पोखरा विश्वविद्यालय रजत जयन्तीमा रचनात्मक कार्य गरिने

पोखरा विश्वविद्यालय रजत जयन्तीमा रचनात्मक कार्य गरिने

२०७८ चैत्र २२ गते मङ्गलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा विश्वविद्यालयले रचनात्मक कार्य गरी रजतजयन्ती मनाउने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा गठित रजिष्ट्रार, संकायका डीनहरू, परीक्षा नियन्त्रक लगायत अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू सम्मिलित रजत जयन्ती मूल तयारी समितिले उक्त निर्णय गरेको हो । विश्वविद्यालयमा आज आयोजित एक समारोहमा उक्त जानकारी दिइएको हो । स्थानीय समाजसेवी, विश्वविद्यालयस“ग सम्बद्ध एवम् विश्वविद्यालय स्थापनार्थ विभिन्न किसिमले सहयोग गर्ने व्यक्ति एवम् संस्थाहरूसमेत समावेश गरी रजत जयन्ती मनाइने छ । रजत जयन्तीलाई समुदायसँग हातमालो गर्दै तनाव व्यवस्थापन, योग, रक्तदान, पूर्व विद्यार्थी भेला, सरसफाई, स्वास्थ्य शिविर, स्वास्थ्य साक्षरता अभियान सञ्चालन गरी रजत जयन्तीलाई समुदायसम्म पुर्याउने लक्ष्य विश्वविद्यालयको छ ।

यसका साथै २५ वर्षसम्म गरेका कार्यहरूलाई समेटि वृत्तचित्र निर्माण र त्यसको प्रचारप्रसारलाई समेत जोड दिइने छ । विश्वविद्यालयले मनाउन लागेको रजत महोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको वकृत्व कला, फुटबल, हाजिरी जवाफ, सांस्कृति कार्यक्रमजस्ता प्रतिभा प्रस्फुटन र मनोरञ्जनका कार्य समेत सञ्चालन गरिनेछ ।

विश्वविद्यालयको समग्र गतिविधिलाई समेट्ने गरी विश्वविद्यालयको प्रोस्पेक्टस्, रजत स्मारिका प्रकाशन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ । विश्वविद्यालयको छविलाई प्रबद्र्धन गर्ने खालका टि–सर्ट, स्टीकर, लोगो, व्याज, कप, बलपेन, पेन होल्डर तथा क्याप प्रयोगमा ल्याइने छ ।

यसका साथै रजत जयन्ती सप्ताहमार्फत विश्वविद्यालय स्थापनामा विभिन्न तवरले सहयोग र योगदान गर्ने संस्था, व्यक्तित्व, पूर्व पदाधिकारीहरूको सम्मान गर्ने कार्यक्रमलाई अघि सारिएको छ । विश्वविद्यालयका कार्यक्रमलाई राष्ट्रव्यापी तुल्याउन राष्ट्रिय कार्यशाला गोष्ठी, सेमिनार, वार्ता, अन्तरक्रिया कार्यक्रमलाई पनि रजत जयन्ती महोत्सवमा समावेश गरिनेछ ।