पोविद्वारा प्राज्ञिक अन्तरक्रिया कार्यक्रमको आयोजना

पोखरा विश्वविद्यालयले प्राज्ञिक परिषद्को ६४ औं साधारण बैठकको पूर्वसन्ध्यमा मिति २०७३ असोज २६ गते बिहीबार पोखरामा एक प्राज्ञिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयले प्राज्ञिक परिषद्का विद्धत व्यक्तिहरूसँग विश्वविद्यालयको समग्र विकासका लागि विश्वविद्यालयले अघि सारेका र खट्किएका विषयवस्तुहरूमा अन्तरक्रिया गरी अमुक सुझावका रूपमा उठेका विषय वस्तुको कार्यान्वयनका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्माले विश्वविद्यालयको रणनीतिक कार्य योजनाको सफल कार्यान्वयन, आंगिक महाविद्यालयहरू सञ्चालनमा लागत आपुरण नीतिको कार्यान्वयन, विश्वविद्यालयको मौजुदा संगठनको संरचनात्मक ढाँचामा थपघट, शिक्षक कर्मचारीलाई पुरस्कार दण्ड तथा वृत्ति विकासको व्यवस्था, सम्बन्धनप्राप्त महाविद्यालयहरूका शिक्षकहरूको पदीय पहिचानको व्यवस्था, शैक्षिक उन्नयनका लागि सम्बन्धनप्राप्त महाविद्यालयहरूसँग गरिने कोलाबोरेटिभ रिसर्च मोडेल लगायत आंगिक महाविद्यालयहरूमा शैक्षिक वर्क लोड निर्धारणका विषयमा विस्तृत विवरण प्रस्तुत गर्दै कार्यान्वयनमा देखिएका द्विविधाहरूको निराकरणका लागि सुझावको अपेक्षा गर्नुभएको थियो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार गोविन्द प्रसाद शर्माले शैक्षिक संगठनको संरचनात्मक सुधार गर्दै जाँदा शैक्षिक उन्नयन हुने विचार राख्दै नेपालको उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालयको संस्थागत सुधार र क्षमता विस्तारका लागि जोड दिइएको बताउनु भयो । रजिष्ट्रार शर्माले अनुसन्धान, पठनपाठन र गुणस्तरलाई अभिवृद्धि गर्नका लागि विश्वविद्यालयले अघि सारेका विषयवस्तुलाई प्राज्ञिक अन्तरक्रियाले एउटा ठोस निचोड दिने विश्वास समेत व्यक्त गर्नुभयो ।
व्यवस्थापन विषय समिति, पो.वि. का अध्यक्ष प्राज्ञ प्रा.डा. प्रेमराज पन्तले पोखरा विश्वविद्यालय पहिला पनि राम्रो थियो र अहिले पनि यसको साखमा कमी छैन भन्दै अझ बढी स्तरोन्नतिका लागि यसले बेन्च मार्क प्रणाली अनुसार शैक्षिक कार्यक्रमको दिगोपनका लागि नयाँ विधामा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले उत्तम विद्यार्थी र शिक्षक बिना विश्वविद्यालय सञ्चालन हुन नसक्ने विचार राख्दै यसका लागि विश्वविद्यालयले तिनीहरूको क्षमता विकास, पहुँच र सन्तुष्टिलाई कुण्ठित गर्न नहुने विचार राख्नु भयो । उहाँले विश्वविद्यालयको पहिचानका लागि एमफिल र पिएचडि कार्यक्रम तथा डिग्रीलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो । प्रा.डा. पन्तले विश्वविद्यालय समाज परिवर्तनको संवाहक भएकोले समाज विकासका लागि निरन्तर लाग्न सुझाव दिँदै यसले दिने प्रतिफलको विश्लेषण गरी सम्प्रेषण गर्नुपर्ने तर्क राख्नु भयो । उहाँले विश्वविद्यालयको प्राज्ञिक स्तरवृद्धिका लागि इन्टर फेकल्टी प्रोग्राम, डिपार्टमेन्ट सञ्चालन गर्न जोड दिँदै त्यसका लागि कलेजको एकाडेमिक अडिट गर्न समेत सुझाव दिनु भयो ।
इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन विषय समितिका अध्यक्ष प्राज्ञ भेषराज कँडेलले पोखरा विश्वविद्यालयले अघि सारेका नीति तथा कार्यक्रम स¥हानीय रहेको उल्लेख गर्दै तहगतरूपमा पहिलो, दोस्रो, तेस्रो प्राथमिकतामा राखी कार्यक्रमहरूको क्रमैसँग सञ्चालन, विकास र विस्तार गर्न सुझाव प्रस्तुत गर्नुभयो । उहाँले उपयुक्त ढाँचामा कलेजको अनुगमन र मूल्यांकन गरी ३ वर्षको समय आधारमा सबैभन्दा उत्तम र सबैभन्दा खराब कलेज पहिचान गर्न विश्वविद्यालयलाई सुझाउँदै त्यसले विश्वविद्यालयको गुणस्तर अभवृद्धि गर्न मद्दत पुग्नुका साथै अभिभावकलाई समेत सचेत पार्न सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङ् विषय समितिका अध्यक्ष प्राज्ञ प्रा. डा. रामबहादुर क्षेत्रीले पोखरा विश्वविद्यालय नेपालको नम्बर एक विश्वविद्यालयको रूपमा देख्न आफू आतुर भएको विचार व्यक्त गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयले विद्यार्थीलाई आकर्षित गर्न अन्तरविषय विधामा पाठ्क्रम निर्माण गर्दै अध्यापन क्षेत्रलाई बृहत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रा.