केन्द्रीय कार्यालय विस्तार लगायतको कार्यका लागि सम्झौता सम्पन्न

केन्द्रीय कार्यालय विस्तार लगायतको कार्यका लागि सम्झौता सम्पन्न

२०७९ साल मंसिर २३ गते शुक्रबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालयको वृहत गुरूयोजना अन्तर्गत निर्माण हुन लागेको केन्द्रीय प्रशासनिक भवन विस्तार, विश्वविद्यालय परिसरमा कम्पाउण्डवाल तथा प्रवेशद्वार निर्माण एवम् जग्गा विकासका लागि सम्झौता सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारी र ठेकेदारको तर्फबाट अधिकृत प्रतिनिधि सुरेश गौतमले हस्ताक्षर गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३०, कास्कीमा अवस्थित विश्वविद्यालय परिसरभित्र अवस्थित दुईतले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै कम्पाण्डवाल, प्रवेशद्वार, रजत स्तम्भ, जग्गा विकास (आन्तरिक बाटो, फुटपाथ, जल निकास, बगैंचा र पार्किङ्ग स्थल आदि निर्माण) का लागि छनौट भएको एल.जि.ए. कन्स्ट्रक्सन, कोटेश्वर, काठमाडौं र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो ।

आउँदो यही पुस १ गतेबाट निर्माण कार्य शुरू भई १५ महिनाभित्र सम्पन्न हुने उक्त निर्माण कार्यको सम्झौता लागत ११ करोड ८४ लाख ९८ हजार ८ सय १० रूपैयाँ छ ।

सम्झौतामा उल्लेख भएबमोजिम ११४ रोपनी जग्गाको विश्वविद्यालय परिसरभित्रको “ए” ब्लकमा रहेको हालको केन्द्रीय प्रशासनिक भवनलाई परिमार्जन र लिफ्टसहित दुई तला थप गरी चार तलाको बनाउने, प्रशासनिक भवन अगाडि रजतस्तम्भ निर्माण गर्ने, केन्द्रीय प्रशासनिक भवन र परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डवालमाथि एकमिटर उचाईको चेनबार लगाइनेछ । साथै उक्त कम्पाउण्डवालभित्र जोडेर चारकिल्ला वरिपरि पाँचफुटको फुटपाथ निर्माण गर्ने, मूल प्रवेशद्वार निर्माण गर्ने तथा कम्पाउण्डवाल भित्रको पार्किङ्गस्थल र बगैचालाई व्यवस्थित गरिने छ ।

त्यसै गरी विश्वविद्यालय परिसरभित्रको “बि” ब्लकमा रहेको खेलमैदानलाई व्यवस्थित गर्न चेनबार भएको कम्पाउण्डवालसहित प्रवेशद्वार निर्माण गर्ने र “सि” ब्लकमा रहेको प्राज्ञिक भवन कम्प्लेक्सको उत्तरतर्फ सहायक प्रवेशद्वार निर्माण गरिनेछ । “डी” ब्लकमा विश्वविद्यालयको शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा रहेको र त्यही ब्लकमा पोखरा विश्वविद्यालय सम्बन्धनप्राप्त कलेजहरूको संगठन “ओपेन”द्वारा अत्याधुनिक अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र निर्माण भइरहेको छ ।