पोखरा विश्वविद्यालयको २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालयको २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७७ श्रावण १ गते, बिहीबार, कास्की ।

पोखरा विश्वविद्यालय २०७७ श्रावण १ गतेदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । विश्वविद्यालयको २४ औं वार्षिकोत्सवलाई कार्यालय परिसर लेखनाथमा सरसफाई, वृक्षारोपण र साँझ दीपावली गरि मनाइयो । विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा आफ्नो मन्तव्य राख्दै व्यवस्थापन संकायका डीन प्राध्यापक हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताउँदै यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उत्पन्न भएको जनाउनुभयो । त्यस्तै योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक डा. ज्ञानेश्वर शर्माले २१ औं शताब्दीको विश्वविद्यालय परिकल्पना गरेको अवस्थामा विश्वविद्यालय नेतृत्वविहीन हुँदा सबैलाई पिडा भएको उल्लेख गर्नुभयो । पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति हेमराज पाण्डेले समय सापेक्ष नीतिगत निर्णय गरी विश्वविद्यालयको शैक्षिक एवम् पूर्वाधार विकास कार्यक्रमलाई समय अनुकूल बनाउन र विश्वविद्यालयको भविष्यलाई जोगाउन सम्माननीय प्रधानमन्त्रीले नियुक्ति प्रक्रियालाई टुङ्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले पोखरा विश्वविद्यालयमा चुनौति थपिंदै गएको उल्लेख गर्दै विश्वविद्यालयको प्राज्ञिक अनुभव र विद्धता छानी छानी प्रयोग हुँदै आएको प्रति चिन्ता समेत व्यक्त गर्नुभयो । सह–प्रशासक यादव थापाले पोखरा विश्वविद्यालय धेरै दुःखले आजको अवस्थासम्म आएको बताउँदै संस्थाको उज्ज्वल भविश्यको लागि सबैले सकारात्मक भएर सोच्नुपर्नेमा जोड दिनु भयो ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले नेतृत्व अभावका कारण विद्यार्थीको मात्रै होइन, तिनमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको भविष्य समेत अन्धकार भएको बताउनु भयो । शिक्षा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा सरकार गैरजिम्मेवार हुनु दुर्भाग्य हो भन्दै उहाँले विश्वविद्यालयको नेतृत्वको रिक्तता र शुन्यताका कारण आफ्ना नानी बाबुको भविष्यका बारेमा अभिभावकलाई उत्तर दिन नसिकिएकोे गुनासो गर्नुभयो ।

सरकारले विगत १० महिनादेखि उपकुलपति नियुक्ति नगरेर विश्वविद्यालयलाई अन्यौल ग्रस्त बनाइदिएको छ । विश्वविद्यालयको समग्र नीति तथा योजना, प्राज्ञिक तथा दैनिक प्रशासन र परीक्षा सञ्चालनको तयारी कार्य लगायत सबै कार्यहरुमा उपकुलपति नहुँदा गभ्भिर असर परेको छ । उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिका विहिन बनेका छन् । उपकुलपति मार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान, विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डीनहरूको पद समेत हाल रिक्त छन् । त्यति मात्रै होइन परीक्षा नियन्त्रक, अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र, अन्तर्राष्टिय केन्द्रका कार्यकारी निर्देशकहरूको पदहरू समेत रिक्त छ । त्यस्तै ३ वटा आंगिक महाविद्यालयहरूका स्कूल निर्देशकहरू समेत रिक्त छन् ।
मुख्य नेतृत्वकै अभावका कारण विश्वविद्यालयको दैनिक शैक्षिक तथा प्रशासनिक सम्पूर्ण कार्यहरू रोकिएका छन् । फागुनमा हुने दीक्षान्त रोकिएको छ । विश्वविद्यालयको सर्वोच्च निकाय सभाका सदस्यहरू समेत रिक्त छन् । असारमा गरिसक्नुपर्ने सभा रोकिएको हुँदा आगामी वर्षको बजेट तर्जुमा एवम् नीति तथा कार्यक्रम अवरूद्ध हुन पुगेका छन् ।

