प्रशासनिक क्षमता अभिवृद्धि तालिम सम्पन्न

29/04/2026

२०८२ वैशाख १६ गते बुधबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयअन्तर्गत व्यावसायिक विकास केन्द्र (PDC) द्वारा सञ्चालित प्रशासनिक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। वैशाख ८ गतेदेखि वैशाख १५ गतेसम्म सञ्चालन भएको ६० घण्टा (४ क्रेडिट) अवधिको उक्त ८ दिने तालिम पोखरा लेकसाइडस्थित होटल ल्याण्डमार्कमा सञ्चालन गरिएको थियो।

तालिममा पहिलो दिनदेखि आठौँ दिनसम्म क्रमशः नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका प्रशिक्षक उत्तम आचार्य, पोखरा विश्वविद्यालयका रजिष्टार सह–प्राध्यापक डा. अजय थापा, उप–प्राध्यापक निशा राजकर्णिकार, प्रा.डा. दिपकबहादुर भण्डारी, उप–प्राध्यापक कृष्णराम खड्का, उप–प्रशासक झलकनाथ शर्मा, उप–प्राध्यापक भरत ढकाल, उप–प्राध्यापक विश्वराज बराल, सह–प्रशासक ध्रुवप्रसाद अर्याल, इञ्जिनियर सुशान्त पौडेल, सह–प्राध्यापक डा. डमरु प्रसाद पनेरू, इञ्जिनियर सन्तोष पौडेल, उप–प्राध्यापक डा. योगराज लामिछाने, प्रा.डा. मिन पुन, योग प्रशिक्षक विकास सुवेदी, सह–प्राध्यापक डा. दयाराज ढकाल तथा सह–प्राध्यापक डा. दिपाञ्जल श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

उक्त तालिम व्यवस्थापन, मानव स्रोत (HR), सूचना तथा सञ्चार प्रविधि (ICT), सुशासन, योजना तथा बजेट र खरिद व्यवस्थापनमा केन्द्रित थियो। तालिमअन्तर्गत मानव स्रोत व्यवस्थापन, प्रेरणा तथा नेतृत्व विकास, टोली निर्माण, सुशासन र आन्तरिक लेखापरीक्षण, योजना तथा बजेटिङ, सार्वजनिक सेवा प्रवाह, सञ्चार सीप सुदृढीकरण, उच्च शिक्षा व्यवस्थापन तथा गुणस्तर सुनिश्चितता (QAA), योग तथा मानसिक स्वास्थ्य, सकारात्मक सोच विकास, साथै इमर्जिङ टेक्नोलोजी र बिजनेस प्रोसेस रिइन्जिनियरिङसम्बन्धी विषय समेटिएका थिए। साथै, ICT अन्तर्गत गुगल प्लेटफर्म, जिमेल, गुगल ड्राइभ, गुगल डक्स, सहकार्यात्मक कार्यप्रणाली, भिजुअलाइजेसन, इन्फोग्राफिक्स, पिभोट टेबल र मेल मर्ज जस्ता व्यवहारिक पक्षमा समेत प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको समापन कार्यक्रम सह–प्राध्यापक डा. दीपाञ्जल श्रेष्ठको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा रजिष्ट्रार सह–प्रा.डा. अजय थापाको विशेष उपस्थिति रहेको थियो। साथै स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.डा. ज्ञानेश्वर शर्मा, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन उप–प्रा.डा. सुरेन्द्र तिवारीलगायत शिक्षक तथा कर्मचारी तालिम व्यवस्थापन समितिका सदस्यहरू सह–प्राध्यापक डा. विश्वनाथ लामिछाने, सह–प्राध्यापक डा. हरि प्रसाद काफ्ले, उप–प्राध्यापक डा. प्रदिप सापकोटा, उप–प्राध्यापक बद्रि अर्याल तथा सह–प्रशासक तारादेवी सापकोटाको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन गर्दै सह–प्रशासक तारा देवी सापकोटाले तालिमले कार्यक्षमता र आत्मविश्वास दुवै वृद्धि गर्ने बताउँदै यसलाई नयाँ यात्राको सुरुवातका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेको सीप र ज्ञान नै वास्तविक सम्पत्ति भएको उल्लेख गर्नुभयो।

