२०८३ असोज १५ गते, बिहीबार, पोखरा–३०, कास्की।
पोखरा विश्वविद्यालयको २६औँ साधारण सभा शिक्षा तथा खेलकुद मन्त्री एवम् पोखरा विश्वविद्यालयका सहकुलपति सस्मिता पोखरेलको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय कार्यालय, खुदी, ढुंगेपाटनमा आज सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीद्वारा प्रस्तुत स्वागत तथा नीति तथा कार्यक्रम पारित गरेको छ। त्यसैगरी, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलद्वारा प्रस्तुत रु. १ अर्ब ७५ करोड ८० लाखको बजेट स्वीकृत गरेको छ।
सभाले विश्वविद्यालयका विद्यमान नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने निर्णय गरेको छ। नयाँ कलेज सम्बन्धनका लागि विश्वविद्यालयमा दर्ता भई बाँकी प्रक्रियामा रहेका कलेजका सम्बन्धमा पनि निर्णय गरिएको छ। पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय)/शिक्षण संस्था सम्बन्धनसम्बन्धी नियमावली, २०५६ को नियम ८(ग) सँग नबाझिने गरी विश्वविद्यालयका आंगिक स्कुल तथा क्याम्पसअन्तर्गत सञ्चालित कार्यक्रमका लागि रीतपूर्वक दर्ता भएका आवेदनमाथिको बाँकी प्रक्रिया अघि बढाउन २०७९ भदौ ३० गते प्रकाशित सूचनाबमोजिम गण्डकी प्रदेशलाई प्राथमिकतामा राखी सम्बन्धनसम्बन्धी कार्य अघि बढाउन एक वर्षको समयावधि थप गर्ने निर्णय गरिएको छ। साथै, आवेदन फिर्ता लिन चाहने आवेदक कलेजलाई पून: एकपटक सूचना प्रकाशित गरी आवेदन दर्ता शुल्क फिर्ता दिन र लिन मिल्ने गरी अवसर प्रदान गर्ने निर्णय पनि भएको छ।
सभाले हाल कायम रहेको पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायलाई पुनर्गठन गरी पोखरा विश्वविद्यालय मानविकी, सामाजिक शास्त्र तथा कानुन सङ्काय स्थापना गर्ने निर्णय गरेको छ।
त्यसैगरी, विश्वविद्यालयमा सञ्चालित B.E. Mechanical, BAIDS, BICE, B.Sc. in Env & Mgmt, BBA Finance, BCSIT र MCSIT कार्यक्रमका उपाधि निर्धारण तथा स्थापना गर्ने निर्णय गरिएको छ। ललितपुर–९, च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा विस्तार गरी कार्यक्रम सञ्चालन गरिएको कार्यलाई समेत सभाले अनुमोदन गरेको छ।
सभाले परीक्षा नियन्त्रण कार्यालयले तोकेको उपयुक्त समयमा विशेष मौका परीक्षा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ।
सभालाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवम् सहकुलपति सस्मिता पोखरेलले नेपालका १५ वटा सङ्घीय विश्वविद्यालयले आ–आफ्नो विशिष्टता र सम्भावनाका आधारमा छुट्टै पहिचान कायम गर्नुपर्ने बताउनुभयो। पोखरा विश्वविद्यालयले पोखरा तथा गण्डकी प्रदेशको विशेषता र सम्भावनालाई आधार बनाई, विशेषगरी साहसिक पर्यटनजस्ता क्षेत्रमा केन्द्रित नयाँ तथा आवश्यकतामुखी शैक्षिक कार्यक्रम विकास गर्नुपर्ने उहाँको भनाइ थियो। प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी स्थानीय समस्या, पर्यटनका चुनौती तथा रोजगार बजारको मागअनुसार प्रमाणमा आधारित अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, विश्वविद्यालयका प्रयोगशाला तथा उपकरणको प्रभावकारी उपयोग, शिक्षण अस्पतालमा विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि सहज पहुँच, शुल्कअनुसार आवश्यक शैक्षिक सुविधा, परीक्षा तथा नतिजा शैक्षिक क्यालेन्डरअनुसार समयमै सञ्चालन तथा छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गर्नुपर्ने बताउनुभयो। उहाँले शुल्कबाट प्राप्त रकम सम्बन्धित शैक्षिक सुविधामै उपयोग गर्न, बिग्रिएका प्रयोगशाला उपकरणको मर्मत वा आवश्यकताअनुसार नयाँ उपकरण खरिद गर्न तथा पुस्तकालयलाई थप व्यवस्थित गरी सञ्चालन समय बढाउन विश्वविद्यालय प्रशासनलाई आग्रह गर्नुभयो।
उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिइएको छ। साथै, संस्थागत विकास, डिजिटल रूपान्तरण, पूर्वाधार विस्तार तथा रोजगारमुखी नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा जोड दिँदै गुणस्तर सुनिश्चितता तथा प्रत्यायन, अन्तर्राष्ट्रिय सहकार्य र राष्ट्रिय तथा स्थानीय आवश्यकतामा आधारित शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।
