२०८२ असार २६ गते बिहीबार, पोखरा–३०, कास्की ।
सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा २०८२ असार २५ गते बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न पोखरा विश्वविद्यालयको २५औँ साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न नीति, कार्यक्रम र कुल १ अर्ब ५४ करोड बराबरको बजेट पारित गरेको छ। साथै, सभामा विश्वविद्यालयका विभिन्न नियमावलीहरूमा संशोधन गर्ने प्रस्तावहरू स्वीकृत गर्नुका साथै केही महत्वपूर्ण नीतिगत निर्णयहरू पनि पारित गरिएको छ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रतिस्पर्धी र स्वदेशमै उत्कृष्ट उच्च शिक्षाको केन्द्रका रूपमा रूपान्तरण गर्न सबै पक्ष गम्भीर र प्रतिबद्ध रहनुपर्ने आवश्यकतामा जोड दिनुभयो। त्यसैगरी, शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति माननीय रघुजी पन्तले विश्वविद्यालय शिक्षा प्रणालीलाई अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताउनु भयो ।
पोखरा विश्वविद्यालयको २५ औँ साधारण सभाको बैठकमा उपकुलपति प्रा.डा. वेदराज के.सी. द्वारा प्रस्तुत स्वागत तथा नीतिगत मन्तव्यमा विश्वविद्यालयलाई गुणस्तरीय, समावेशी र प्रगतिशील शैक्षिक संस्थाका रूपमा विकास गर्ने दिगो योजना समेटिएको छ। अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, सूचना प्रविधिको उपयोग, स्वास्थ्य शिक्षा, श्रम बजार अनुरूपका कार्यक्रम, गुणस्तर प्रत्यायन (QAA), शैक्षिक सुधार तथा विद्यार्थीमैत्री पूर्वाधार निर्माणलगायतका विषयमा पनि नीतिगत मन्तव्यमा समेटिएका छन् ।
त्यसैगरी, सोही सभाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. १ अर्ब ५४ करोड १२ लाख बराबरको बजेट समेत पारित गरेको छ। विश्वविद्यालयका रजिष्टार सह–प्रा.डा. अजय थापाद्वारा प्रस्तुत बजेट अनुसार पूँजीगत खर्चतर्फ रु. ४५ करोड ७३ लाख १५ हजार, शिक्षण तथा कर्मचारी तलबभत्ता खर्चतर्फ रु. ६३ करोड ९ लाख ६२ हजार र सञ्चालनतर्फ रु. ४५ करोड २९ लाख २३ हजार विनियोजन गरिएको छ।