प्रशिक्षार्थीको तर्फबाट मुख्य सहायक अमृत सागर बगालेले तालिमले विद्यालय जीवनको झल्को दिलाउँदै धेरै नयाँ सिकाइको अवसर प्रदान गरेको बताउनुभयो। उहाँले सैद्धान्तिक, व्यवहारिक तथा प्राविधिक ज्ञानसँगै एआई र डिजिटल प्रविधिबारे बुझाइ बढेको उल्लेख गर्दै यसले कार्यक्षेत्रमा सीप प्रभावकारी रूपमा लागू गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै अर्का प्रशिक्षार्थी मुख्य सहायक सिर्जना तिवारीले तालिमको पहिलो दिनदेखि आठौँ दिनसम्म प्राप्त गरेका सिकाइ अनुभवलाई समेट्दै समग्र प्रगतिको सार प्रस्तुत गर्नुभयो।

स्वास्थ्य विज्ञान संकायका डीन, प्रा.डा. विष्णुराज तिवारीले विश्वविद्यालयको उत्तरोत्तर प्रगतिमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै तालिममा सिकेका ज्ञानलाई केवल कार्यक्रममै सीमित नराखी कार्यक्षेत्रमा व्यवहारिक रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

रजिष्ट्रार सह–प्रा.डा. अजय थापाले तालिमका क्रममा प्रशिक्षकहरूबाट प्राप्त ज्ञान तथा सहभागीहरूले आ–आफ्नो अनुभवबाट सिकेका सीपहरूलाई एउटै साझा मञ्चमा आदानप्रदान गर्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो। उहाँले यस्तो अन्तरक्रियात्मक वातावरणले अन्तरसम्बन्ध सुदृढ बनाउन, सकारात्मक कार्यस्थल (workplace environment) सिर्जना गर्न तथा कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धि गर्न उत्प्रेरणा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

उपकुलपति प्रा.डा. वेदराज के.सी.ले पोखरा विश्वविद्यालयमा दक्ष र क्षमतावान कर्मचारीहरूको उपस्थिति रहेको महसुस भएको बताउँदै खुशी व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयको गुणस्तर अभिवृद्धिमा कर्मचारीको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै कर्मचारीको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो। साथै, तालिमबाट सिकिएका ज्ञान र अनुभवलाई व्यवहार तथा कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्न सके मात्र सेवा प्रवाह सुधार भई यस्ता तालिमहरूको वास्तविक उपादेयता र सफलता सुनिश्चित हुने धारणा राख्नुभयो।

समापन कार्यक्रमका अध्यक्ष तथा कर्मचारी तालिम क्षमता विकासका संयोजक सह–प्राध्यापक डा. दीपाञ्जल श्रेष्ठले सहभागीहरूको ऊर्जाशील सहभागिताप्रति खुशी व्यक्त गर्दै तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयमा कार्यप्रवाह अझ प्रभावकारी हुने, फाइलहरू अनावश्यक रूपमा नरोकिने र सेवा प्रवाह छिटो तथा व्यवस्थित हुने विश्वास व्यक्त गर्दै विश्वविद्यालयलाई तीव्र गतिमा अगाडि बढाउन तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

तालिमको अवधिमा सहभागीहरूबीच क्विज प्रतियोगिता, नाचगान, रमाइला क्षण तथा विभिन्न पुरस्कार वितरणका कार्यक्रमहरू सञ्चालन गरिएका थिए। समापन समारोहमा उपकुलपति प्रा.डा. वेदराज के.सी.ले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।