क्यान्टिन भवन निर्माण तथा पोखरा विश्वविद्यालय शिक्षण अस्पताल परिमार्जनका लागि ठेक्का सम्झौता सम्पन्न

12/06/2026

२०८३ जेठ २९ गते, शुक्रबार, पोखरा–३०, कास्की

पोखरा विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्स परिसरमा क्यान्टिन भवन निर्माण तथा विश्वविद्यालय शिक्षण अस्पताल परिमार्जन कार्यका लागि ठेक्का सम्झौता सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक समारोहबीच विश्वविद्यालय र बलदेव–एकता जेभी, चितवनबीच उक्त ठेक्का सम्झौतामा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विष्णुराज तिवारीको समुपस्थितिमा सम्झौता सम्पन्न गरिएको हो । विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्राध्यापक हरिबहादुर खड्काले तथा बलदेव–एकता जेभीका आधिकारिक प्रतिनिधि श्यामबहादुर थापाले सम्झौतामा हस्ताक्षर गर्नुभयो । समारोहमा विश्वविद्यालयका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार पोखरा–३०, खुदीस्थित प्राज्ञिक भवन कम्प्लेक्स परिसरमा ट्रस संरचनायुक्त १२० जनासम्मको क्षमता भएको दुई तले क्यान्टिन भवन निर्माण गरिनेछ । भवनको भुइँतलामा ३२ जनाका लागि भान्साघरसहित बस्ने व्यवस्था रहनेछ भने पहिलो तलामा ८८ जनाका लागि बस्ने व्यवस्था रहनेछ । भवनमा ७५ मि.मि. मोटाइको डेकिङ स्ल्याब, यूपिभिसी छाना, फल्स सिलिङ, टायल फ्लोरिङ, दुई वटा साना हटहरूसहित हरियाली व्यवस्थापन तथा स्तम्भहरूमा इँटा क्ल्याडिङ गरिनेछ ।

त्यस्तै, अस्पताल परिमार्जनतर्फ बिरामी तथा आगन्तुकका लागि ट्रस संरचनायुक्त प्रतिक्षालय निर्माण गरिनेछ । साथै फ्लोरिङ तथा भित्तामा टायल विछ्याउने, आवश्यक स्थानमा ढोका, पर्खाल तथा च्यानल गेट जडान गर्ने र अस्पताललाई अपाङ्गमैत्री बनाउने व्यवस्था समेटिएको छ ।

सम्झौता अनुसार क्यान्टिन भवन निर्माण कार्य असार ७ गतेदेखि शुरू गरी ९ महिनाभित्र र अस्पताल परिमार्जन कार्य ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुवै कार्यको कुल ठेक्का रकम रु. २ करोड ७२ लाख ७ हजार ७ सय २६ रुपैयाँ ६१ पैसा रहेको छ ।

निर्माण तथा परिमार्जन कार्यका लागि आवश्यक भुक्तानी विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकाय तथा विश्वविद्यालयका आन्तरिक स्रोतबाट प्राप्त रकमबाट व्यवस्थापन गरिनेछ ।

Next Articles