स्कूल अफ बिजनेसद्वारा खोलौं बैंक खाता भन्ने नाराका साथ बैकिगं साक्षरता अभियान शुरू

स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालय र नेपाल बैंकर्स एशोसियनको बीच भएको समझदारी बमोजिम स्कूल अफ बिजनेसका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले “खोलौं बैंक खाता” भन्ने नाराका साथ बैकिगं साक्षरता अभियान जेठ २५, २०७६ गते कास्की जिल्लाको रूपा गाउँपालिका शिवालय मा. वि सिर्कुतानमा एक कार्यक्रमका बीच शुरू भएको छ ।

पोखरा विश्वविद्यालयको आंगिक महाविद्यालय स्कूल अफ बिजनेस, रूपा गाउँपालिका र सनराइज बैंक बीचको त्रिपक्षीय सहकार्यमा “एक घर एक बैंक खाता” भन्ने नेपाल सरकारको नारालाई सफल बनाउने अभिप्रायले यो अभियानको शुरूवात भएको हो । कार्यक्रमको उद्घाटन रूपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझा र स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले संयुक्त रूपमा गर्नु भएको थियो ।

रूपा गाउँपालिकाका अध्यक्ष श्री नवराज ओझाले व्यवस्थापन संकायका बिद्यार्थीहरूले, गाउँको जनजीवन, अर्थतन्त्रको अध्ययन गरी व्यवहारिक शिक्षा लिनका लागि गाउँमा आएका र उनिहरू सामाजिक उत्तरदायित्व पूरा गर्न बैंक खाता खोल्ने अभियानमा लागेको जानकारी दिनु भयो । अध्यक्षले आम जनताको बैंक खाता भए पछि समृद्धि देशमा आउनेछ, किनकी आर्थिक गतिविधिहरूमा वृद्धि हुनेछ भन्नु भयो । उक्त दिन ३०० भन्दा बढी खाताहरु खोलिएको थियो ।