सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

२०७९ कार्तिक १४ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका प्रा. तिर्थ राज अर्याल र सदस्य पदमा नियुक्ति हुनुभएका प्रा.डा. उमानाथ बराललाई आज एक समारोहबीच पोखरा विश्वविद्यालयले स्वागत गरेको छ । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम हालै उहाँहरू उक्त पदमा ४ वर्षका लागि नियुक्ति हुनुभएको हो । प्रा. अर्याल अङ्ग्रेजी र प्रा. डा. बराल राजनीतिकशास्त्रमा अध्यापन गराउने त्रिभुवन विश्वविद्यालय, पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक हुनुहुन्छ । उहाँहरू दुबैलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा एक समारोहबीच स्वागत गर्नुभयो । उपकुलपति र रजिष्ट्रारले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाई स्वागत तथा बधाई दिनुभयो ।

स्वागत समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. प्रेमनारायण अर्यालले शिक्षक तथा कर्मचारीहरूको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उचो राख्न सेवा आयोग सक्षम हुनेमा विश्वास व्यक्त गर्नुभयो । रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको उल्लेख गर्दै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनौटमा सेवा आयोगको योगदान महत्वपूर्ण रहने बताउनुभयो । सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. तिर्थ राज अर्यालले आफूमाथि आएको जिम्मेवारीलाई अवसरको रूपमा लिई कार्य गर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको नियम, कार्यविधि अनुसार सेवा आयोगका काम कारवाही अगाडि बढाउने उल्लेख गर्नुभयो ।

सेवा आयोगका सदस्य प्रा.डा. उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।