पोखरा विश्वविद्यालयद्वारा दिगो विकासमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजन

१४ असार, २०७६ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय एवम् स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गले दिगो विकासमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू गरेको छ । दिगो विकासः दृष्ट्रिकोण, तयारी र कार्यहरूमा अन्तर्राष्टिय सम्मेलन नाम दिइएको उक्त सम्मेलनलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले गमलामा राखेको बिरूवामा पानी सेचन गरी उद्घाटन गर्नुभयो । सम्मेलनमा आफ्नो मन्तव्य राख्दै रजिष्ट्रार शर्माले विश्वव्यापी साझा विषय र चुनौतिका रूपमा रहेको आर्थिक, सामाजिक, र पर्यावरणीय समस्याहरूको न्यूनिकरण कार्यान्वयन गर्ने दिशामा सम्मेलन फलिभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. ईन्द्रप्रसाद तिवारीले नेपालजस्तो साधन र स्रोतले सम्पन्न मुलुकका लागि बहुमूल्य सम्पदाहरूको संरक्षण र सम्बर्धन, भौतिक पूर्वाधारको जोखिम न्यूनिकरण, पर्यटन विकास, जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण कसरी गर्ने भन्ने आदि विषय नै प्रमुख चुनौतिका रूपमा रहेकाले सम्मेलन तिनै विषयमा केन्द्रीत हुने उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. ओमप्रकाश शर्माले मानव समाजले भोग्नुपरेका तनाव र जटिलताहरूलाई सुरक्षित र सन्तुलन कायम राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । दिगो आर्थिक विकास र वातावरण संरक्षण गर्दै परिवर्तनमुखी मानव सम्भयताका लागि हामीले राष्टिय जिम्मेवारी विर्सन नहुने उहाँको तर्क थियो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशीले गुणात्मक शिक्षा प्राप्तिमा देखिएका चुनौति र अवसरहरूको लेखाजोखा गर्दै त्यसको नीति निर्माणमा सम्मेलनले दिशा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग, पोखरा विश्वविद्यालयका निर्देशक डा. रामप्रसाद अर्यालले स्वागत मन्तव्य राख्दै सम्मेलनको महत्व र उपलब्धीका बारेमा र सह–प्राध्यापक डा. अजय थापाले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरूको बारेमा प्रकाश पार्नुभएको थियो ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, साउदी अरेबिया, फ्रान्स, भिएतनाम, क्यानडा र अमेरिकाबाट दिगो विकासः दृष्टिकोण, तयारी र कार्यहरूका ९ वटा विषयमा कुल ४१ वटा कार्यपत्रहरू प्रस्तुत भएका छन् । ३ दिने सम्मेलन २०७६ असार १५ गते सम्पन्न हुनेछ ।