अनुसन्धान केन्द्रद्वारा रिसर्च टक कार्यक्रम आयोजना !!!

अनुसन्धान केन्द्रद्वारा “रिसर्च टक” कार्यक्रम आयोजना !!!

२०७८ साल कात्तिक १४ गते आइतबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजसँग सहकार्य गरी स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयको भवनमा अवस्थित इन्फरमेशन एक्सेस सेण्टरमा एक “रिसर्च टक” कार्यक्रमको शुरूवाती पहिलो श्रृंखला आयोजना गर्यो । ट्रान्सप्लान्ट सर्जरी, क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्को अमेरिकाको शल्यक्रिया विभागका सह–प्राध्यापक डा. तारा सिग्देललाई प्रमुख वक्ताको रूपमा आमन्त्रण गरिएको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी लगायत विभिन्न संकायका डीनहरू तथा स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्राध्यापक, पदाधिकारी आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति एवम् उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले जबसम्म विश्वविद्यालयमा अनुसन्धान गतिविधि सँगसँगै पठनपाठन हुँदैन, त्यस्तो शिक्षामा गुणस्तर नहुने र त्यसले देशको योजनाबद्ध विकासका लागि थिंक टैंक समेत नजन्माउने उल्लेख गर्नुभयो । उपकुलपतिले पोखरा विश्वविद्यालयलाई अग्रणी विश्वविद्यालयको रूपमा स्थापित गर्न प्राध्यापकहरूमा अनुसन्धान तथा नविनतम सोच आवश्यक छ भन्दै “तपाईहरू अनुसन्धानतर्फ लाग्नुस्, आवश्यक साधन, स्रोत र सहयोग हामी जुटाउँछौं” उपकुलपतिले भन्नुभयो ।

कार्यक्रमका प्रमुख वक्ता डा. तारा सिग्देलले “रिसर्च एण्ड इनोभेशन इन हाइअर एजुकेशन–एन ईलुसिभ बट क्रिटिकल कम्पोनेन्ट ईन पोष्ट कोभिड इरा” शिर्षकमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले बायोइन्फरमेटिक्स, बायोमार्कर डिसकभरी, हाई थ्रोपुट डाटा, इमुनोलोजी, किड्नी ट्रान्सप्लान्टेशन, लिभर क्यान्सर, अर्गान ट्रान्सप्लान्टेशन, प्रोटियोमिक्सका बारेमा संक्षिप्त प्रस्तुति गर्नु भएको थियो ।

पोखरा विश्वविद्यालयको अनुसन्धान गतिविधिलाई अधिक व्यावहारिक र उपयोगी तुल्याउँदै गुणस्तरीय शिक्षाका लागि पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले हरेक महिना विभिन्न शिर्षकमा “रिसर्च टक” कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । कार्यक्रमको सञ्चालन पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीले गर्नुभएको थियो ।

कार्यक्रमका तस्विरहरूः
« of 4 »