पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय स्थापना भएको २४ औं वर्ष पुरा भई २५ वर्ष लागेको छ । २५ औं वार्षिकोत्सव पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा विश्वविद्यालय हाताभित्र सरसफाई तथा एक औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले २५ वर्षमा विश्वविद्यालयले गरेका उपलब्धीका बारेमा चर्चा गर्दै यो जन्माउने र हुर्काउने सबै महान् हुन् भन्नुभयो । उहाँले सबैको दुःख र मेहनतले बनेको यो विश्वविद्यालयको विकास र विस्तारमा सबै पक्ष एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।  विश्वविद्यालयको गरिमा, छवि र दिगोपनका लागि हामी सम्वाद्, सहमति र सहकार्यका आधारमा अगाडि बढ्न चाहन्छौंं, हामीलाई ध्यानाकर्षण, बन्द, तोडफोड होइन, रचनात्मक सहयोग गर्नुहोस्, कसैलाई दण्ड दिने अवस्था नआवोस्, उपकुलपतिको भनाई थियो । उहाँले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको भावना मुखरित गर्दै शैक्षिक गुणस्तर र जनशक्ति उत्पादनमा अनुसन्धान, सामाजिक विकास र उद्यमशीलतालाई जोड दिइने बताउनुभयो । 

वार्षिकोत्सव कार्यक्रममा बोल्दै रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले पोखरा विश्वविद्यालयले २५ वर्षमा आइपुग्दा समेत अपेक्षित प्रगति हासिल गर्न नसेकेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको लक्ष्यप्राप्तिका लागि अब हिड्ने होइन दगुर्ने बेला आएको उल्लेख गर्नुभयो । परिवर्तन आँफैबाट शुरू गर्नुपर्ने उल्लेख गर्दै रजिष्ट्रार भण्डारीले हामीले विश्वविद्यालयबाट के पायौं भन्दापनि हामीले के दिन सक्यौंं भनेर सोच्न सबैलाई आग्रह गर्नुभयो । म काम गर्न आएको हुँ र काम गरेर देखाउँछु भन्दै उहाँले विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र शिक्षण अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिसकेको र यसलाई तोकिएको समयसिमाभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो । यो वर्षको लागि बजेट पास छ, यसलाई अधिकतम सदुपयोग गरी निकाय, संकायको विकास गर्नुस्, समस्या परे गाँठो फुकाउने हामी छौं, पधाकारीतर्फ इंगित गर्दै रजिष्ट्रारले भन्नुभयो । 

पोखरा विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. दिपकचन्द्र वाग्लेले २४ वर्षमा के के कमीकमजोरी भए तिनबाट पाठ सिक्दै, छलफल गर्दै अगाडि बढ्न सबै स्टेकहोल्डरलाई सुझाउनुभयो । विश्वविद्यालयमा कामलाई प्रभावकारी तुल्याउन अनुसन्धान हुनुपर्नेमा उहाँको जोड थियो । 

पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्काले पोखरा विश्वविद्यालयको विगतलाई हेर्दा धेरै प्रगति भएको उल्लेख गर्नुभयो । उहाँले यो परिवर्तनतर्फ निरन्तर उन्मुख रही विविध कार्यक्रम र नीतिका साथ अगाडि बढ्दै आएको उल्लेख गर्नुभयो । यसको प्रगतिलाई सकारात्मक भएर सोच्न आग्रह गर्दै उहाँले विश्वविद्यालयको विकास र विस्तारमा समाजसेवी, शिक्षाप्रेमी सबैको साथ, सहयोग रहेको उल्लेख गर्नुभयो । 

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. अजय थापाले सबैको साथ र सहयोगले विश्वविद्यालय यो अवस्थामा आएको उल्लेख गर्नुभयो । विश्वविद्यालयमा देखिएका चुनौतिलाई अवसरमा परिणत गर्न निश्चित योजना र रणनीति बनाउँदै फरक ढंगले अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डेले २५ वर्षको अवधिलाई साक्षी राखेर विश्वविद्यालयलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवहारमा परिवर्तन नआई प्राज्ञिक उन्नयन हुन नसक्ने बताउनुभयो । समाज, टोल, प्रदेश र सिंगो देश सुहाँउदो भूमि सुहाँदो शिक्षा र दीक्षाका लागि सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्यालले सूचना प्रविधिलाई आत्मसाथ गर्दै विश्वविद्यालयलाई विश्वसामू चिनाउन सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले विश्वविद्यालय स्थापनामा स्थानीयको सहयोग र योगदान अतुलनीय रहेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबै एक जुट भएर लाग्न आग्रह गर्नुभयो । उहाँले भाइफुटे गवाँर लुटेजस्तै गरी आपसी द्वन्द्वमा विश्वविद्यालय जान नहुने तर्क राख्दै पोखरेलले यसको साख र छविलाई सबै स्टेकहोल्डरले जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा बन्द धेरै हुने गरेका र यसले विश्वविद्यालयको उन्नतिमा धेरै हानी पुगेको उल्लेख गर्नुभयो । पोखरेलले योजना बनाएपछि कार्यान्वयन गर्न जोड दिँदै विश्वविद्यालयलाई अगाडि लैजाने विषयमा स्थानीय नागरिकको सँधै साथ, सहयोग र सद्भाव रहने उल्लेख गर्नुभयो । 

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष उपप्रशासक शिवराज पण्डितले सहमति, सहकार्य र एकताबाट विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको विकास र विस्तारका लागि सातवटै प्रदेशमा एक एक वटा आंगिक कलेज सञ्चालन हुनुपर्ने बताउनुभयो । 

वार्षिकोत्सव समारोहमा दुईजना कर्मचारीलाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र र पुरस्कारको रूपमा दुई ग्रेड वृद्धि गरिएको छ । सम्मानीत हुने कर्मचारीमा मानविकी तथा सामाजिक शास्त्र संकायमा कार्यरत कार्यालय सहयोगी चन्द्रा चेम्जोङ्ग, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गमा कार्यरत मुख्य सहायक पुरूषोत्तम रानाभाट हुनुहुन्छ । कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो । 

पोखरा विश्वविद्यालयमा हाल ४ वटा आंगिक, ४ वटा संयुक्त आंगिक, ५८ वटा सम्बन्धन कलेज र एकवटा विद्यावारिधितहको अध्ययन अध्यापनका लागि काउन्सिल फर डक्टरल स्टडिज रहेका छन् । यि सबैमा हाल ६३ वटा कार्यक्रम सञ्चालन र लगभग ३३ हजार विद्यार्थी अध्ययनरत छन् ।