२०८३ साउन १ गते शुक्रबार, पोखरा–३०, कास्की।
पोखरा विश्वविद्यालय ३० औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार ३० औँ स्थापना दिवस तथा दीर्घ सेवा पदक सम्मान कार्यक्रम आयोजना गरिएको छ। वि.सं. २०५४ साल साउन १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम स्थापना भएको विश्वविद्यालयले स्थापना दिवसका अवसरमा विशेष समारोहको आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारी र रजिष्ट्रार प्रा. हरिबहादुर खड्काले गमलामा जलसिँचन गरी गर्नुभएको थियो। सो अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
दीर्घ सेवा सम्मानबाट प्रा.डा. ज्ञानेश्वर शर्मा, प्रा. राजेश कुमार ठकुराठी, प्रा.डा. दीपकराज पौडेल, सह–प्रशासक मुकुन्दराज लामिछाने तथा सहायक प्रशासक रविन्द्र सुवेदी सम्मानित हुनुभयो ।
पोखरा महानगरपालिका–३०, खुदी ढुङ्गेपाटनस्थित विश्वविद्यालय सभाहलमा आयोजित उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले विश्वविद्यालयलाई विश्वस्तरीय, अनुसन्धानमुखी, विद्यार्थीमैत्री तथा अन्तर्राष्ट्रिय रूपमा सम्मानित शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालय केवल भवन वा प्रशासनिक संरचना नभई विचार, ज्ञान, अनुसन्धान, नवप्रवर्तन तथा जिम्मेवार नागरिक उत्पादन गर्ने केन्द्र भएको उल्लेख गर्दै यसको विकास राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको बताउनु भयो ।
उपकुलपति अधिकारीले विश्वविद्यालय स्थापनाकालदेखि हालसम्म विश्वविद्यालयलाई अघि बढाउन योगदान पुर्याउने पूर्व पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो । उहाँहरूको समर्पण र सकारात्मक सोचकै कारण विश्वविद्यालयले तीन दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको भन्दै आगामी दिनमा पनि सबै पक्षको सहकार्य अपरिहार्य रहने धारणा राख्नुभयो ।
उहाँले पछिल्लो समय विश्वविद्यालयभित्र भएका उपलब्धिहरूको प्रभावकारी रूपमा प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै संस्थाले गरेका सकारात्मक कामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सूचना प्रवाह र संस्थागत सञ्चार प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । साथै, उपलब्धिभन्दा गुनासोमा बढी केन्द्रित हुने प्रवृत्तिबाट माथि उठेर सकारात्मक सोच, आत्मविश्वास र साझा उद्देश्यका साथ अघि बढ्न उहाँले विश्वविद्यालय परिवारलाई आग्रह गर्नुभयो ।
विश्वविद्यालयको रूपान्तरण कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उहाँले प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी, सम्बन्धन प्राप्त क्याम्पस, उद्योग क्षेत्र, सरकार तथा सम्पूर्ण सरोकारवालाको साझा प्रतिबद्धताबाट मात्रै लक्ष्य हासिल गर्न सकिने बताउनु भयो । आफूले नेतृत्वको आधारभूत सिद्धान्तका रूपमा सुशासन, पारदर्शिता, उत्तरदायित्व, समयमै निर्णय, प्रमाणमा आधारित नीति निर्माण, सहभागितामूलक नेतृत्व तथा परिणाममुखी कार्यसंस्कृतिलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।
प्रा.डा. अधिकारीले विश्वविद्यालयको मूल्याङ्कन भाषण वा प्रतिबद्धताबाट नभई कार्यसम्पादनबाट हुने उल्लेख गर्दै अनुसन्धानको गुणस्तर अभिवृद्धि, डिजिटल सेवा विस्तार, विद्यार्थी केन्द्रित प्रशासन, अन्तर्राष्ट्रिय सहकार्य तथा शैक्षिक उत्कृष्टतालाई आगामी कार्यकालका प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले सबै शिक्षक तथा कर्मचारीलाई आफ्ना कार्ययोजना तयार गरी कार्यान्वयनमा केन्द्रित हुन आग्रह गर्दै समस्या मात्रै औँल्याउने होइन, समाधानसहित अघि आउन अनुरोध गर्नुभयो ।
विश्वविद्यालयभित्र रहेका प्रशासनिक तथा भौतिक पूर्वाधारका कमजोरी सुधार गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै उहाँले विकासका काममा कानुन वा नियमले अवरोध पुर्याएको भए त्यसको जानकारी गराई आवश्यक संशोधनको प्रक्रिया अघि बढाइने बताउनु भयो । नियमले नरोकेका काम तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कामलाई अनावश्यक रूपमा ढिलाइ गर्ने संस्कृतिको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उपकुलपति अधिकारीले आफ्नो नेतृत्व शैली सहभागितामूलक र कार्यकेन्द्रित हुने बताउँदै नियमित रूपमा क्याम्पस, विद्यालय, अस्पताल तथा विश्वविद्यालयका विभिन्न निकायको अनुगमन गर्ने जानकारी दिनुभयो । शिक्षक र कर्मचारीको कार्यसम्पादनलाई नजिकबाट मूल्याङ्कन गर्दै सुधार र परिणाममा आधारित व्यवस्थापन प्रणाली लागू गर्ने उहाँको भनाइ थियो।
