पोखरा विश्वविद्यालय र एनआरईएनबीच सम्झौता

पोखरा विश्वविद्यालय र एनआरईएनबीच सम्झौता

२०८० साल असोज ६ गते शनिबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क स्थापना गर्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्र (एमओयू) मा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र एनआरईएनको तर्फबाट उक्त संस्थाका अध्यक्ष ई. लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभयो ।

उक्त समझदारीपछि एनआरईएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एशियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापान मार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ । यसले विश्वविद्यालयलाई विश्वव्यापीरूपमा विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू र शैक्षिक संस्थाहरूबीच कम्प्यूटेसनल नेटवर्क स्थापित गर्न बाटो खुलेको छ । यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई उन्नत अनुसन्धान र शिक्षाको विकासलाई गति दिन आवश्यक पर्ने डाटाको विशाल मात्रा हासिल गर्न सहज हुनेछ । साथसाथै एनआरईएनमा आबद्धतापछि विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई उनीहरूको आफ्नै बाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय भ्रमण गर्दा ईडुरोम वाईफाई इन्टरनेट पहुँच रोमिङ सेवा प्राप्त हुनेछ ।

विश्वविद्यालयमा अनुसन्धान तथा शिक्षा नेटवर्क सञ्चालनका लागि निकट भविष्यमा एक सूचना तथा सञ्चार प्रविधि (आईसीटी) केन्द्र स्थापना गर्ने लक्ष्य विश्वविद्यालयको छ ।

एमओयू हस्ताक्षर समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, एनआरईएनका अध्यक्ष ई. लोचनलाल अमात्य, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङकायका डीन सह–प्रा.डा. अमर नागिला, विज्ञान तथा प्रविधि सङ्कायका निमित्त डीन प्रा.डा. माधव प्रसाद कोइराला, एनआरईएनका प्रा.डा. सुर्वण शाक्य, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी तथा एनआरईएनका कार्यकारी निर्देशक डा. राजन पराजुलीले सम्बोधन गर्नुभएको थियो ।