पोखरा विश्वविद्यालयको परीक्षा र मूल्यांकन प्रणालीमा वर्कसप सम्पन्न

पोखरा विश्वविद्यालय (पोवि) को परीक्षा प्रणालीलाई थप कसरी वैज्ञानिक, समयसापेक्ष र गुणस्तरयुक्त तुल्याउने भन्ने सम्बन्धमा पोखरामा २०७४ पौष २७ गते बिहीबार एकदिने कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै विश्वविद्यालयका रजिष्टार गोविन्द प्रसाद शर्माले संसारले विश्वविद्यालयलाई हेर्ने ऐना परीक्षा भएकोले परीक्षा प्रणालीलाई चुस्त, प्रभावकारी र मर्यादित तुल्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले परीक्षा प्रणालीलाई निर्दिष्ट कार्यतालिका बमोजिम सञ्चालन गर्न अहिलेको सिङ्गो नेतृत्व सफल भएको उल्लेख गर्दै सानातिना देखिने त्रुटि र कमजोरीलाई सबैले एकताबद्ध भएर निवारण गर्न सके विश्वविद्यालय थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशालाका सभापति एवम् पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. भरतराम ढुङ्गानाले विश्वविद्यालयको प्रतिष्ठा र गरिमा उच्च राख्न परीक्षा एक महत्वपूर्ण तत्व रहेको उल्लेख गर्नुभयो । उहाँले हामीसँग स्पष्ट क्यालेण्डर छ, डायनामिक र अपडेटेड करिकुलम छ भन्दै यसलाई अझ बढी व्यवस्थित, मर्यादित, बैज्ञानिक र समयसापेक्ष तुल्याउन सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर राजन बहादुर पौडेलले सबै शिक्षकले कक्षा कोठमा मात्र पढाएर गुणस्तर नआउने उल्लेख गर्दै उसले पढ्ने, पढाउने तथा सिक्ने सिकाउने उत्तरदायित्व समेत वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा व्यवस्थापन संकाय, पोविका डीन प्रा. हरिबहादुर खड्का तथा सह–परीक्षा नियन्त्रक डा. सुरेश बरालले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यशालाको पहिलो सत्रमा जनरल इस्यू अन एक्जामिनेशन्स विषयमा परीक्षा नियन्त्रक डा. भरतराम ढुङ्गानाले कार्यपत्र प्रस्तुत र त्यसमा स्कूल अफ विजनेश, पोविका सह–प्राध्यापक डा. दिपकबहादुर भण्डारीले टिप्पणी गर्नुभएको थियो । दोस्रो सत्रको प्रशनपत्रहरू सेटिङ्स र मोडरेशनको छलफलको समुह कार्य र प्रस्तुतिकरणलाई स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोविका स्कूल निर्देशक डा. डमरू पनेरूले सहजीकरण गर्नुभएको थियो । त्यस्तै तेस्रो सत्रको उत्तरपुस्तिका मूल्याङकन र स्क्रुटिनाइजिङ्गको छलफलको समूह कार्य र प्रस्तुतिकरणलाई स्कूल अफ इञ्जिनियरिङ्ग, पोविका स्कूल निर्देशक ई. अर्जुन गौतमले सहजीकरण गर्नुभएको थियो । तीनवटै सत्रको अध्यक्षता प्रा.डा. राजनबहादुर पौडेलले गर्नुभएको थियो ।
पोखरा विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, पोवि परीक्षा समितिका सदस्यसहित कार्यशालामा कास्की जिल्लास्थित पोखरा विश्वविद्यालयका ४ वटा आङ्गिक र ५ वटा सम्बन्धनप्राप्त महाविद्यालयका करीब ५० जना शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पोविका सह–प्रशासक धु्रव प्रसाद अर्यालले गर्नुभएको थियो ।