पोखरा विश्वविद्यालय २३ औं वर्षमा प्रवेश

२०७६ श्रावण १ गते, बुधबार, लेखनाथ । पोखरा विश्वविद्यालय २०७६ श्रावण १ गतेदेखि २३ औं वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालयको २३ औं वार्षिकोत्सव खुल्ला रक्तदान तथा चियापान कार्यक्रम गरी मनाइयो । पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर लेखनाथमा आयोजित उक्त कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी लगायत स्थानीयबासीहरूले ४० युनिट रगत दान गरे । संकलित रगतलाई नेपाल रेडक्रस सोसाइटी, कास्कीको क्षेत्रीय रक्तसञ्चार सेवा, रामघाट, पोखरालाई हस्तान्तरण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका निमित्त उपकुलपति ई. बुद्धिराज जोशीले पोखरा विश्वविद्यालयको अहिलेको परिस्थिति जटिल भएको उल्लेख गर्दै हामी सबै सकारात्मक र संयमित भएर कार्यगत एकता गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयलाई एउटा महत्वपूर्ण अंगको रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले कक्षा कोठामा सिमित पठन पाठनलाई समाजप्रति लक्षित गरेमा मात्र पोखरा विश्वविद्यालय उत्कृष्ट विश्वविद्यालय बन्ने धारणा राख्नुभयो ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. ईन्द्रप्रसाद तिवारीले पोखरा विश्वविद्यालय अहिले असहज र अप्ठ्यारो परिस्थितिमा रहेपनि चालु आर्थिक वर्षको लागि बजेट पास भएको, विश्वविद्यालयका कार्यक्रमहरू रणनीतिक योजना, कार्ययोजनाहरू ५ वर्षका लागि तय भएको तथा विश्वविद्यालय अनुदान आयोगले प्रदत्त गर्ने क्यूएएको प्रक्रिया अन्तिम चरणमा रहेकाले विश्वविद्यालयले आफ्नो निर्दिष्ट गन्तव्य लिने विचार व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयले पछिल्लो समयमा कार्यक्रम थप गर्ने र तिनलाई सशक्तिकरण गर्ने, सबलीकरण गर्ने विषयहरू सशक्त रूपमा अगाडि ल्याएको उल्लेख गर्नुभयो । प्रा. तिवारीले शिक्षा क्षेत्र वितरण मात्र होइन ज्ञानको निर्माण गर्ने पवित्र थलो भएकोले विश्वविद्यालय शिक्षालाई बलियो र सशक्त बनाउन नसके राज्य कमजोर र धराशायी हुने विचार राख्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले पोखरा विश्वविद्यालय पश्चिम क्षेत्रको मात्र नभई नेपालकै एउटा गहना हो भन्नुभयो । उहाँले जनआकांक्षा र स्थानीयबासीले सोचे अनुरूप विश्वविद्यालय अगाडि बढ्न नसकेकोमा दुखेसो व्यक्त गर्दै सबैले सकारात्मक भएर विश्वविद्यालयलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयले सम्झेको खण्डमा वडाले समन्वयकारी भूमिकासहित सहयोग र योगदान गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन पोखरा विश्वविद्यालय योजना महाशाखा प्रमुख सहप्राध्यापक डा. ज्ञानेश्वर शर्माले गर्नुभएको थियो ।