पोखरा विश्वविद्यालय र नेशनल इन्फरमेशन सोसाईटी एजेन्सी, कोरियाबीच सम्झौता

पोखरा विश्वविद्यालय र नेशनल इन्फरमेशन सोसाईटी एजेन्सी, कोरियाबीच सम्झौता

२०७८ कात्तिक २६ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेशनल इन्फरमेशन सोसाईटी एजेन्सी, कोरियाबीच सूचना तथा प्रविधि (आईसीटी) क्षेत्रमा पारस्परिक सहयोग र सहकार्यलाई थप सुदृढ र प्रवद्र्धन गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र राष्ट्रिय सूचना समाज एजेन्सी (एनआइए), गणतान्त्रिक कोरियाका प्रेसिडेन्ट योङ्गसिक मूनले एक समारोहबीच पोखरा विश्वविद्यालयको सूचना पहुँच केन्द्र ‘आईएसी’ मा उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । यस कार्यले नेपाल र कोरियाबीचको साझेदारीलाई सुदृढ पार्ने र अन्ततः ग्रामीण क्षेत्रमा सूचनाको पहुँचमा सुधार गरी नेपालमा डिजिटल विभाजनलाई कम गर्न मद्दत पुग्ने अपेक्षा राखिएको छ । विश्वव्यापी सूचना प्रविधिमा आएको दु्रत गतिको विकासलाई समेट्ने गरी ‘एनआइए’ ले यस केन्द्रको पुनर्सरचना गर्नेछ ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले २१ औं शताब्दी सूचना प्रविधिको युग भएको उल्लेख गर्दै विश्वविद्यालयमा सूचना प्रविधिको विश्वव्यापी पहुँच अभिवृद्धि र सुदृढिकरणका लागि ‘एनआइए’ को सहयोग प्रशंसनीय रहेको बताउनुभयो । ‘एनआइए’ का प्रेसिडेन्ट योङ्गसिक मूनले नेपालको विकासमा प्रविधि र डिजिटल उपकरणहरूको प्रयोग सुदृढ गर्ने प्रमुख उद्देश्यका साथ सहयोग विस्तार गर्दै आएको बताउनुभयो । उहाँले नेपालमा पोखरा निकै सुन्दर र मनमोहक रहेको उल्लेख गर्दै यहाँ आउँदा मनमा निकै आनन्द र शान्ति छाएको उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयको ‘आईएसी’ को माध्यमले विद्यार्थी तथा नागरिकलाई सूचना प्रविधिमा सहजीकरण गर्न आफूहरूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

विश्वव्यापी डिजिटल विभाजनलाई कम गर्न योगदान गर्ने प्रयासको रूपमा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत गणतन्त्र कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी ‘एनआइए’ र पोखरा विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भई वि.सं. २०६८ साल कात्तिक २८ गते पोखरा विश्वविद्यालयमा सूचना पहुँच केन्द्र ‘आईएसी’ स्थापना भएको थियो ।

यस केन्द्रमा एउटा सूचना प्रविधि तालिम प्रयोगशाला, एउटा इन्टरनेट लाउन्ज, एउटा आन्तरिक र अन्तर्राष्ट्रिय कार्यक्रमहरू होस्ट गर्नको लागि सेमिनार कोठा र एउटा प्रशासनिक कार्यालय समावेश छन् । यस केन्द्रलाई प्रविधियुक्त उपकरण, टि.भि., कम्प्यूटर र भिडियो कन्फरेन्सिङ उपकरणहरूका साथै फर्निचर एवम् फर्निसिङ्गले व्यवस्थित गरिएको छ । यहाँ जडित प्रविधिले नेपालमा डिजिटल विभाजनलाई कम गर्न र नेपालीहरूलाई विभिन्न सूचना सञ्चार प्रविधिहरूसँग जोड्न मद्दत गर्नेछ । आईसीटीको विकास दिन प्रतिदिन बढ्दै गएको र यसले कोभिड–१९ पछिको विश्वले आईसीटी पहुँच भएका र नभएकाहरू बीच ठूलो खाडल बनाइरहेको परिप्रेक्ष्यमा यस केन्द्रको मुख्य उद्देश्य आईसीटीमा पहुँच सुधार गर्ने र नेपालको आईसीटी क्षमताहरूलाई सुदृढ गर्ने र सहयोग प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । यस केन्द्रलाई करिब २ करोडको लागतमा निर्माण गरिएको हो । Read More——-

MoU Pictures: