“विपतमा स्वास्थ्य ईञ्जिनियरिङ्ग” विषयमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा “विपतमा स्वास्थ्य ईञ्जिनियरिङ्ग” नामक ३ दिने अन्तराष्ट्रिय सम्मेलन शुरू भएको छ । प्राकृति तथा मानव निर्मित भुकम्प, सुख्खापन, बाढी, पहिरो, हिमपहिरो तथा विभिन्न रोग प्रकोप विश्वव्यापि समस्याको रूपमा देखा पर्दै गरेको अवस्थामा यसलाई के कस्ता विधि प्रविधि अपनाएर न्यूनिकरण गर्ने भन्ने विषय सम्मेलनको मुख्य एजेण्डा रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी. ले पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको आज होटल पोखरा ग्रैंडेमा २०७५ साल वैशाख १९ गते बिहीबार उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा आफ्नो मन्तव्य राख्दै महानगर प्रमुख जि.सी. ले विपत व्यवस्थापन हचुवा र निर्वाहमुखी हुने गरेको उल्लेख गर्दै यसको वैज्ञानिक व्यवस्थापन गरी क्षति न्यूनिकरण गर्नेतर्फ सम्मेलन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अतिथि एवम् विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदीले परम्परागत प्रविधि र सोचाईबाट विपत व्यवस्थापन हुन नसक्ने उल्लेख गर्दै यसका लागि विश्व जगतमा घटेका घटना परिघटनाबाट सबैले पाठ सिक्नु जरूरी छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालय ईञ्जिनियरिङ्ग अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरतराज पहारीले विपत भौतिक रूपमा मात्रै नभई सांस्कृतिक रूपमा समेत रहेको उल्लेख गर्नुभयो । उहाँले हालै पोखरा विश्वविद्यालयका उपकुलपतिमाथि गरिएको दुव्र्यवहार संस्कृतिमाथिको गम्भिर विपत्ति हो भन्दै हामीले कस्तो संस्कृतिको निर्माण गरिरहेका छौं भन्नेमा बौद्धिक जगतले बुझनुपर्नेमा जोड दिनुभयो ।
पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन बुद्धिराज जोशीले सम्मेलन प्राज्ञिक व्यक्तित्वहरूलाई प्राकृतिक र मानव निर्मित विपत्तिहरूको बढ्दो जोखिमलाई नियन्त्रण गर्ने तरिका आदान प्रदान गर्नेतर्फ अभिप्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्टिय सम्मेलनका संयोजक एवम स्कूल अफ ईञ्जिनियरिङ्ग पोविका प्रा.डा. बिनयकुमार मिश्रले कार्यक्रमको उपादेयता र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा यूनिभर्सिटी अफ ओभिइडियो, स्पेनका प्रा.डा. पेड्रो इग्नासियो अरकोश गोन्जालेश तथा यूएनका लागि स्वतन्त्र विपत न्यूनिकरण सल्लाहकार, ग्यारि डे ला पोमेराई, यूकेले मानव तथा प्राकृतिक विपत व्यवस्थापनका तौर तरिकाका बारेमा प्रकाश पारेका थिए ।


सम्मेलनमा नेपाल लगायत स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्बेकिस्तान आदिका गरी लगभग ३०० जना प्राध्यापक, अनुसन्धानकर्ता लगायत आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोखरा विश्वविद्यालयका उपप्राध्यापक चिरञ्जीवी अधिकारीले गर्नुभएको थियो । हिजोबाट शुरू भएको कार्यक्रम भोलि २०७६ वैशाख २० गते शुक्रबार सम्पन्न हुनेछ ।