पोवि सेवा आयोगको अध्यक्षमा रघुनाथ अधिकारी नियुक्त

पोखरा विश्वविद्यालयको रिक्त सेवा आयोगको अध्यक्ष पदमा सह–प्राध्यापक रघुनाथ अधिकारी हालै नियुक्त हुनुभएको छ । उहाँले हाल त्रिभुवन विश्वविद्यालय सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा १४ को उपदफा (१) (क) बमोजिम उहाँलाई उक्त पदमा ४ वर्षका लागि नियुक्त गर्नुभएको हो । सँगसँगै प्रधानमन्त्री ओलिले सोही ऐन बमोजिम सेवा आयोगको रिक्त सदस्य पदमा त्रि.वि., पृथ्वीनारायण क्याम्पसका, पोखराका प्राध्यापक दीपकचन्द्र वाग्लेलाई समेत नियुक्त गर्नुभएको छ । उहाँहरू दुबैलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा, रजिष्ट्रार गोविन्दप्रसाद शर्माले आज पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालय लेखनाथमा एक समारोहबीच पद बहाली गराउनु भयो । उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा तथा रजिष्टार गोविन्द प्रसाद शर्माले नवनियुक्त सेवा आयोगका अध्यक्ष एवम् सदस्यलाई बधाई ज्ञापन गर्दै विश्वविद्यालयको तर्फबाट २४ सै घण्टा सहयोग प्राप्त हुने विश्वास दिलाउनु भएको थियो ।

पद बहालीपछि बोल्दै नवनियुक्त सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारीले स्थापनाकालदेखि नै आफू पोखरा विश्वविद्यालयसित परिचित रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको आन्तरिक एवम् व्यवस्थापनका विषयमा आफू धेरै जानकार नभएपनि सबैको साथ सहयोग र सद्भाव प्राप्त भएमा आगामी कार्य गर्न सहज हुने विचार व्यक्त गर्नुभयो । नवनियुक्त सेवा आयोग सदस्य प्राध्यापक दीपकचन्द्र वाग्लेले आगामी दिनमा सेवा आयोगले गर्ने काममा विश्वविद्यालय परिवारको सुझाव, सहयोग र सल्लाहका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयमा विगत २१ महिनादेखि सेवा आयोग पदाधिकारी विहिन हुँदा शिक्षक कर्मचारीहरूको आन्तरिक एवम् खुला विज्ञापन, स्थायी नियुक्ति एवम् बढुवासम्बन्धी सम्पूर्ण कार्यहरू अबरूद्ध भएका थिए ।