उपकुलपतिको अभावसँगै निम्तिएको कोरोनाको प्रभाव र मुलुकमा ३ महिनाभन्दा बढी जारी लकडाउनका कारण विश्वविद्यालयको अध्ययन–अध्यापन एवम् परीक्षा संचालनका कार्य हुन सकिरहेको छैन । यसले गर्दा शैक्षिक क्यालेण्डर समेत प्रभावित बनेको निवर्तमान परीक्षा नियन्त्रक सहप्राध्यापक डा. भरतराम ढुंगाना बताउनुहुन्छ । यस्तो अवस्थामा विद्यार्थीहरुको मुल्याङ्कन गर्नको लागि वाह्य परीक्षा (बोर्ड इक्जाम) तत्काल हुने सम्भावना पनि नदेखिएको उहाँले औल्याउनु भयो ।

चैतमा हुने भनेको परीक्षा लकडाउनको कारणले स्थगित भयो । लकडाउनको अवधिमा अधिकांश विद्यार्थीहरूले लकडाउनको पहिलो र दोस्रो हप्तासम्म मात्र परीक्षा हुन्छ कि भन्ने आशाले पढेका थिए । तर जति जति लकडाउन थपिदै गयो, त्यति त्यति विद्यार्थीले परीक्षा हुन्छ भन्ने आशा मार्दै गए र पढ्न पनि छाड्दै गए । लामो समयदेखि परीक्षा समितिको अध्यक्ष रजिष्ट्रार नहुँदा नियमित परीक्षा अन्यौल बन्दै गए । यसले विद्यार्थीहरूलाई तनाव थपिदिएको छ र यस्तो अवस्थामा उनीहरूले परीक्षा दिन नसक्ने बताएका छन् । यदि विश्वविद्यालयले परीक्षा सञ्चालन गर्यो भने अधिकांश विद्यार्थीहरूको परीक्षा विग्रिने र परीक्षा बिग्रेकै कारण धेरै विद्यार्थीहरू डिप्रेशनको सिकार भई आत्महत्या समेत गर्न सक्ने स्थिति रहेकाले यो वर्ष परीक्षा नगराईदिनु हुन भन्दै पिडित विद्यार्थीहरूले अनुरोध समेत गरेका छन् ।

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व स्ववियू अध्यक्ष सुनिल क्षेत्रीले लामो समयदेखि पदाधिकारी नियुक्ति नभएकै कारण प्राज्ञिक तथा प्रशासनिक विषयवस्तुहरू ठप्प हुनु अत्यन्त चिन्ताजनक विषय भएको औल्याउनु भएको छ । उहाँले विश्वविद्यालयको नियुक्तिहरूलाई विशेष महत्व राख्न नेपाल सकारसँग अनुरोध गर्दै सबैमा त्यसका लागि रचनात्मक दवाव सिर्जना गर्न अपिल समेत गर्नुभएको छ ।

अर्कोतिर सम्बन्धित पदाधिकारीहरूको रिक्तताले प्राज्ञिक परिषद् तथा कार्यकारी परिषद्बाट तत्काल वैकल्पिक शिक्षण विधि सम्बन्धि कुनै कार्यविधि तयार भई शिक्षण कार्य अधि बढ्ने अवस्था समेत देखिदैन । नेपालका अन्य विश्वविद्यालयहरुले यस्तो विषम अवस्थामा अनलाइन विधिबाट अध्ययन–अध्यापन कार्यको थालनी गरिसकेको अवस्थामा पोखरा विश्वविद्यालयलाई अनिर्णयको बन्दीले उच्च शिक्षामा गुणस्तरीयताको अपेक्षा गर्न सम्भव देखिदैन ।

उपकुलपति नियुक्ति नगर्दा अनलाइन कक्षाको कार्यविधि, परीक्षा सञ्चालनसम्बन्धी वैकल्पिक व्यवस्था लगायत गर्नुपर्ने थुप्रै नीतिगत निर्णयहरूको अभावले विश्वविद्यालयमा अध्ययनरत झण्डै ४० हजार विद्यार्थीको भविष्य अन्यौल रहेको छ ।