“द्रुत रूपमा परिवर्तन भएको संसारमा व्यक्तिगत रूपान्तरण” विषयक प्रशिक्षात्मक कार्यक्रम सम्पन्न

“द्रुत रूपमा परिवर्तन भएको संसारमा व्यक्तिगत रूपान्तरण” विषयक प्रशिक्षात्मक कार्यक्रम सम्पन्न

२०७९ असार १९ गते आइतबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयले रजत जयन्तीको अवसरमा “द्रुत रूपमा परिवर्तन भएको संसारमा व्यक्तिगत रूपान्तरण” विषयक प्रशिक्षात्मक कार्यक्रमको आयोजना गरेको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा आयोजित उक्त कार्यक्रमको प्रमुख प्रशिक्षकमा आध्यात्मिक गुरू डा. चिन्तामणि नाथ योगि तथा आध्यात्मिक चिन्तक एवम् वैज्ञानिक प्राडा. बिशाल सिटौला हुनुहुन्थ्यो ।

प्रशिक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले व्यक्तिगत तथा सामाजिक रूपान्तरणका लागि व्यक्तिमा चिन्तन मनन हुनुपर्नेमा जोड दिनुभयो । रूपान्तरणका लागि मन छुनुपर्ने उल्लेख गर्दै उपकुलपतिले प्राज्ञिक थलोमा मैले के गर्दैछु भन्ने कुरा बुझेर मात्र अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले जीवनोपयोगी कुरालाई समयमा नै सिक्नुपर्ने बताउनु भयो । उहाँले व्यक्तिले समयानुसार सोचाईमा परिवर्तन गर्दै ज्ञानलाई अद्यावधिक गर्दै जानुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत कमी कमजोरी, गुण अवगुण सबैमा हुने तर तिनको समयमा नै पहिचान गरी अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रमका प्रमुख व्यक्तित्व डा. चिन्तामणि नाथ योगिले पोखरा विश्वविद्यालयमा सबैको अपनत्व रहेको उल्लेख गर्दै यहाँ सबैको सिर्जना, साधना र आत्मियता रहेको बताउनुभयो । उहाँले यहाँ बोलिने र लेखिने कुराको गहिरो महत्व छ भन्दै विश्वविद्यालय सुधार्न सबै सकारात्मक हुनुपर्छ भन्नुभयो । डा. योगिले व्यक्तिले आफ्नो जीवनको नक्सा आफै बनाउने हो भन्दै यसो गर्न नसके उसमा परिवर्तन हुनै नसक्ने बताउनुभयो । उहाँले आफ्नो जीवन व्यक्तिले आफै जिउने हो, आफ्नो भाग्य एवम् जीवन गोरेटो आफै बनाउने हो भन्दै व्यक्तिका हरेक निर्णयको भागिदार ऊ स्वयम् भएकोले उसलाई कसैका कुनै पनि कुराले दुखी गर्न नसक्ने बताउनु भयो । उहाँले सुन्दर मानव जीवनलाई खुम्चाएर होइन फुकाएर, बेखुसी भएर होइन खुसी भएर, हारेर होइन जितेर जिउनुपर्ने उहाँको तर्क थियो । हामीले एकपछि अर्को इच्छा पूर्ति गर्दै गर्दा पनि मन दुख्न छाड्दैन, इच्छा पूर्ति हुँदैनन्, यसको मूल जड भनेकोे दुष्टि, देह, मन र चित्तलाई शुद्ध राख्न नसक्नु हो उहाँको भनाई थियो । हामी गरीव देशमा गनिन्छौ, तर हामी गरीव छैनौं भन्दै उहाँले गुर्जो, अदुवा, बेसार पानी जस्ता चीज खाने हामीमा अद्भूत साहस, सोच्ने शक्ति, जीउने कला र ज्ञान रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका अर्का वक्ता प्रा.डा. बिशाल सिटौलाले पोखरा विश्वकै सुन्दर पर्यटकीय शहर भएको र यसको भ्रमणका लागि यूरोपियनहरू सपना देख्ने गरेको उल्लेख गर्नुभयो । उहाँले यहाँ आउने मानिसमा अलौकिक आनन्द र ज्ञान वृद्धि हुने उहाँको भनाई थियो । डा. सिटौलाले व्यक्तिगत रूपान्तरण बीना समाज र देश नबन्ने भन्दै मानिसले आफ्नो बानी, आदत बदल्नुपर्ने बताउनुभयो । परिवर्तनका लागि मानिसमा जागरूकता, करूणा, सहानुभूति, सेवाभाव, असल नियत र इच्छाशक्ति जस्ता गुणहरू आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले मानिसका कारण नै जलवायु परिवर्तनजस्ता समस्या देखा परेको, प्राकृतिक विपत्तिहरू निम्तिएको, रोग व्याधीहरू फैलिएको, नरसंहार मच्चिएको र मानवता भन्ने चिज समेत हराउँदै गएको उल्लेख गर्नुभयो । मानिसमा स्वार्थी भाव, लोभ, मोह पलाउँदै गएकोले प्रकृति र सभ्यता नास हुँदै गएकोले यसलाई रोक्न उन्नत सोच र विचारसाथ अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । जसरी झुसिल किराबाट रूपान्तरण भई पुतली बन्छ त्यसै गरी मानिस आध्यात्मिक चिन्तनका माध्यमले रूपान्तरण भई असल र ज्ञानी हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह–प्रा.डा. दिपकराज पौडेल तथा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीले व्यक्तिगत रूपान्तरणको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.दिपकचन्द्र वाग्ले, विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खराल, शिक्षासेवी जगन्नाथ पौडेल लगायत पोखरा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।