पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थलगत अनुगमन

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थलगत अनुगमन


२०८० फागुन १३ गते आइतबार, पोखरा–३०, कास्की ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक श्री हेमन्त शर्मा पौडेलको नेतृत्वमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशबाट आएको अनुगमन टोलीले आइतबार पोखरा–३०, खुदीमा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आज एक स्थलगत अनुगमन गरेको छ । सो अवसरमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिला र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्रकुमार यादवले अनुगमन टोलीलाई अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा र अस्पतालको वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराउनुभयो ।

टोलीले अस्पताल व्यवस्थापन, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड लगायत बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र शल्यचिकित्सा एवम् सघन उपचार कक्षसम्बन्धी मापदण्डका बारेमा अध्ययन तथा निरीक्षण गरेको थियो । यसका साथै जनशक्ति तथा विशेषज्ञसम्बन्धी व्यवस्था, फोहोर व्यवस्थापन, प्रयोगशाला, फार्मेसीसम्बन्धी व्यवस्थापन लगायत औजार तथा उपकरणका बारेमा समेत सुक्ष्म अनुगमन भएको थियो ।

२०७९ भदौ २२ गतेबाट बहिरङ्ग सेवा सञ्चालन गर्दै आएको अस्पतालले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “स्वास्थ्य सेवा सञ्चालन मापदण्ड–२०७७” बमोजिम आधारभूत मापदण्ड पुरा गरी पूर्ण चरणमा सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । अस्पताललाई हाल १०० शैयामा सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ ।

अनुगमन टोलीमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशबाट अञ्जु पौडेल, डा. रोशन ढकाल, दीवाकर शर्मा तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशबाट आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल हुनुहुन्थ्यो ।