Share