स्ववियु पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन

पोखरा विश्वविद्यालयले हालै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराएको छ । विश्वविद्यालयमा २०७५ बैशाख ५ गते बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र रजिष्ट्रार गोविन्दप्रसाद शर्माले नवनिर्वाचित स्ववियु पदाधिकारीलाई बधाई तथा शुभकामनासहित खादा र अबिर लगाई सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन अधिकृत सह–प्राध्यापक राजेशकुमार ठगुराठीले विजयी पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरी पद तथा गोपनियताको शपथ दिलाउनु भएको थियो ।

गत चैत्र २१ गते सम्पन्न स्ववियु निर्वाचनबाट स्ववियु सभापतिमा ई. सुनिल तिमिल्सेना, उपसभापतिमा प्रतिक्षा गैरे, सचिवमा सुरज परियार, सह–सचिवमा होमेन्द्र यादव, कोषाध्यक्षमा प्रकृति दवाडी र सदस्यहरूमा–आशिष के.सी., घनश्याम डुम्रे, नरेश खनाल, विनोद बुढा, यमुना क्षेत्री, सन्देश तिमिल्सेना, गणेश रिमाल, सरोज शाह, ईश्वरलाल कर्ण, बसन्त श्रेष्ठ, आश्रिता सुवेदी, उज्वल चापागाई, विष्णु सुवेदी र सुभाष खड्का निर्वाचित भएका थिए । १९ जनाको स्ववियु कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्षसहित अनेरास्ववियुका १३ जना, नेविसंघका ५ जना र अनेरास्ववियु (क्रान्तिकारी)का १ जना सदस्य रहेका छन् ।

शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा उपकुलपति, रजिष्ट्रार लगायत निर्वाचन अधिकृत सहप्राध्यापक राजेशकुमार ठगुराठी, उपप्राध्यापकद्वय योगराज लामिछाने र हेमचन्द्र चौलागाई तथा नवनिर्वाचित स्ववियु सभापति ई. सुनिल तिमिल्सेनाले स्ववियुको कार्यक्षेत्र, विद्यार्थी हकहित तथा विश्वविद्यालयका समस्या र निकासका बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।