उहाँले आगामी चार वर्षको दीर्घकालीन दृष्टिकोण तथा पहिलो एक वर्षको विस्तृत कार्ययोजना तयार गरिएको जानकारी दिँदै योजनालाई मासिक तथा साप्ताहिक कार्यतालिकासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनु भयो । विश्वविद्यालयका सम्पूर्ण निकायलाई स्पष्ट लक्ष्य, समयसीमा र जिम्मेवारीसहित काम गर्न आग्रह गर्दै उहाँले सबैको सक्रिय सहकार्यबाट पोखरा विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. हरिबहादुर खड्काले विश्वविद्यालयको ३० औँ स्थापना दिवसका अवसरमा बोल्दै विश्वविद्यालयले स्थापनाकालदेखि तीन दशकको अवधिमा उल्लेखनीय संस्थागत विकास हासिल गरेको बताउनु भयो । २०५४ सालमा सीमित जनशक्ति र भाडाको भवनबाट प्रशासनिक तथा शैक्षिक गतिविधि सुरु गरेको विश्वविद्यालय आज हजारौँ विद्यार्थी, सयौँ शिक्षक–कर्मचारी, विविध शैक्षिक कार्यक्रम तथा आफ्नै पूर्वाधारसहित स्थापित उच्च शिक्षा संस्थाका रूपमा विकास भएको उल्लेख गर्दै उहाँले यस यात्रामा योगदान पुर्याउने पूर्व पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी, सरकार, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले अब विश्वविद्यालयले कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि र डिजिटल रूपान्तरणलाई आत्मसात् गर्दै शिक्षण, अनुसन्धान र प्रशासनलाई आधुनिक बनाउनु आवश्यक रहेको बताउनु भयो । सीमित आर्थिक स्रोत, पूर्वाधार विस्तार, वित्तीय आत्मनिर्भरता र संस्थागत सुशासनलाई आगामी चुनौतीका रूपमा उल्लेख गर्दै उहाँले सबै शिक्षक, कर्मचारी र नेतृत्व तहले परिणाममुखी कार्यसंस्कृति, जिम्मेवारीबोध र समयमै निर्णय गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । साथै, नवनियुक्त उपकुलपतिले प्रस्तुत गरेको दीर्घकालीन दृष्टिकोण र कार्ययोजनाले विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण विश्वविद्यालय परिवार एकताबद्ध भएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा. डा. ज्ञानेश्वर शर्माले उच्च शिक्षाको विकास, अनुसन्धान र नवप्रवर्तनमा विश्वविद्यालयले पुर्याएको योगदान उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । २५ वर्षे सेवा सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा विश्वविद्यालय परिवारको विश्वास, साथ र प्रेरणाको प्रतिफल भएको बताउँदै उहाँले भविष्यमा पनि इमान्दारिता, समर्पण र जिम्मेवारीका साथ विश्वविद्यालयको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनु भयो ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठकुराठीले विश्वविद्यालयले व्यवस्थापन, इन्जिनियरिङ, स्वास्थ्य विज्ञान तथा अन्य शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै परीक्षा व्यवस्थापन, स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन, अनुसन्धान, शिक्षण अस्पताल, डिजिटल प्रणाली र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भयो । उहाँले नयाँ सरकारी नीतिसँगै स्नातकोत्तर तथा विद्यावारिधि कार्यक्रम विस्तार, अनुसन्धान र नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य तथा स्वास्थ्य सेवाको सुदृढीकरणका प्रशस्त अवसर रहेको उल्लेख गर्दै विदेशी तथा स्वदेशी विश्वविद्यालयसँगको प्रतिस्पर्धा, विद्यार्थी पलायन, परीक्षा तथा नतिजा प्रकाशनमा हुने ढिलाइ, सूचना प्रविधिसँग पाठ्यक्रमको समायोजन, सम्बन्धन प्राप्त क्याम्पसहरूमा गुणस्तरको एकरूपता तथा वित्तीय दिगोपनालाई प्रमुख चुनौतीका रूपमा औँल्याउनु भयो । उहाँले यी चुनौतीलाई सामना गर्न प्रशासनिक सुधार, गुणस्तर अभिवृद्धि, पूर्ण डिजिटलाइजेसन, अनुसन्धानमुखी शिक्षा, बजारको आवश्यकतामा आधारित पाठ्यक्रम, अन्तर्राष्ट्रियकरण, मानव स्रोत विकास र पूर्वाधारको प्रभावकारी उपयोगमार्फत पोखरा विश्वविद्यालयलाई