MBA Orientation Program -2013 Held

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशले २०७० साउन ३२ गते शुक्रबार एमबिएको फुल टाइम र जब होल्डरमा हालै भर्ना भएका विद्यार्थीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रमको प्रमुख उद्देश्य एमबिए कार्यक्रम, ट्राइमेष्टर प्रणाली र त्यसको मुल्याङ्कन बिधि, एमबिए कार्यक्रमको क्षेत्र, माग तथा पाठ्यक्रमका बारेमा नवआगन्तुक विद्यार्थीहरूलाई प्रशिक्षण दिनु रहेको थियो ।

IMG_8691

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, पोखरा विश्वविद्यालयका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारी, व्यवस्थापन सङ्काय, पोखरा विश्वविद्यालयका डीन डा. कर्णवीर पौड्याल, व्यवस्थापन सङ्कायका सहायक डीन डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखाका प्रमुख हरिबहादुर खड्का, थ्री सिस्टर नेपालका मानेजिङ् डाइरेक्टर श्रीमति लक्की क्षेत्री लगायत व्यवस्थापन सङ्कायमा अध्यापनरत शिक्षक, कार्यरत कर्मचारीहरू आदिको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् पोखरा विश्वविद्यालय स्थापनाका मुख्य एक अभियान कर्ता आनन्दराज मुल्मीले देशको आर्थिक विकासको प्रयासलाई मजबुत पार्न देशमा सच्चा म्यानेजरहरूको खाँचो खट्किएको औल्याउनु भयो । मुल्मीले म्यानेजमेन्टका विद्यार्थीले ठीक समयमा सहि विचार लिएर जागिरे मनोवृत्तिबाट माथि उठी आफूभित्रको क्षमतालाई प्रस्फुटन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूले कोहि कसैको सिको नगरी आफ्नो भविश्य आफै बनाउने हो भन्नुभयो । मुल्मीले आफ्नो कैरियरलाई बैलैमा छनौट गर्न सकेमा विद्यार्थीको भविष्य सुनिश्चित हुने धारणा समेत राख्नु भयो । अन्य विश्वविद्यालयको दाँजोमा पोखरा विश्वविद्यालयको साख धेरै नखस्के पनि यसले समय अनुसार काउन्सेलिङ्ग गर्न नसकेको उहाँको गुनासो थियो । विश्वविद्यालयमा राजनीति हावी हुँदै गएको उल्लेख गर्दै उहाँले पठनपाठनका सवालमा मात्र विद्यार्थीले आफ्ना आवाजहरूलाई मुखरित गर्नुपर्छ भन्नुभयो ।

DSC00134
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मानविकी तथा सामाजिकशास्त्र संकाय पोविका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले गुणस्तरीय शिक्षा दिने विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै विद्यार्थीले नयाँ प्रविधिलाई पच्छाउँदै दत्तचित्त र लगनकासाथ पठनपाठनलाई अगाडि बढाउन सकेमा मात्र विजय हासिल गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा व्यवस्थापन संकायका डीन डा. कर्णवीर पौड्याले नव आगन्तुक विद्यार्थीबाट विश्वविद्यालयको छवि अझ बढी उकासिने विश्वास व्यक्त गर्नुभयो । उहाँले म्यानेजमेन्टका विद्यार्थीले भविष्यमा एक सफल उद्यमी भई पूर्ण व्यवस्थापकको रूपमा अरूको लागि रोजगारी सिर्जना गरेमा मात्र उनीहरूको लक्ष्य सही हुने धारणा राख्नु भयो ।

कार्यक्रमका अर्का वक्ता व्यवस्थापन संकाय पोविका सहायक डीन डा. दिपकबहादुर भण्डारीले नवआगन्तुक विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूसँग हातमालो गर्दै अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो ।

DSC00131
त्यस्तै पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख श्री हरिबहादुर खड्काले एमबिएमा अध्ययनरत विद्यार्थी र शिक्षकको बीचको दुरी धेरै टाढा नभएकोले शिक्षक र विद्यार्थीमा खासै अन्तर नरहेको धारणा राख्दै उनीहरू नै वास्तवमा हाम्रा पथ प्रर्दशक पनि हुन भन्नुभयो । उहाँले विश्वविद्यालयको भौतिक अवस्था र ह्यूमन रिसोर्स राम्रो भएकोले विद्यार्थीले यसबाट पूर्ण लाभ लिन सक्नेछन् भन्नुभयो ।

अर्का अतिथि थ्री सिस्टर नेपालका मानेजिङ् डाइरेक्टर श्रीमती लक्की क्षेत्रीले सानो, कठिनतम कामबाट कत्तिपनि हरेश नखाई निरन्तर कार्यपथमा लागेमा विद्यार्थीको भविष्य सुनौलो भएको धारणा राख्नुभयो । उहाँले फ्लोरेन्स नाइटिङ्गलजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरूको जिवनीबाट हामीले पाठ सिक्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा व्यवस्थापन संकायका उपप्राध्यापक तथा पाठ्यक्रम विकास केन्द्र, पोविका कार्यकारी निर्देशक श्री राजेशकुमार ठगुराठीले एमबिएको कार्यक्रम, त्यसको पाठ्यक्रम र मूल्यांकन विधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

साथै स्कूल अफ विजनेश पोविका उपप्राध्यापक श्री दिपकराज पौडेलले विगत वर्षदेखिको विश्वविद्यालयमा एमबिएको उत्पादन, रोजगारी, अवसर र बजारको मागका बारेमा विद्यार्थीलाई प्रकाश पार्नुभएको थियो ।  कार्यक्रममा उपप्राध्यापक एवम् एमबिए कार्यक्रमका कार्यक्रम संयोजक श्री निराजन बमले कार्यक्रमको उद्देश्यमाथि प्रकाशित पार्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापक श्री दिपाञ्जल श्रेष्ठले गर्नु भएको थियो ।