२०८३ असोज ९ गते, शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयमा रिक्त रहेका चारवटा संकायका डीन नियुक्त गरिएको छ। पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को २०८३ असोज ९ गते बसेको बैठकको निर्णयअनुसार पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ को उपदफा (२) बमोजिम चारवटै संकायमा डीन नियुक्त गरिएको हो।
निर्णयअनुसार पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्का प्रा.डा. विनय कुमार मिश्रलाई विज्ञान तथा प्रविधि संकाय, पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका सह–प्रा.डा. डमरू प्रसाद पनेरूलाई स्वास्थ्य विज्ञान संकाय, पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेशका सह–प्रा.डा. भरतराम ढुंगानालाई व्यवस्थापन संकाय तथा पोखरा विश्वविद्यालय स्कुल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका सह–प्रा.डा. ऋषिकेश पाण्डेलाई मानविकी तथा सामाजिक शास्त्र संकायको डीन पदमा नियुक्त गरिएको हो।
नवनियुक्त डीनहरूलाई आज उपकुलपति कार्यालयमा आयोजित विशेष समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले पद तथा गोपनीयताको शपथ गराउनुभयो। सो अवसरमा यसअघि डीनको जिम्मेवारी सम्हाल्नुभएका पदाधिकारीहरूलाई विश्वविद्यालयको उन्नयनमा पुर्याउनुभएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै धन्यवादपत्रसमेत प्रदान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. अधिकारीले नवनियुक्त डीनहरूलाई पूर्व डीनहरूले अघि बढाएका कार्यको निरन्तरता कायम गर्दै नयाँ योजना, रणनीति तथा कार्ययोजनाका माध्यमबाट विश्वविद्यालयलाई थप उचाइमा पुर्याउन आग्रह गर्नुभयो। उहाँले पूर्व डीनहरूको अनुभव, मार्गदर्शन र कार्यसम्पादनबाट विश्वविद्यालयले आगामी दिनमा समेत लाभ लिने बताउँदै नवनियुक्त डीनहरूले कर्मचारी, निर्देशक, पूर्व डीनलगायत सम्बन्धित सबैसँग समन्वय र सहकार्य गरी विश्वविद्यालयको विकासमा योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
उपकुलपति अधिकारीले डीन नियुक्तिका क्रममा कार्यकारी परिषद्बाट प्राप्त अधिकारअनुसार आवेदन, कोडिङ तथा मूल्यांकनको प्रक्रियाबाट उम्मेदवार छनोट गरिएको जानकारी दिनुभयो। आवेदन दिएका सबै उम्मेदवार योग्य भए पनि सीमित पदका कारण एक जनामात्र छनोट गर्नुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले विश्वविद्यालय परिसरमै विज्ञहरूको सहयोगमा उम्मेदवारहरूको मूल्यांकन गरी डीन छनोट गरिएको बताउनुभयो। उहाँले नवनियुक्त डीनहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यसअघि डीनको जिम्मेवारीमा रही विश्वविद्यालयको उन्नयनमा योगदान पुर्याउनुभएका पूर्व डीनहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
पोखरा विश्वविद्यालयका नवनियुक्त डीनहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, प्रभावकारी तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
