प्रा.डा. दुर्गाप्रसाद भण्डारीको निधनमा शोक सभा

२०७६ साल चैत्र ३ गते सोमबार, लेखनाथ, कास्की । पोखरा विश्वविद्यालयले पोखरा विश्वविद्यालय सेवा आयोगका प्रथम अध्यक्ष, विशिष्ठ विद्वान, वरिष्ठ साहित्यकार प्राज्ञ प्रा.डा. दुर्गा प्रसाद (डि.पि.) भण्डारीको मिति २०७६ चैत्र १ गते शनिबार दिन काठमाडौंस्थित हाम्स अस्पतालमा ८४ वर्षको उमेरमा भएको असामयिक निधनका कारण आज विश्वविद्यालय प्राङ्गण लेखनाथमा एक शोक सभा मनाएको छ । भण्डारी विगत ५ वर्षदेखि विस्मृति रोग (अल्जाइमर्स) र फोक्सोसम्बन्धी रोगले सिकिस्त बिरामी हुनुहुन्थ्यो ।

शोक सभामा बोल्दै पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारीले स्वर्गीय भण्डारीको प्रभावशाली व्यक्तित्वको चर्चा गर्दै उहाँको निधनले प्राज्ञिक क्षेत्रले एक कुशल एवम् प्रखर समालोचक र दार्शनिक गुमाएको विचार व्यक्त गर्नुभयो ।

उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. इन्द्र प्रसाद तिवारीले स्वर्गीय भण्डारी साहित्यकार, प्राज्ञिक, समालोचक र दार्शनिक जस्ता बहुप्रतिभायुक्त स्पष्ट वक्ता भएका कारण उहाँको स्वर्गारोहणले अपुरणीय क्षति पुगेको विचार व्यक्त गर्दै विश्वविद्यालय परिवारलाई स्तब्ध र भावविह्वल तुल्याएको उल्लेख गर्नुभयो ।

वि.सं १९९२ साल कात्तिक १३ गते डोटीको निरौली गाउँमा जन्मी जीवन यात्राको पाँच दशकभन्दा बढी साहित्यिक र प्राध्यापन पेशामा सक्रिय रहनुभएका भण्डारी सालिन, भद्र र रोमान्टिक हुनुहुन्थ्यो भने हरेक लेख रचनामा उहाँको भावानात्मक र व्यङ्ग्यात्मक शैली मुखरित हुन्थ्यो ।

मृगस्थली, रोधि र फूल, त्यो धर्ती त्यो आकाश, नुरो बासुरी बजाईरहेको छजस्ता कृतिका लेखक तथा दर्जनौ लेख रचनाका स्तम्भकार भण्डारीले त्रिविमा अढाई दशक प्राध्यापन, नेपाल र एशियाली अनुसन्धान केन्द्रका निर्देशक, नेपाल साँस्कृतिक प्रतिस्ठानका अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरू र निकायहरूमा रही जिम्मेवारी प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले वि.सं. २०५७।०५।०१ देखि २०६१।०४।३२ सम्म र वि.सं. २०६१।०५।१० देखि २०६३।०६।२८ सम्म पोखरा विश्वविद्यालय सेवा आयोगको अध्यक्ष भई दुई कार्यकाल बिताउनु भएको छ । उहाँका एक श्रीमती र दुई छोराहरू छन् ।

भण्डारीको निधनले नेपाली साहित्यिक, प्राज्ञिक क्षेत्रले एक ओजयुक्त अभिभावक गुमाएको ठहर गर्दै उहाँको योगदान र कृतिलाई सम्बन्धित जगतले सदा स्मरण गरिरहने छ ।

पोखरा विश्वविद्याल, स्वर्गीय भण्डारीप्रति भावपूर्ण हार्दिक श्रदाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।