स्व.वि.यू. निर्वाचनमा उत्साहजनक सहभागिता, ८५ प्रतिशत मत खस्यो

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया उत्साहजनक सहभागितामा आज सम्पन्न भएको छ । उक्त चुनावको मतदान प्रक्रिया विहान ८ बजेदेखि शुरू भई बेलुका ६ बजे सकिएको थियो । कुल २ हजार ८९ जना विद्यार्थी मतदाता रहेकोमा कुल १ हजार ७ सय ६९ जना विद्यार्थीहरूले स्ववियू चुनावमा भाग लिएका थिए ।

अनेरास्ववियू, अनेरास्ववियु(क्रान्तिकारी), अनेरास्ववियु (छैठौं), नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम नेपाल र स्वतन्त्रका गरी प्रत्यक्षतर्फ कुल ३८ जना विद्यार्थीहरू चुनावी मैदानमा उत्रिएका थिए भने समानुपातिकतर्फ अनेरास्ववियू, अनेरास्ववियु(क्रान्तिकारी), अनेरास्ववियु (छैठौं) र नेपाल विद्यार्थी संघ चुनावी मैदानमा थिए ।

चुनावी मैदानमा ई. सुनिल तिमिल्सेनाको सभापतित्वमा अनेरास्ववियुको प्यानल, डिफान भुजेलको सभापतित्वमा नेपाल विद्यार्थी संघको प्यानल, सुधन पन्तको सभापतित्वमा अनेरास्ववियू (क्रान्तिकारी) को प्यानल तथा सबासप्रसाद पौडेल र कुसुमशिला भट्टले स्वतन्त्रबाट छुट्टाछुट्टै रूपमा उम्मेद्वारी दिएका थिए । स्ववियुको चुनाव दौरानमा दिउँसोदेखि शुरू भई बेलुकासम्म परिरहेको मुसलधारे पानीमा पनि भिज्दै विद्यार्थीहरूले आफ्नो मत जाहेर गरेका थिए । मतगणना प्रक्रिया आजै बेलुकाबाट शुरू हुने निर्वाचन अधिकृत राजेशकुमार ठगुराठीले जानकारी दिनुभयो ।

पोखरा विश्वविद्यालयको इतिहासमा पहिलोपटक सम्पन्न भएको स्ववियू चुनावपछि गठित विद्यार्थी युनियनले विश्वविद्यालयको विकास र विस्तारमा ठोस योगदान दिने अपेक्षा गरिएको छ ।

आज सम्पन्न स्ववियू निर्वाचनलाई केन्द्रीय निर्वाचन आयोगले मतपेटिकासहित केही निर्वाचन सामाग्री सहयोग गरेको थियो । निर्वाचनमा डिएसीको नेतृत्वमा १ सय ५० जनाको जनपद प्रहरी लगायत शसस्त्र प्रहरीको टोलीले सुरक्षा प्रदान गरेका थिए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्मा, रजिष्टार गोविन्दप्रसाद शर्मासहित कास्कीका प्रमुख जिल्ला अधिकारी, कास्की निर्वाचन आयोगका निर्वाचन अधिकृत लगायतले निर्वाचन गतिविधिको अवलोकन गर्नुभएको थियो निर्वाचनलाई विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूले सम्पन्न गरेका थिए ।