उच्च शिक्षा तथा अनुसन्धानको उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक उप–प्रा. राजु पाण्डेयले परीक्षा नियन्त्रण कार्यालयको प्रभावकारी सञ्चालनमा प्राध्यापक, कर्मचारी तथा सम्बन्धित सबै पक्षको साझा योगदान रहेको बताउँदै सेवा प्रवाहलाई अझ छिटो, पारदर्शी र सम्मानजनक बनाउन कार्यालय निरन्तर प्रतिबद्ध रहेको बताउनु भयो । विश्वविद्यालयले ३० वर्षको यात्रामा राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले संस्थापकदेखि वर्तमान नेतृत्व, प्राध्यापक र कर्मचारीहरूको मेहनतकै कारण विश्वविद्यालयले यो स्थान हासिल गरेको भन्दै आगामी दिनमा पनि सबैको सहकार्यबाट विश्वविद्यालयलाई अझ उत्कृष्ट र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाइने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले परीक्षा व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाउने कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै नागरिक एप, शिक्षा मन्त्रालयको अनलाइन प्रणाली तथा अन्य डिजिटल सेवामार्फत परीक्षा सम्बन्धी अभिलेख, फाराम भर्ने, नतिजा तथा प्रमाणपत्र व्यवस्थापनलाई क्रमशः अनलाइन प्रणालीमा रूपान्तरण गरिँदै आएको बताउनु भयो । सेवा प्रवाहमा देखिएका त्रुटि वा कमजोरी सुधारका लागि सबै पक्षबाट रचनात्मक सुझाव आवश्यक रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि विश्वविद्यालयको डिजिटल रूपान्तरण अभियानमा सबैको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका निर्देशक प्रा. डा. विनय कुमार मिश्रले विश्वविद्यालयको ३० वर्षे यात्रामा शिक्षक, कर्मचारी र विद्यार्थीको साझा योगदानले शैक्षिक तथा संस्थागत विकास सम्भव भएको बताउनु भयो । उहाँले शिक्षण, अनुसन्धान र सेवा प्रवाहको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार, प्रयोगशाला, अनुसन्धान सुविधा तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उहाँले गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन, पारदर्शी निर्णय प्रक्रिया र अनुसन्धानमुखी वातावरण निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सह–प्रा. डा. राजिव पोखरेलले विश्वविद्यालयको दिगो विकासका लागि गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयलाई केवल पठनपाठनमा सीमित नराखी अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य, शैक्षिक आदान–प्रदान, कार्यशाला, सेमिनार तथा सम्मेलनमार्फत विश्वस्तरीय संस्थाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाप्रति शिक्षक, कर्मचारी र विद्यार्थी सबैमा अपनत्व, जिम्मेवारी र प्रतिबद्धताको भावना विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले शैक्षिक गुणस्तर, अनुसन्धान उत्पादन, प्रकाशन, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यमा आधारित मूल्याङ्कन प्रणाली विकास गर्नुपर्ने धारणा राख्नुभयो । डा. पोखरेलले उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन र सम्मान गर्ने नीति अवलम्बन गर्नुपर्ने, अनुसन्धान र नवप्रवर्तनका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउनुपर्ने तथा विश्वविद्यालयको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सबै पक्षले साझा प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयको पहिचान संस्थागत उपलब्धिबाट निर्माण हुने भएकाले प्रत्येक सदस्यले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै उत्कृष्टता, अनुसन्धान संस्कृति र नवप्रवर्तनलाई संस्थागत अभ्यासका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
पोखरा विश्वविद्यालयका उप–प्रशासक मीन कुमारी डल्लाकोटीले विश्वविद्यालयलाई डिजिटल, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय पहिचानसहितको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सबै पक्षको एकता, प्रतिबद्धता र सक्रिय सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले कर्मचारीहरूको मनोबल उच्च राख्दै विश्वविद्यालयको समग्र विकास र संस्थागत सुदृढीकरणमा सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।