‘प्लेजरिज्म याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला सम्पन्न

२०७५ जेठ ३०, पोखरा लेखनाथ ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आज यहाँ ‘प्लेजरिज्म याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन (बौद्धिक चोरी तथा अनुसन्धान एवं प्रकाशनमा जिम्मेवारीपूर्ण व्यवहार)’ विषयमा तीन दिने कार्यशाला सम्पन्न भयो ।

कार्यशालाको प्रथम दिन कार्यक्रमको उद्‌घाटन गर्दै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केशर जङ बराललेअनुसन्धान प्रकाशनमा जानी वा नजानी पनि हुन सक्ने बौद्धिक चोरीबाट सबै अनुसन्धाताहरू बच्नु पर्ने बताउनुभयो ।  प्रा. बरालले बौद्धिक चोरीका प्रकारका बारेमा चर्चा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय बौद्धिक चोरीका उदाहरणहरू मार्फत् यसबाट हुने दुष्परिणामका विषयमा समेत सावधान गराउनुभएको थियो ।

पोखरा विश्वविद्यालय ‘इन्स्टिट्युशनल रिभ्यु कमिटि’का अध्यक्ष प्रा. डा. विष्णुराज तिवारीको सभापतित्वमा सम्पन्न उद्‌घाटन सत्रमा पोखरा विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डीन प्रा. डा. इन्द्रप्रसाद तिवारीले यस्ता कार्यक्रमहरूले युवा अनुसन्धानकर्ताहरूमा  ठूलो प्रभाव पर्ने बताउँदै यसले भविष्यका अनुसन्धानको गुणस्तर बृद्धि हुने विश्वास प्रकट गर्नुभएको थियो भने पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

कार्यशालामा वैज्ञानिक अनुसन्धान तथा प्रकाशनका विषयमा आवश्यक पर्ने नैतिक व्यवहारका विभिन्न पक्षहरूमा प्रा. डा. विष्णुराज तिवारी, प्रा. डा. टेकराज ज्ञवाली,  प्रा. डा. विकास केसी, प्रा. डा. अरूण कोइराला,  डा. डमरू पनेरू, डा. अनन्त ढुङ्गाना, राजु पाण्डे, रोजना ढकाल, अतिस कौण्डिन्यायन, अनिल गिरी, निम डीसी, सङ्गम सुवेदी गायतका विज्ञहरूले विभिन्न सत्र तथा छलफल कार्यक्रमहरू सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पोखरा  विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा. गुलाम मोहम्मद खानले कार्यशालाको उद्देश्य माथि प्रकाश  पार्दै  पोखरा  विश्वविद्यालय अनुसन्धान केन्द्रले भविष्यमा पनि यस्ता कार्यक्रम सञ्चालन गरीरहने बताउनुभएको थियो ।

कार्यशालामा पोखरा विश्वविद्यालयका चारै आङ्गिक स्कूलहरू, क्रिमसन कलेज बुटबल, नोबेल कलेज काठमाण्डौं, मोडर्न टेक्निकल कलेज काठमाण्डौं, गण्डकी मेडिकल कलेज, पृथ्वीनारायण क्याम्पस त्रिवि लगायतका शैक्षिक संस्थाबाट ४० जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले भाग लिनुभएको थियो ।