डा. क्षेत्रीले विश्वविद्यालयले वार्षिक, सेमेष्टर र ट्राइमेष्टर तीनवटा शैक्षिक प्रणाली सञ्चालन गर्नुको सट्टा एउटै प्रणाली अपनाई अगाडि बढ्न सके यसले शैक्षिक उन्नयनमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो ।
शिक्षाविद् प्राज्ञ प्रा.डा. श्रीधरप्रसाद लोहनीले विश्वविद्यालय एउटा स्वायत्त संस्था भएकोले यसले बिना रोकटोक आफ्ना कार्यक्रमहरूको स्थापना, सञ्चालन र विकास गर्न पाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रा.डा. लोहनीले जवादेहिता विश्वविद्यालयको अर्को महत्वपूर्ण पाटो भएकोले यसका लागि विश्वविद्यालयले पठनपाठनका लागि आवश्यक पर्ने तत्व, विषय वस्तु र उत्तरदायित्वलाई समेत गहनरूपमा पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाज परिवर्तनशील छ भन्दै पुराना नचल्ने किसिमका कार्यक्रम खारेज गर्ने र सबभन्दा राम्रो नयाँ विशिष्ट कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयले ध्यान केन्द्रित गर्न जोड दिनुभयो । उहाँले शैक्षिक गुणस्तर वृद्धि र स्यायित्वका लागि वनर्स कार्यक्रम सञ्चालन गर्न समेत जोड दिनुभयो । उहाँले ह्यूमानिटिको अध्ययन जीवनको सौन्दर्य र आनन्द व्यतीत गर्नका लागि र सोसल इञ्जिनियरिङ्को अध्ययन सीप सिकाउने कार्यक्रम भएकोले यी दुई विधालाई अलग गर्न समेत विश्वविद्यालयलाई सुझाव दिनुभएको थियो ।
त्यसैगरी नर्सिङ् विषय समितिका अध्यक्ष प्राज्ञ तारा पोखरेलले पोखरा विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमहरू विशिष्ट रहेको उल्लेख गर्दै यसको विकास र विस्तारका लागि आवश्यक पर्ने विषयमा विश्वविद्यालय अझ बढी गम्भिर भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जोखिमयुक्त कार्यक्रममा सरिक हुने शिक्षक कर्मचारीको सेवा सुविधामा विश्वविद्यालयले पुर्नविचार गर्न जरूरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राज्ञिक परिषद्, पोखरा विश्वविद्यालयका सदस्य सचिव तथा मानविकी तथा सामाजिकशास्त्र संकाय, पोविका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले वृहत रूपमा विश्वविद्यालयको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने स्वास्थ्य विज्ञान संकाय, पोविका डीन डा. खेमराज जोशी, विज्ञान तथा प्रविधि संकाय, पो.वि.का डीन ई. बुद्धिराज जोशी, अनुसन्धान केन्द्र, पोविका कार्यकारी निर्देशक सहप्राध्यापक गुँलाम मोहम्मद खान, पाठ्यक्रम विकास केन्द्र, पोविका कार्यकारी निर्देशक सहप्राध्यापक राजेशकुमार ठगुराठी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, पोविका कार्यकारी निर्देशक टेकबहादुर क्षेत्री, परीक्षा नियन्त्रक डा. भरतराम ढुंगाना, स्कूल अफ विजनेश, पो.वि. का स्कूल निर्देशक डा. रविन्द्र घिमिरे, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोविका स्कूल निर्देशक डमरू प्रसाद पनेरू, स्कूल अफ इञ्जिनियरिङ्, पोविका स्कूल निर्देशक ई. अर्जुन गौतम तथा कार्यक्रम तथा योजना महाशाखा, प्रमुख, पोविका सहप्राध्यापक ज्ञानेश्वर शर्माले आ–आफ्नो क्षेत्रका बारेमा वृहत रूपमा विषयवस्तुहरू प्रस्तुतिकरण गर्नुभएको थियो ।