समुदायलाई सूचना प्रविधि साक्षरता र सीप तालिम दिंदै विश्वविद्यालय

समुदायलाई सूचना प्रविधि साक्षरता र सीप तालिम दिंदै विश्वविद्यालय

२०७९ साल जेठ २२ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा सूचना प्रविधि साक्षरता र सीप तालिम दिने भएको छ । पोखरा विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा स्थानीय गृहिणी महिलाहरूलाई भेला पारेर यस्तो जानकारी दिइएको हो । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रमा स्थानीय २१ जना गृहिणी महिलाहरू सहभागि थिए । पोखरा महानगरपालिका वडा न. ३० सँग समन्वय गरी दुई हप्तासम्म चल्ने सूचना प्रविधि साक्षरता र सीप तालिम विश्वविद्यालयको इन्फरमेशन एक्सेस सेन्टरमा सञ्चालन हुनेछ ।

चुलो चौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । प्रविधि मैत्री मोबाइल, ल्यापटप, कम्प्यूटरको प्रयोगबाट अनलाइन व्यापार व्यवसाय सञ्चालन कसरी गर्न सकिन्छ, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्र्ड, ई–बैकिङ्ग, मोबाइल बैकिङ्ग, अटोमेटेड टेलर मेशिन (एटिएम) आदिबाट डिजिटल भुक्तानी कसरी गर्न सकिन्छ भन्ने बारेमा ज्ञान र तालिम दिइने छ । मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भित्रिएको नयाँ नयाँ आयामको बारेमा गृहिणीलाई ज्ञान र सीप दिइने छ ।

यस कार्यक्रमको माध्यमबाट गृहिणीले इन्टरनेटसम्बन्धी र छिटो छरितो रुपमा सूचना आदान प्रदानसम्बन्धी ज्ञान हासिल गर्नेछन भने देश बिदेशमा रहेका आफ्ना श्रीमान्, छोराछोरी, नातागोता ईष्टमित्रसँग भिडियोमा कुराकानी, च्याट, डिजिटल रूपमा बिजुली, पानी, टेलिफोन आदिको बील भुक्तानी गर्न उनीहरू सक्षम हुने विश्वास विश्वविद्यालयले लिएको छ ।

कार्यक्रममा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. सृजन ज्ञवाली, स्कूल अफ बिजनेशका उपप्राध्यापक दीपाञ्जल, श्रेष्ठ र सहभागि महिलाहरूको तर्फबाट इन्दिरा तिवारीले कार्यक्रमका बारेमा बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन चनमति तामाङ्गले गर्नुभएको थियो ।