२०८३ जेठ १८ गते, सोमबार, पोखरा–३०, कास्की ।
नेपालमा संघीयता सम्बन्धी प्रमाणमा आधारित नीतिगत अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालबीच सम्झौता (Letter of Agreement–LOA) सम्पन्न भएको छ। उक्त सम्झौता Provincial and Local Governance Strengthening Programme (PLGSP) अन्तर्गत गरिएको हो। उक्त सम्झौतामा पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका तर्फवाट सङ्कायका डीन सह-प्रा.डा. अजय थापा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालका तर्फवाट Resident Representative Ms. Kyoko Yokosuka ले हस्ताक्षर गर्नुभएको थियो ।
पोखरा–३०, कास्कीस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय सभाहलमा आयोजित उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विष्णुराज तिवारी, रजिष्ट्रार प्राध्यापक हरि बहादुर खड्काको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बारेमा संक्षिप्त जानकारी दिँदै UNDP नेपालका Federal Governance Specialist श्री विकास रञ्जन दास ले UNDP नेपाल र पोखरा विश्वविद्यालयबीच सम्पन्न उक्त सहकार्यले संघीयता सम्बन्धी प्रमाणमा आधारित नीतिगत अनुसन्धानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस सहकार्यअन्तर्गत पोखरा विश्वविद्यालयमा स्थापना गरिने संघीयता नीति प्रयोगशाला (Federalism Policy Lab) ले नीतिगत अनुसन्धान, तथ्याङ्क विश्लेषण, नीति संवाद तथा प्रमाण उत्पादनका कार्यहरू सञ्चालन गर्दै संघीय, प्रदेश तथा स्थानीय तहमा सुशासन, वित्तीय संघीयता, अन्तरसरकारी सम्बन्ध, डिजिटल शासन, सेवा प्रवाह, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणजस्ता विषयमा प्रमाणमा आधारित नीति निर्माणलाई सहयोग पुर्याउने बताउनुभयो। साथै, पहलको एक महत्वपूर्ण पक्षका रूपमा युवा डेटा एम्बेसडरहरू लाई स्थानीय तहमा अनुसन्धानका लागि परिचालन गरिने उल्लेख गर्दै यसबाट स्नातक तहका विद्यार्थीहरूले अनुसन्धान, नीति विश्लेषण तथा शासन प्रणालीसम्बन्धी व्यावहारिक अनुभव हासिल गर्ने र भविष्यका दक्ष अनुसन्धानकर्ता तथा नीति अभ्यासकर्ता तयार गर्न योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले UNDP नेपाल, PLGSP गण्डकी प्रदेश तथा आवासीय प्रतिनिधि Ms. Kyoko Yokosuka प्रति आभार व्यक्त गर्दै संघीयता सम्बन्धी प्रमाणमा आधारित नीतिगत अनुसन्धान कार्यक्रम सञ्चालनका लागि पोखरा विश्वविद्यालयलाई छनोट गरिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले UNDP र पोखरा विश्वविद्यालयबीच यसअघि पनि कोभिड–१९ पछिको अवधिमा अस्थायी आधारभूत आम्दानी (Temporary Basic Income) सम्बन्धी सफल अनुसन्धान परियोजना सञ्चालन भएको स्मरण गर्दै उक्त अनुसन्धानका नतिजाहरू गण्डकी प्रदेशमा विपन्न तथा सीमान्तकृत घरपरिवारको डिजिटल प्रोफाइलिङ कार्यमा समेत उपयोग भइरहेको बताउनुभयो। उपकुलपति तिवारीले हाल करिब ३८ हजार विद्यार्थी अध्ययनरत रहेको पोखरा विश्वविद्यालय अनुसन्धान र नीतिगत अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा विकसित भइरहेको उल्लेख गर्दै यस सम्झौताले विश्वविद्यालय र UNDP–PLGSP बीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा भविष्यमा प्रमाणमा आधारित नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, सम्झौताअनुसारका सम्पूर्ण दायित्वहरू पूरा गर्न विश्वविद्यालय पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
समारोहलाई सम्बोधन गर्दै UNDP नेपालकी आवासीय प्रतिनिधि Ms. Kyoko Yokosuka ले पोखरा विश्वविद्यालयसँगको सहकार्यलाई नयाँ चरणमा प्रवेश गरेको ऐतिहासिक उपलब्धिका रूपमा वर्णन गर्नुभयो। उहाँले प्रमाणमा आधारित नीति निर्माण, अनुसन्धान र वास्तविक अनुभवलाई जोड्ने उद्देश्यका साथ सुरु गरिएको यो सहकार्य संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। विश्वविद्यालय र विकास साझेदारबीचको सहकार्य नीति निर्माण प्रक्रियालाई सुदृढ बनाउने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै उहाँले यस मोडेललाई भविष्यमा अन्य स्थानहरूमा समेत विस्तार गर्न सकिने बताउनुभयो। साथै, प्रस्तावित संघीयता नीति प्रयोगशाला (Federalism Policy Lab) तथा युवा सहभागिता कार्यक्रम प्रति विशेष उत्साह व्यक्त गर्दै युवाहरूलाई नीति संवाद, अनुसन्धान र शासनसम्बन्धी छलफलमा सक्रिय रूपमा सहभागी गराउनु आजको आवश्यकता भएको धारणा राख्नुभयो। उहाँले पोखरा विश्वविद्यालयसँगको सहकार्यप्रति आभार व्यक्त गर्दै यस साझेदारीबाट प्राप्त हुने उपलब्धिहरू उत्साहजनक रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै मानविकी तथा सामाजिक विज्ञान संकायका डीन सह–प्रा.डा. अजय थापाले पोखरा विश्वविद्यालय र UNDP नेपालबीच विगतदेखि नै अनुसन्धान, नवप्रवर्तन, लैङ्गिक समानता तथा दिगो विकास लक्ष्य प्राप्तिका क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्नुभयो। उहाँले आज सम्पन्न सम्झौताले प्रमाणमा आधारित नीति निर्माण, संघीय शासन सुदृढीकरण तथा विश्वविद्यालय–विकास साझेदारबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै यस सहकार्यअन्तर्गत विश्वविद्यालयमा नीति प्रयोगशाला (Policy Lab) स्थापना भई युवा अनुसन्धानकर्ता तथा नीति अभ्यासकर्ताहरूको नयाँ पुस्ता तयार गर्न सहयोग पुग्ने बताउनुभयो। साथै, संघीय, प्रदेश तथा स्थानीय तहको शासन सुधारका लागि आवश्यक अनुसन्धान, नीति संवाद र ज्ञान उत्पादनमा पोखरा विश्वविद्यालय पूर्ण प्रतिबद्धताका साथ अघि बढ्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा पोखरा विश्वविद्यालयका विभिन्न संकायका डीनहरू, अनुसन्धान केन्द्रका निर्देशक, अन्तर्राष्टिय सम्बन्ध केन्द्रका निर्देशक, विभिन्न स्कुलका निर्देशकहरू, स्कुल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जियिनरिङ अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमका कार्यक्रम संयोजकहरू, प्राध्यापक तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
त्यसैगरी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (GPTA) का कार्यकारी निर्देशक श्री सुरेन्द्रबाबु तिवारी, PLGSP गण्डकीका प्रदेश कार्यक्रम प्रबन्धक सुश्री पार्वती लामिछाने तथा UNDP नेपाल र PLGSP गण्डकीका तर्फबाट सुश्री सेवा श्रेष्ठ, श्री विकास रञ्जन दास, श्री सुदीप अर्याल र सुश्री प्रगति भट्टराईको समेत सहभागिता रहेको थियो।
