स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पो.वि. अस्पताल सञ्चालन अनुमति

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पो.वि. अस्पताल सञ्चालन अनुमति

२०८० चैत २१ गते बुधबार, पोखरा–३०, कास्की ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालय अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य निर्देशनालयबाट विभिन्न मितिमा गरिएको स्थलगत अनुगमन पश्चात प्राप्त प्रतिवेदन तथा यस मन्त्रालयबाट मिति २०८० चैत १३ गते गरिएको स्थलगत अनुगमन र मन्त्रालयको मिति २०८० चैत १९ गते बसेको बैठकले गरेको निर्णय समेतको आधारमा पोखरा–३०, खुदी, ढुंगेपाटनको विश्वविद्यालय परिसरमा रहेको प्रस्तावित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई केही सर्तहरू पालना गर्ने गरी ६ महिनाका लागि १०० शैयाको अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिएको व्यहोरा २०८० चैत्र २१ गतेको निर्णयानुसार जानकारी गराइएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडि, लन्ड्री र ब्लड बैकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई प्रयाप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रयोगशाला सञ्चालन अनुमति लिनुपर्ने सर्तको पालना गर्न विश्वविद्यालयलाई जानकारी गराएको छ ।