विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुनद्वारा पोखरा विश्वविद्यालय भ्रमण

17/07/2026

२०८३ साउन १ गते शुक्रबारपोखरा–३०कास्की।

नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुनले पोखरा विश्वविद्यालयको विशेष भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारी, रजिष्ट्रार प्रा. हरिबहादुर खड्का लगायतका पदाधिकारीहरूले स्वागत तथा सम्मान गर्नुभएको थियो।

भ्रमणका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले विश्वविद्यालयहरू अब केवल पठनपाठन गर्ने र डिग्री वितरण गर्ने संस्थामा मात्र सीमित रहन नहुने बताउनुभयो। उहाँले हालसम्म नेपालका अधिकांश विश्वविद्यालयहरूले शैक्षिक पक्षमा बढी ध्यान दिएको उल्लेख गर्दै अब नवप्रवर्तन (इन्नोभेसन), अनुसन्धान र उद्यमशीलताको विकासलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले डिग्री हासिल गरेपछि पनि युवाहरू रोजगारीको खोजीमा भौंतारिने वा विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न शिक्षाले विद्यार्थीलाई जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

यसका लागि मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत सुधारअन्तर्गत सम्बन्धित ऐन संशोधनको तयारी गरिरहेको जानकारी दिँदै मन्त्री पुनले पोखरा विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूलाई आगामी तीन महिनाभित्र विश्वविद्यालयमा इन्नोभेसन सेन्टर स्थापना तथा सञ्चालनका लागि ठोस अवधारणा (Concept Note) र प्रस्ताव (Proposal) तयार गरी पेश गर्न आह्वान गर्नुभयो। उहाँले विश्वविद्यालय, सरकार र उद्योग क्षेत्रबीचको सहकार्यबाट नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो।

Next Articles