१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २३ औं सभा सम्पन्न

१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २३ औं सभा सम्पन्न

२०८० साल असार २१ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको २३ औं सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा बसी सम्पन्न भएको छ । बैठकमा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् पोखरा विश्वविद्यालयका सह–कुलपति अशोक कुमार राईको उपस्थिति रहेको थियो ।

सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवम् रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत रू. १ अर्ब ४६ करोड २२ लाख ७७ हजारको बजेट पारित गरेको छ ।

पारित बजेटमा पूँजीगत खर्चतर्फ ५० करोड ६० लाख ३४ हजार र साधारण तर्फ जम्मा रू. ९५ करोड ६२ लाख ४३ हजार रहेको छ ।

सभाको बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा धेरै विकृति र विसंगती मौलाउँदै गएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा गर्नुपर्ने कुरा धेरै भएको र शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको विदेश मोहलाई रोक्न सरकार गम्भिर छ भन्नुभयो । उहाँले शिक्षालाई सकारात्म ढंगले सम्बोधन गर्दै कार्यान्वयनमा प्रतिफल देखिने गरी कार्य गर्न सरकारले छिट्टै संघीय शिक्षा ऐन लागू गर्न लागेको जानकारी दिनुभयो ।

माननीय शिक्षामन्त्री अशोक कुमार राईले विश्वविद्यालयले अगाडि सारेका नीति तथा कार्यक्रमहरूलाई एकताबद्ध भएर कार्यान्वयन गर्न सम्बद्ध पक्ष जिम्मेवार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उच्चशिक्षामा सामना गर्नुपर्ने चुनौति धेरै भएको उल्लेख गर्दै बहुमतलाई कदर गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले २६ वर्षको अन्तरालमा एउटा विशिष्टकृत पहिचान र उचाई लिएको उल्लेख गर्दै यसको गौरव र गाथालाई अक्षुण्ण राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्टियस्तरमा देखा परिरहेको विद्यार्थी पलायन रोक्न र विश्वविद्यालयहरूमा घट्दै गएको विद्यार्थी भर्नादरलाई बढाउन सरकार र सम्बद्ध सबै पक्ष गम्भिर भएर लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।