ओपनद्वारा उपकुलपतिलाई स्वागत

ओपनद्वारा उपकुलपतिलाई स्वागत

२०७७ कार्तिक २५ गते, मंगलबार, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ नेपाल (OPEN) ले पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याललाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले विद्यार्थीहरूको सर्वोपरि हितलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई माथि उठाउन सबैले होस्टेमा हैसे गर्नुपर्नेमा जोड दिनुभयो । उपकुलपतिले विद्यार्थीको वेदना बुझेर उनीहरूको इज्जत र प्रतिष्ठा बचाउन सके मात्रै विश्वविद्यालयको साख र गरिमा पनि दिगो रहने उल्लेख गर्नुभयो ।

उहाँले विश्वविद्यालयलाई सन्तुलन र सहकार्यमा अगाडि बढाउनुपर्ने भएकोले सम्बन्धित पक्षसँग सम्वाद, वहस र छलफल गरी पूर्णकालीन पदाधिकारी नियुक्ति चाँडै टुङ्गाइने बताउनुभयो । रातदिन नभनी विश्वविद्यालयका लागि खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उपकुलपतिले नीति नियम भित्र रहेर काम गरिने, त्यो नबनेको भए बनाउने र विश्वविद्यालय आफै धानिन सक्ने गरी केही आंगिक कलेजको विस्तार, केही नयाँ कार्यक्रम सञ्चालन तथा मेडिकल कार्यक्रमका लागि हस्पिटल सञ्चालन गर्ने सोच आफूमा रहेको बताउनुभयो । उपकुलपति अर्यालले ओपनले विश्वविद्यालयको विकासमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनीहरूले विश्वविद्यालयलाई दिएको इज्जतमा आँच आउन नदिने उल्लेख गर्नुभयो ।

स्वागत कार्यक्रममा ओपनले अनलाइन क्लासलाई आधिकारिकता प्रदान गर्नुपर्ने, फल र स्प्रिङ सेमेष्टरको परीक्षा तालिका परीक्षाको मोडालिटीसहित आउनुपर्ने, परीक्षाको दिगो विकासका लागि समयमा नै कोर्ष सकिने गरी ४ वर्षको शैक्षिक क्यालेण्डर प्रकाशित गर्नुपर्नेमा जोड दिएको छ । उसले विश्वविद्यालयको स्पिरिट, स्पीड र सिस्टमलाई सुनिश्चित गर्न सकेमा विद्यार्थीलाई न्याय दिन सकिने विश्वास समेत व्यक्त गरेको छ । साथै शैक्षिक कार्यक्रममा नयाँपन ल्याउनुपर्नेमा जोड दिँदै उसले विद्यार्थी भर्नामा न्यूनतम जिपिए तोकेर अगाडि बढ्न सकेमा भर्ना अन्यौलता हट्न जाने र यसले विश्वविद्यालय, कलेज र विद्यार्थीलाई समेत ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ । ओपनले विश्वविद्यालयलाई कसरी सहि ढंगले अगाडि बढाउन सकिन्छ भन्ने कुरा कलेजहरू एक ठाउँमा बसेर एकले अर्कोलाई सहयोग गर्ने भावबाट अगाडि बढ्न सके विश्वविद्यालयको सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेलको लक्ष्यलाई टेवा पुग्ने समेत बताएको छ ।

कार्यक्रममा विश्वविद्यालयको तर्फबाट रजिष्टारको जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.हरिबहादुर खड्का, परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. टेकराज ज्ञवाली, पोवि प्राध्यापक संघका सभापति हेमराज पाण्डे, कर्मचारी संघका सभापति शिवराज पण्डित तथा ओपनका तर्फबाट एपेक्स कलेजका प्राचार्य एल.पि. भानु शर्मा, ओपेनका अध्यक्ष एवम् नोबेल कलेजका संस्थापक नवराज पाण्डे, अक्सफोर्ड कलेज, गैडाकोट, नवलपरासीका प्राचार्य एवम् ओपेनका उपाध्यक्ष ई. हरि प्रसाद भण्डारी, युनिग्लोब कलेज, काठमाण्डौका प्राचार्य एवम् ओपेनका उपाध्यक्ष डा. नरबहादुर बिष्ट, क्रिमसन कलेज अफ टेक्नोलोजी, बुटवलका प्राचार्य देवीप्रसाद भण्डारीले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।