“दिगो शहरहरूमा आजीवन शिक्षा” विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

“दिगो शहरहरूमा आजीवन शिक्षा” विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

 २०७९ साल असार १७ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसर पारेर “दिगो शहरहरूमा आजीवन शिक्षा” विषयमा एक हप्ते प्रशिक्षण तालीम सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा र इजिइए तथा यूरोपियन यूनियनको इरास्मस प्लस प्रोग्रामको सहयोगमा यही २०७९ असार ११ गतेदेखि सञ्चालित उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. बिनायक भद्राले गर्नु भएको थियो । तालिममा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद नगरपालिका, शक्ला गण्डकी नगरपालिका, ब्यास नगरपालिका, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्ग, मध्य नेपाल नगरपालिका एवम् विभिन्न अनुसन्धान एवम् प्राविधिक परामर्शदाता इञ्जिनियर एवम् आर्किटेक्टहरू गरी २३ जनाको उपस्थिति थियो । कार्यक्रमका प्रमुख प्रशिक्षकहरूमा योजनाकार एवम् त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसका सह–प्रा. डा. सञ्जय उप्रेती, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्रा. एवम् विज्ञान तथा प्रविधि सङ्काय पोखरा विश्वविद्यालयका पूर्व डीन बुद्धिराज जोशी र योजनाकार वर्षा श्रेष्ठ हुनुहुन्थ्यो । प्रशिक्षण कार्यक्रम २ दिन भौतिक उपस्थिति र ५ दिन अनलाइन विधिबाट सञ्चालन भएको थियो ।

प्रशिक्षण अवधिमा प्रशिक्षार्थीहरूलाई सहरी परिभाषा, सहरी योजनाको परिचय, क्षेत्रीय योजना, दिगो विकासको अवधारणा, लक्ष्य, उद्देश्यका बारेमा प्रस्तुति दिइएको थियो । यसका साथै सहरीकरण, सहरी वृद्धि प्रवृत्ति र चुनौतीहरू, सहरीकरणको विश्वव्यापी र क्षेत्रीय सन्दर्भ, दिगो शहर र प्रकारहरू, कम कार्बन सिटी/हरित सहर/स्मार्ट सिटी, दिगो भूमि प्रयोग, पानी, यातायात, फोहोर, हरियो भवन/आवासको सन्दर्भमा समेत प्रशिक्षार्थीहरूलाई प्रस्तुतिकरण गरिएको थियो । नेपालमा दिगो सहर योजना, दृष्टिकोण, दिगो भूमि प्रयोग, ल्याण्ड पूलिङ्, दिगो पानी, आपूर्ति, फोहोर व्यवस्थापन र आवासका आधारभूत तथ्यहरूको अवस्थालाई समेत प्रशिक्षणमा प्रस्तुति गरिएको थियो ।

कार्यक्रमको समापन समारोहमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा. डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा. राजेशकुमार ठगुराठी, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गका स्कूल निर्देशक उप–प्रा. ओम प्रकाश गिरी, योजनाकार एवम् त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसका सह–प्रा. डा. सञ्जय उप्रेती, नेपाल ईञ्जिनियरिङ्ग एसोसिएशनका गण्डकी प्रदेश सदस्य ई. रविन्द्र लाल मुल र प्रशिक्षार्थी कृष्ण घिमिरेले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्कूल अफ ईञ्जिनियरिङ्ग, पोखरा विश्वविद्यालयका उप–प्राध्यापक एवम् पूर्व स्कूल निर्देशक ई. अर्जुन गौतमले गर्नुभएको थियो ।