२०८३ जेठ १५ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय प्रोफेसनल डेभलपमेन्ट सेन्टर (PDC) को आयोजनामा “Strategic Leadership & Governance Enhancement Program” तालिम कार्यक्रम सुरु भएको छ ।
पोखरा विश्वविद्यालय प्रोफेसनल डेभलपमेन्ट सेन्टरको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, नेपालको सहकार्यमा सञ्चालन भएको उक्त ६० घण्टे कार्यक्रम पोखराको लेकसाइडमा सञ्चालन भइरहेको छ । तालिम कार्यक्रम जेठ १५ देखि १७ गतेसम्म तथा पुनः जेठ २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा विश्वविद्यालयका वरिष्ठ प्रशासनिक अधिकृतहरूको रणनीतिक नेतृत्व क्षमता, सुशासन, निर्णय प्रक्रिया, व्यवस्थापकीय तथा प्रशासनिक दक्षता एवं संस्थागत व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
तालिम कार्यक्रमको उद्घाटन सत्रलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विष्णुराज तिवारी तथा रजिष्टार प्राध्यापक हरिबहादुर खड्काले संयुक्त रुपमा कार्यक्रम व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा तालिम व्यवस्थापन समितिका सदस्य तथा उपप्राध्यापक डा. प्रदिप सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमलाई महत्वपूर्ण सिकाइ र अनुभव आदान–प्रदानको अवसरका रूपमा उल्लेख गर्नुभयो। उहाँले तालिममा सहभागी वरिष्ठ प्रशासकहरूको लामो संस्थागत अनुभवले सिकाइ प्रक्रियालाई अझ समृद्ध बनाउने बताउँदै यो केवल सिक्ने मात्र नभई एकअर्काबाट सिकाउने र अनुभव साटासाट गर्ने अवसर पनि भएको उल्लेख गर्नुभयो। साथै, उहाँले तालिमले आपसी भाइचाराको सम्बन्धलाई सुदृढ गर्दै कार्यसम्पादनमा थप ऊर्जा र प्रभावकारिता ल्याउने विश्वास व्यक्त गर्दै तालिमपछि सेवा प्रवाह अझ सुधार हुँदै एक कदम अगाडि बढ्ने अपेक्षा गर्नुभयो।
कार्यक्रममा तालिम व्यवस्थापन समितिका सदस्य तथा सह–प्रा.डा. हरि काफ्लेले लामो समयदेखि विश्वविद्यालयको प्रशासनिक नेतृत्व सम्हाल्दै आउनुभएका सहभागीहरूले धेरै अनुभव हासिल गरिसक्नुभएको उल्लेख गर्दै अब सिक्नुपर्ने विषय कमै भए पनि निरन्तर सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले हालसम्म राम्रो कार्य हुँदै आएको भए पनि अझ राम्रो र उत्कृष्ट सेवा प्रवाहका लागि यो तालिमले नयाँ ज्ञान र सीप प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक हरिबहादुर खड्काले लामो समयपछि सहभागीहरूसँग एउटै कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले यो तालिमलाई सिकाइका साथै कामप्रतिको रिफ्लेक्सन र रिफ्रेसमेन्टको अवसरका रूपमा उल्लेख गर्दै सक्रिय सहभागितामार्फत धेरै ज्ञान हासिल गर्न सकिने बताउनुभयो। साथै, सिकाइप्रति खुला मन राख्दै जीवनभर निरन्तर सिकिरहनुपर्ने र तालिमलाई सहभागितामूलक ढंगले उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. विष्णुराज तिवारीले विश्वविद्यालयका विभिन्न आरोह–अवरोहमा आफू विभिन्न भूमिकामा रहँदै अनुभव प्राप्त गरेको उल्लेख गर्नुभयो। उहाँले समय र परिस्थितिअनुसार रणनीतिक नेतृत्व विकास गर्दै अघि बढ्न सके पोखरा विश्वविद्यालयको उचाइ अझ बढ्ने बताउनुभयो। काम गर्ने सन्दर्भमा वास्तविकता बुझ्नुपर्ने र स्थिति विश्लेषण (situation analysis) नगरी तथा रणनीतिक भूमिकाको स्पष्टता बिना काम गर्दा संस्थागत हानी हुन सक्ने उहाँको भनाइ थियो। साथै, अत्यधिक आक्रामक शैलीले पनि संस्था प्रभावित हुन सक्ने उल्लेख गर्दै सरल, सन्तुलित र व्यावहारिक ढंगले काम अघि बढाई प्रेरणासहित कार्यान्वयन गर्न सकेमा मात्र काम सफलतापूर्वक सम्पन्न हुने उहाँले जोड दिनुभयो। साथै, संस्थामा सबैको समन्वयकारी भूमिकासहित व्यवस्थापकीय चुस्तता कायम गर्दै कार्य गर्न यस तालिम महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो।
तालिम व्यवस्थापन समितिका निमित्त संयोजक सह–प्रा.डा. विश्वनाथ लामिछानेले उद्घाटन समारोहलाई समापन मन्तव्य दिँदै सबैको साथ, सहयोग र समन्वयमा कार्यक्रमलाई मेहनतपूर्वक व्यवस्थापन गरी सफलतापूर्वक सञ्चालन गरिएको उल्लेख गर्नुभयो। उहाँले तालिमले सहभागीहरूमा नयाँ ऊर्जा, सकारात्मक सोच तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
तालिम कार्यक्रमको पहिलो दिन श्री केशवराज ढकालले Public Financial Management and Budgeting for Senior Leaders, श्री भक्तराज रसाईलीले Time Management and Executive Productivity तथा Problem Solving and Decision Making तथा श्री लक्ष्मी शर्माले Digital Leadership and Governance विषयमा विज्ञका रूपमा सहजीकरण गर्नुभएको थियो।
तालिम कार्यक्रममा पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायमा कार्यरत सहायक प्रशासक, उप–प्रशासक तथा सह–प्रशासक गरी २६ जना कर्मचारीहरूको सहभागिता रहेको छ।
