२०८२ वैशाख ७ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल प्रशासनिक स्टाफ कलेजको सहकार्यमा “योजना, बजेट तथा खरिद व्यवस्थापन” विषयक दुई दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त तालिम यही वैशाख ५ र ६ गते पोखरा विश्वविद्यालय परिसरमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा विश्वविद्यालयका विभिन्न सङ्काय, आङ्गिक स्कुल तथा प्रशासनिक इकाइमा कार्यरत ४६ जना सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सहप्राध्यापक डा. अजय थापा, स्वास्थ्य विज्ञान सङ्कायका डीन प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन सङ्कायका डीन प्रा. डा. ज्ञानेश्वर शर्मा, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. निरञ्जन श्रेष्ठ लगायत विभिन्न निकायका प्रमुख, स्कुल निर्देशकहरू, कार्यक्रम संयोजक, सह–प्रशासक, उप–प्रशासक तथा सहायक प्रशासकहरूको सहभागिता रहेको थियो।
तालिममा विशेषज्ञका रूपमा विश्वविद्यालय अनुदान आयोगका निर्देशक डा. केदारप्रसाद आचार्य, नेपाल प्रशासनिक स्टाफ कलेजका वरिष्ठ निर्देशक राजेन्द्र अधिकारी, अध्ययन निर्देशक यज्ञप्रसाद ढुङ्गेल, खरिद विज्ञ रामचन्द्र दङ्गाल तथा कार्यकारी निर्देशक रामशरण पुडासैनीले सहजीकरण गर्नुभएको थियो।
तालिममा योजना तथा बजेट निर्माण, बजेट कार्यान्वयन, सार्वजनिक खरिद व्यवस्थापन तथा व्यवहारिक अभ्याससम्बन्धी विषयहरू समेटिएका थिए। सहभागीहरूलाई सार्वजनिक वित्तीय व्यवस्थापनका अवधारणा, वार्षिक योजना निर्माण, बजेट कार्यान्वयन तथा खरिद योजना र सम्झौता व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रम अन्तर्गत अन्तरक्रियात्मक प्रस्तुति, केस अध्ययन तथा समूहगत अभ्यास गराइएको थियो।
