Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260902 [compare] => > [type] => NUMERIC ) ) )

नवनियुक्त रजिष्ट्रार प्रा.डा. निर्मला जम्मरकट्टेलद्वारा पदभार ग्रहण

02/09/2026

२०८३ भदौ १७ गते बुधबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार प्रा.डा. निर्मला जम्मरकट्टेलले आज एक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ। विश्वविद्यालयको केन्द्रीय सभाहल, खुदी, ढुंगेपाटन, पोखरा–३०, कास्कीमा आयोजित कार्यक्रममा पदभार ग्रहण गरेलगत्तै उहाँको स्वागत गरिएको थियो।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले नवनियुक्त रजिष्ट्रार प्रा.डा. जम्मरकट्टेललाई स्वागत तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक नेतृत्वमा रजिष्ट्रारको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उपकुलपति र रजिष्ट्रारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। समन्वयात्मक रूपमा काम गर्दा विश्वविद्यालयका कार्यहरू अझ प्रभावकारी, छिटो र छरितो रूपमा अघि बढाउन सकिने उहाँको भनाइ थियो।

उपकुलपति प्रा.डा. अधिकारीले विश्वविद्यालय सञ्चालनका क्रममा पारदर्शिता, आर्थिक नियमितता, आर्थिक पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। कुनै पनि काम अनावश्यक रूपमा ढिलाइ नगरी निर्धारित समयमा सम्पन्न गर्नुपर्ने बताउँदै विश्वविद्यालयका प्रशासनिक तथा अन्य गतिविधिलाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँले विश्वविद्यालयको मूल केन्द्रमा विद्यार्थी रहेको उल्लेख गर्दै विश्वविद्यालयलाई पूर्ण रूपमा विद्यार्थीकेन्द्रित बनाउनुपर्ने बताउनुभयो। विद्यार्थीको भर्ना (enrollment) बढाउने, विद्यार्थीलाई आवश्यक शैक्षिक तथा अन्य सुविधा उपलब्ध गराउने र उनीहरूलाई सफलतापूर्वक अध्ययन पूरा गर्ने वातावरण निर्माण गर्नु विश्वविद्यालयको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो।

विद्यार्थीको उत्तीर्ण दर तथा स्नातक दर (graduation rate) बढाउन र बीचमै अध्ययन छाड्ने दर (drop-out rate) घटाउन विश्वविद्यालयले विशेष ध्यान दिनुपर्नेमा उपकुलपति प्रा.डा. अधिकारीले जोड दिनुभयो। विद्यार्थी असफल हुनुमा विद्यार्थीको मात्र जिम्मेवारी नहुने उल्लेख गर्दै विश्वविद्यालयले आफ्ना कमजोरी पहिचान गरी शैक्षिक वातावरण तथा सहयोग प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो।

त्यस्तै, विश्वविद्यालयबाट सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरूको नियमित मूल्याङ्कन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। बजारमा माग भएका तथा विद्यार्थीले अध्ययन पूरा गरेपछि रोजगारी प्राप्त गर्न सक्ने कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने र प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका कार्यक्रमको कारण पहिचान गरी आवश्यकताअनुसार परिमार्जन वा चरणबद्ध रूपमा बन्द (phase out) गर्नुपर्ने उहाँको भनाइ थियो।

उपकुलपति प्रा.डा. अधिकारीले विश्वविद्यालयका सेवाहरूलाई थप विद्यार्थीमैत्री बनाउन डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो। विद्यार्थीलाई सामान्य प्रशासनिक कार्यका लागि अनावश्यक रूपमा विश्वविद्यालयमा बोलाउने वा झन्झट दिने प्रवृत्ति अन्त्य गर्दै आवेदन तथा फाराम भर्ने प्रक्रियालगायतका सेवाहरूलाई क्रमशः अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँले बदलिँदो प्रविधिको युगअनुसार विश्वविद्यालयले आफ्ना सेवा, सूचना प्रवाह तथा कार्यशैलीमा समेत परिवर्तन ल्याउनुपर्ने बताउनुभयो। विद्यार्थी तथा सेवाग्राहीले छिटो र सहज रूपमा आवश्यक सूचना तथा सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो।

