राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !!

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !!

२०७७ भदौ २ गते, मङ्गलबार ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ भदौ २ गते मङ्गलबार अपरान्ह ५ः३० बजे आफ्नै निवास लैनचोर, काठमाडौंमा हुन गएको निधनप्रति गहिरो शोकसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँ १०१ वर्षको हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा भएको थियो । उहाँ केहि समयदेखि श्वासप्रश्वास, रक्तचाप र मधुमेहको समस्याबाट पिडित हुनुहुन्थ्यो । नेपाली वाङ्मय क्षेत्रमा दशकौं लामो साहित्य साधना र योगदान गर्नुहुने राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका एक कुशल र सिद्धहस्त वरिष्ठ नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।

उहाँले वि.सं. २०७३ वैशाख ८ गते सम्पन्न पोखरा विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनु भएको थियो । उहाँको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको गौरी शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय छन् । उहाँका नवमञ्जरी, घामपानी, नयाँ नेपाल र किन्नरकिन्नरी आदि कविता संग्रह प्रकाशित छन् भने “गाउँछ गीत नेपाली”, “फूलको थुङ्गा बगेर गयो” तथा “आजै र राति के देखे सपना” आदि गीतहरू प्रख्यात छन् ।

उहाँका श्रीमती, दुई छोरा र ६ छोरी हुनुहुन्छ । शोकको यस घडिमा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्दछौं ।