आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न

आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७९ साल भाद्र २७ गते सोमबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयमा सञ्चालन भएको “स्वच्छ वातावरणका लागि फोहोरमैला व्यवस्थापन, दिगो विकास र सुशासन एवम् जल वातावरणीय स्थिरता नामक” एकहप्ते आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अङ्ग्रेजीमा “Lifelong Learning (LLL) Training On Solid Waste Management for the Clean Environment, Sustainable Development and Governance and Water Environmental Sustainability” नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रम यही भदौ २१ गतेदेखि शुरूभएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले गर्नुभएको थियो । उद्घाटन सत्रमा उपकुलपति लगायत पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठी, स्कुल अफ इञ्जिनियरिङका स्कुल निर्देशक ओम प्रसाद गिरी, सह–प्रा. अर्जुन गौतमले मन्तव्य राख्नुभएको थियो । प्रशिक्षण कार्यक्रम ३ दिन भौतिक रूपमा र ४ दिन भर्चुअलका माध्यमबाट सञ्चालन भएको थियो ।

प्रशिक्षण कार्यक्रम पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्काय एवम् स्कूल अफ इञ्जिनियरिङमार्फत EGEA (Enhancing Green Economy) परियोजनामा संलग्न एसियाका ३ देशहरू किर्गिज गणतन्त्र, नेपाल र भारतको प्रमुख लगानीसहित युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमको सह–लगानीमा सञ्चालन भएको हो । हरित अर्थतन्त्र र सीपहरू प्राकृतिक स्रोतहरूको दोहनका लागि दिगो माध्यम भएकाले यसले प्राकृतिक इकोसिस्टमको हानि र मानव पुँजीको स्थिरतालाई रोक्छ । इजिइए परियोनाको मुख्य उद्देश्य आर्थिक र सामाजिक रूपमा सबै पक्षहरूमा दिगो विकासमा योगदान पुर्याउनु हो । यस परियोजनामा शिक्षा, सहकार्य र नवप्रवर्तनको माध्यमबाट हरित अर्थतन्त्रलाई वृद्धि गर्ने लक्ष्य लिइएको छ । यसर्थ समाज र विभिन्न पेशाकर्मीलाई ज्ञान हस्तान्तरण गर्न आवश्यक छ र सोही उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रमका प्रमुख स्रोत व्यक्तिहरूमा पोखरा विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङका प्रा.डा. बिनय कुमार मिश्र, प्रा.डा. माधव प्रसाद कोइराला र सह–प्रा.डा. राजिव पोखरेल, डिपार्टमेन्ट अफ जियोग्राफी, यूनिभर्सिटी अफ दिल्लीका असिस्टेन्ट प्रा. डा. नेत्रानन्द साहु, इन्स्टिच्यूट फर ग्लोबल इनभायरोनमेन्टल स्ट्राटेजिज्, जापानका सिनियर पोलिसि रिसर्चर डा. पंकज कुमार, गण्डकी विश्वविद्यालय इन्टरनेशनल रिलेसन्स प्रमुख श्री रवि भण्डारी, पोखरा इञ्जिनियरिङ कलेजका ई. सोम गुरूङ हुनुहुन्थ्यो ।

प्रशिक्षण कार्यक्रमका सहभागीहरूमा कम्तिमा एक वर्षको अनुभव भएका पेशाकर्मी, उद्यमी, योजनाकार, सामाजिक कार्यकता, प्रादेशिक र स्थानीय सरकारका कर्मचारीहरू थिए । साथै पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङका फ्रि ल्यान्सर र अन्तिम वर्षका विद्यार्थीहरूलाई दोस्रो प्राथमिकतामा समावेश गरिएको थियो । अधिकांश प्रशिक्षार्थीहरू विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूमा कार्यरत इञ्जिनियरिङ पृष्ठभूमिका थिए । प्रशिक्षण मुख्यतया व्याख्यान विधि प्रयोग गरी सहभागीहरूको अनुभव, आदानप्रदान र सहभागीहरूबीच खुला छलफल गरी सञ्चालन गरिएको थियो । प्रशिक्षण कार्यक्रममा मुख्यतया जाइका, इञ्जिनियरिङ कन्सल्टिङ फर्म, स्थानीय सरकार (नगरपालिका), प्रादेशिक सरकार, फ्रि ल्यान्सर, एमएससीका विद्यार्थीहरू र शिक्षाविद्, विभिन्न संस्थाका इञ्जिनियरहरू थिए । तिनमा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय, कास्की, भिमाद नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, स्कूल अफ इञ्जिनियरिङ लगायत विभिन्न अनुसन्धान एवम् प्राविधिक परामर्श दाता गरी २३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्कूल अफ इञ्जिनियरिङ, पोखरा विश्वविद्यालयका सह–प्रा.डा. मधुसुदन कायस्थ र सह–प्रा. अर्जुन गौतमले गर्नुभएको थियो ।