पोखरा विश्वविद्यालयमा दक्ष तथा अनुभवी जनशक्तिको ठूलो क्षमता रहेको उल्लेख गर्दै उपकुलपति प्रा.डा. अधिकारीले उपलब्ध ज्ञान, सीप र क्षमतालाई सकारात्मक रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो। विश्वविद्यालयलाई देशका अन्य विश्वविद्यालयको तुलनामा उत्कृष्ट संस्थाका रूपमा अघि बढाउन सबैको सहकार्य र सकारात्मक सोच आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

पदभार ग्रहणपछि मन्तव्य व्यक्त गर्दै नवनियुक्त रजिष्ट्रार प्रा.डा. निर्मला जम्मरकट्टेलले आफूलाई महत्वपूर्ण जिम्मेवारीका लागि विश्वास गरेकोमा विश्वविद्यालयका कुलपति, सहकुलपति तथा नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो। आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई व्यक्तिगत सम्मानका रूपमा मात्र नभई राष्ट्रको उच्च शिक्षाप्रतिको गम्भीर दायित्वका रूपमा लिएको बताउँदै उहाँले इमानदारी, पारदर्शिता, निष्ठा र परिणाममुखी कार्यसम्पादनमार्फत उक्त विश्वासलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विश्वविद्यालयसँग आफ्नो व्यावसायिक मात्र नभई भावनात्मक तथा स्थानीय सम्बन्धसमेत रहेको उल्लेख गर्दै रजिष्ट्रार प्रा.डा. जम्मरकट्टेलले पोखरा विश्वविद्यालयको सम्मान र उचाइ अझ बढाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विश्वविद्यालयमा विगत २५ वर्षदेखि Teaching Associate का रूपमा आफ्नो शैक्षिक यात्रा सुरु गरी उपप्राध्यापक, सहप्राध्यापक तथा प्राध्यापकका रूपमा काम गर्नुका साथै Program Coordinator, School Director, Exam Controller र Dean लगायतका विभिन्न प्रशासनिक जिम्मेवारीसमेत निर्वाह गरेको बताउनुभयो।

आफ्नो कार्यकालको प्रमुख उद्देश्य विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नु रहेको बताउँदै उहाँले विश्वविद्यालयको केन्द्रबिन्दु विद्यार्थी हुनुपर्नेमा जोड दिनुभयो। विश्वविद्यालय भवनले नभई विद्यार्थीको ज्ञान, क्षमता, चरित्र र उपलब्धिले महान् बन्ने उल्लेख गर्दै प्रत्येक निर्णय, नीति तथा कार्यक्रम विद्यार्थीकेन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

प्रा.डा. जम्मरकट्टेलले प्रत्येक विद्यार्थीले गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण, समान अवसर, सम्मान तथा आफ्नो क्षमता विकास गर्ने अवसर प्राप्त गर्नुपर्ने बताउनुभयो। विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने नभई जीवनका चुनौती सामना गर्न सक्ने, विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने तथा समाजको नेतृत्व गर्न सक्ने दक्ष, सक्षम र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने गरी शिक्षणलाई थप गुणस्तरीय, व्यावहारिक, प्रविधिमैत्री तथा अनुसन्धानमुखी बनाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले परीक्षा, नतिजा, सेवा प्रवाह, छात्रवृत्ति, नियुक्तिलगायतका सम्पूर्ण प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने बताउनुभयो। पारदर्शिता, निश्चितता र सुशासनलाई प्रशासनको मूल आधार बनाउँदै विद्यार्थीका गुनासा छिटो सुनुवाइ हुने, सेवा सहज हुने, निर्णय स्पष्ट हुने र प्रशासन जवाफदेही हुने वातावरण निर्माण गरिने उहाँको भनाइ थियो।

