२०८३ साल जेठ १४ गते बिहीबार, पोखरा–३०, कास्की
उच्च शिक्षामा शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धि तथा पाठ्यक्रम सुधारलाई लक्षित गर्दै “University Teaching Excellence & Curriculum Innovation” विषयक सातदिने कार्यशाला पोखरामा सुरु भएको छ ।
पोखरा विश्वविद्यालय प्रोफेसनल डेभलपमेन्ट सेन्टरको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, नेपालको सहकार्यमा सञ्चालन भएको उक्त ६० घण्टे कार्यशाला पोखराको लेकसाइडमा सञ्चालन भइरहेको छ । कार्यशाला जेठ १४ देखि १७ गतेसम्म तथा पुनः जेठ २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन सत्रमा प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा तालिम व्यवस्थापन समितिका सदस्य तथा उपप्राध्यापक डा. बद्रि अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै तालिम शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, सहभागितामूलक र विविधतामुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको बताउनुभयो ।
मानविकी तथा सामाजिक संकायका डीन सह–प्रा.डा. अजय थापाले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा फ्याकल्टी डेभलपमेन्ट तथा स्टाफ क्यापासिटी बिल्डिङ कार्यक्रम निरन्तर सञ्चालन भइरहेको जानकारी दिँदै यस्ता तालिमले अनुसन्धान, नवप्रवर्तन, ज्ञान हस्तान्तरण तथा अद्यावधिकमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
रजिष्ट्रार प्रा. हरिबहादुर खड्काले तालिम सञ्चालनमा खटिने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै कार्यशालाको सफलताको शुभकामना दिनुभयो । उहाँले सक्रिय सहभागितासहित तालिमबाट अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरूले वास्तविक भाषाशैली अपनाउनुपर्ने, विद्यार्थीलाई इन्टरएक्टिभ रूपमा संलग्न गराउनुपर्ने तथा आवश्यकतानुसार प्रेरणादायी शैलीको प्रयोगसमेत गर्न सकिने बताउनुभयो ।
उहाँले समयको परिवर्तनसँगै विद्यार्थीको बुझाइ र अपेक्षामा पनि परिवर्तन आएको उल्लेख गर्दै अब डिजिटल मोडतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, विद्यार्थीसँग सहभागितामूलक (participatory) दृष्टिकोण अपनाउँदै नयाँ सोचका साथ पाठ्यक्रम विकास र विद्यार्थी सहभागिता बढाउने दिशामा अघि बढ्न सकेमा यो तालिम सार्थक र फलदायी हुने बताउनुभयो ।
तालिम व्यवस्थापन समितिका निमित्त संयोजक सह–प्रा.डा. विश्वनाथ लामिछानेले विद्यार्थी, कन्टेन्ट र शिक्षक सबै महत्वपूर्ण भए पनि विद्यार्थी केन्द्रमा हुनुपर्ने बताउनुभयो । उहाँले उपलब्ध कन्टेन्टलाई प्रभावकारी रूपमा डेलिभर गर्ने पक्षमा तालिम केन्द्रित रहेको उल्लेख गर्दै लर्निङ, रिलर्निङ र अनलर्निङको माध्यमबाट सिकाइ सुदृढ हुने बताउनुभयो ।
कार्यक्रम सञ्चालन गर्दै सह–प्रशासक तारादेवी सापकोटाले सहभागीहरूलाई उत्साहित भएर दैनिक रूपमा विद्यार्थीको भूमिकामा सक्रिय सहभागिता जनाउन अनुरोध गर्नुभयो ।
कार्यशालामा शिक्षकहरूलाई विद्यार्थी केन्द्रित शिक्षण पद्धति, समावेशी शिक्षण, प्रतिविम्बात्मक शिक्षण, डिजिटल तथा ब्लेन्डेड शिक्षण प्रणाली, मूल्याङ्कन तथा प्रतिपुष्टि, पाठ्यक्रम विकास तथा कृत्रिम बुद्धिमत्ता (AI) को शिक्षण र अनुसन्धानमा प्रयोगलगायत विषयमा प्रशिक्षण दिइनेछ ।
यसैगरी, सक्रिय सिकाइ, फ्लिप्ड क्लासरुम, समस्या आधारित सिकाइ, Moodle जस्ता डिजिटल प्लेटफर्मको प्रयोग, योग्यता आधारित पाठ्यक्रम, ब्लुम्स ट्याक्सोनोमी, पाठ्यक्रम सुधारका नवीन अवधारणा तथा AI आधारित अनुसन्धान र प्रकाशनका विषयमा व्यावहारिक अभ्याससमेत गराइनेछ ।
कार्यशालामा डा. नवराज न्यौपाने, डा. पिताम्बर पौडेल, प्रा.डा. लक्ष्मण ज्ञवाली, इ. हरि केसी, डा. रोशनी राजवंशी, प्रा.डा. वासुदेव काफ्ले, डा. ध्रुवप्रसाद न्यौरे तथा डा. सुदन झा लगायत विज्ञहरूले सहजीकरण गर्नुहुनेछ ।
तालिम कार्यक्रममा पोखरा विश्वविद्यालय अन्तर्गतका चार आङ्गिक महाविद्यालयहरू—स्कुल अफ बिजनेस, स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, स्कुल अफ इन्जिनियरिङ तथा स्कुल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङमा अध्यापनरत करिब तीन दर्जन शिक्षकहरूको सहभागिता रहेको छ ।