पोखरा विश्वविद्यालयलाई विद्यार्थीमैत्री, अनुसन्धानमुखी, नवप्रवर्तनशील, समावेशी, सुरक्षित, पारदर्शी तथा विश्वस्तरीय विश्वविद्यालयका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उहाँले विगतका राम्रा अभ्यासलाई आत्मसात् गर्दै विश्वविद्यालयमा रहेका विकृतिहरूलाई क्रमशः हटाउँदै लैजाने बताउनुभयो।

समान योग्यता र क्षमता भएका तर हालसम्म अवसर नपाएका प्राध्यापक तथा कर्मचारीलाई उहाँहरूको योग्यता र अनुभवअनुसार नीति निर्माण तथा प्रशासनिक कार्यमा प्राथमिकता दिइने बताउँदै उहाँले प्रशासनिक अनुभव हासिल गरिसकेका प्राध्यापक तथा कर्मचारीको अनुभवलाई विश्वविद्यालयको थप प्रगतिका लागि उपयोग गरिने उल्लेख गर्नुभयो। विश्वविद्यालयको विकासका लागि सबैको सुझाव, सल्लाह र सहयोग आवश्यक रहेको भन्दै उहाँले सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई सहकार्यका लागि आह्वान गर्नुभयो।

आफ्नो कार्यकालमा रजिष्ट्रारको कार्यालय सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीका लागि सधैँ खुला रहने उल्लेख गर्दै उहाँले समस्या, सुझाव, गुनासा तथा रचनात्मक विचारलाई विश्वविद्यालयको विकासको आधार बनाइने बताउनुभयो। “तपाईंहरूको समस्या हामी सबैको साझा जिम्मेवारी हो” भन्ने धारणा व्यक्त गर्दै उहाँले विश्वविद्यालयमा खुला संवाद र सहकार्यको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरिने स्पष्ट पार्दै रजिष्ट्रार प्रा.डा. जम्मरकट्टेलले पोखरा विश्वविद्यालयका आंगिक, संयुक्त आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूले शैक्षिक गुणस्तर कायम राख्दै केन्द्रित, डररहित र चापरहित वातावरणमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

निवर्तमान रजिष्ट्रार प्रा. हरि बहादुर खड्काले परिस्थिति केही फरक र चुनौतीपूर्ण रहे पनि सबैको सहयोग, सहभागिता र टिम भावनाका कारण आफूले सम्हालेको जिम्मेवारी सहज रूपमा अघि बढाउन सकिएको बताउनुभयो। रजिष्ट्रारको जिम्मेवारी आर्थिक, प्रशासनिक तथा शैक्षिकलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथा चुनौतीपूर्ण पद भएकाले यसमा सबैको सहकार्य र आफ्नो जिम्मेवारीप्रतिको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै उहाँले विश्वविद्यालयको प्रगति कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नहुने र प्रत्येक शिक्षक, कर्मचारी तथा पदाधिकारीले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गरेमा मात्र विश्वविद्यालयले अपेक्षित प्रगति हासिल गर्न सक्ने बताउनुभयो।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सहप्रा.डा. अजय थापाले करिब एक वर्षसम्म विश्वविद्यालयको रजिष्ट्रारका रूपमा काम गर्ने क्रममा पोखरा विश्वविद्यालयलाई शैक्षिक, अनुसन्धान तथा नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक विभिन्न कार्यहरू अघि बढाइएको बताउनुभयो। विश्वविद्यालयको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो पहिचान रहेको उल्लेख गर्दै त्यसलाई अझ सुदृढ बनाउन काठमाडौंमा विश्वविद्यालयको विस्तार, नयाँ कार्यक्रम सञ्चालन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। त्यसैगरी, विश्वविद्यालय अस्पतालमा सेवा विस्तारसँगै दैनिक बिरामीको संख्या उल्लेख्य रूपमा बढिरहेको र यसलाई उत्कृष्ट अस्पतालका रूपमा विकास गर्न आवश्यक जनशक्ति, संरचना तथा नीतिगत सुधारका कार्यहरू अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। शिक्षकहरूको व्यावसायिक विकास, सेवा–सुविधालगायतका महत्वपूर्ण विषयमा विभिन्न समिति गठन भई प्रतिवेदनसमेत तयार भइसकेको उल्लेख गर्दै ती विषय आगामी चरणमा छलफल तथा कार्यान्वयनतर्फ अघि बढ्ने उहाँले बताउनुभयो।

पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सहप्रा.डा. रविन्द्र घिमिरेले नवनियुक्त रजिष्ट्रार प्रा.डा. निर्मला जम्मरकट्टेलले करिब २५ वर्षको विश्वविद्यालयीय अनुभव हासिल गरिसक्नुभएकाले उहाँलाई विश्वविद्यालयका समस्या र अवस्थाबारे थप परिचय गराइरहन आवश्यक नरहेको बताउनुभयो। उहाँले कुनै एक व्यक्तिको प्रयासले मात्र विश्वविद्यालयलाई अघि बढाउन नसकिने उल्लेख गर्दै विश्वविद्यालयको विकास र प्रगतिका लागि सबै पदाधिकारी, शिक्षक तथा कर्मचारीको सामूहिक प्रयास, सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका निर्देशक सहप्रा.डा. तुल्सीराम भण्डारीले पोखरा विश्वविद्यालयको परिवेशमा समय र परिस्थितिअनुसार भूमिकाहरू परिवर्तन भइरहने उल्लेख गर्दै विगतका विषयभन्दा विश्वविद्यालयको हितलाई केन्द्रमा राखी सद्भाव, सहकार्य र सकारात्मक सोचका साथ अघि बढ्न नवनियुक्त रजिष्ट्रारलाई आग्रह गर्नुभयो। विगतमा भएका कुराभन्दा आगामी दिनमा काममार्फत आफ्नो क्षमता प्रमाणित गर्दै पोखरा विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै सह–प्रा.डा. भण्डारीले उहाँको कार्यकालमा विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्दै उल्लेखनीय उपलब्धि हासिल होस् र उक्त कार्यकाल विश्वविद्यालयको इतिहासमा महत्वपूर्ण माइलस्टोनका रूपमा स्थापित होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारीले वरिष्ठ प्राध्यापकको अनुभव, योगदान र मार्गदर्शनले विश्वविद्यालयको गरिमा तथा प्रतिष्ठालाई अझ उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै विगतका अनुभव तथा चुनौतीहरूबाट सिक्दै वर्तमान अवस्थालाई थप सुधार गरी भविष्यमा पोखरा विश्वविद्यालयलाई अझ सुदृढ, व्यवस्थित र प्रगतिशील विश्वविद्यालयका रूपमा अघि बढाउन नवनियुक्त रजिष्ट्रारको नेतृत्व महत्वपूर्ण रहने बताउनुभयो।

सह–प्रशासक यादव थापाले विद्यार्थीहरूको बढ्दो अपेक्षा र विश्वविद्यालयहरूबीचको बढ्दो प्रतिस्पर्धाका बीच विश्वविद्यालयलाई परम्परागत ढङ्गले मात्र नभई परिणाममुखी, पारदर्शी, प्रविधिमैत्री तथा उत्तरदायी ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। यस सन्दर्भमा रजिष्ट्रारको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले प्रशासनिक सुधार, वित्तीय अनुशासन, डिजिटल प्रणालीको विकास, प्रभावकारी सेवा प्रवाह, गुणस्तर अभिवृद्धि तथा शिक्षक र कर्मचारीको मनोबल उच्च राख्दै विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक कार्यक्रमलाई ठोस परिणामसँग जोड्न नवनियुक्त रजिष्ट्रारको नेतृत्वले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो।

नवनियुक्त रजिष्ट्रारको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा पोखरा विश्वविद्यालयका विभिन्न निकायका पदाधिकारी, निकाय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 42459 ) )