उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय र नबिल बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय र नबिल बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर

२०७८ साल कात्तिक १२ गते शुक्रबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातकतहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई अध्ययन गर्न तथा अध्ययन पश्चात उद्यम÷व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नबिल बैंक लिमिटेडबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीको समुपस्थितिमा भएको हस्ताक्षर समारोहमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीन, सह–प्रा. डा. अजय थापा र नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्नु भएको थियो ।

हस्ताक्षर समारोहलाई उद्घाटनसहित सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने उद्यमीहरू जन्माउने कार्यलाई अभियानको रूपमा लैजाने बताउनुभयो । उहाँले परम्परागत शैलीको पठनपाठनमा आमूल परिवर्तन गरी विद्यार्थीहरूलाई उद्यमशिलतामा आकर्षित ज्ञान र सीप दिने उद्देश्यले नेपालमै पहिलोपटक उद्यमशिलता विकासमा पठनपाठन शुरू गरिएको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा.डा. दिपकबहादुर भण्डारीले विद्यार्थीले जागिर खोज्ने नभई रोजगारी सिर्जनाका लागि पढ्नुपर्नेमा जोड दिनु भयो । उहाँले नबिल बैंकले बिना धितो उत्कृष्ट व्यापार योजनालाई प्राथमिकता राखेर ऋण प्रभाव गरे उद्यमशिल विकासलाई सहयोग पुग्ने बताउनुभयो ।

नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अरूले रोपेको रूखको फल खाएर सन्तुष्टि भएको नबिल बैंकलाई फलको कुनै कमी नभएको उल्लेख गर्नुभयो । उहाँले नेपालका ठूला ठूला उद्यमीहरू नबिल बैंकको ग्राहक भएको उल्लेख गर्दै बैंकमा यथेष्ट रकम डिपोजिट रहेको तर बैंकको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालय जस्तो उत्कृष्ट संस्था भेटिएकोले आफू र आफ्नो टिमलाई निकै सन्तुष्टि प्राप्त भएको उल्लेख गर्नुभयो । शाहले इन्टर्नशिप सामाजिक सेवा होइन भन्दै विद्यार्थीलाई इन्टर्नशिपका लागि बैंक नभई जहाँ बुद्धि, विवेक, पसिना बगाउने उद्यमीहरू छन् त्यहाँ जानुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालयले शुरू गरेको ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रम देशलाई सबैभन्दा आवश्यक रहेको तर्क गर्दै शाहले पेटको आगो र आर्थिक अभावले विदेशीने विद्यार्थीलाई यस कार्यक्रममार्फत नयाँ विचार र योजनासहित आएमा नबिल बैंकले पूर्ण सहयोग र साथ दिने बताउनु भयो । तर जागिर पाए खाने र व्यापार व्यवसाय पनि गर्ने विद्यार्थीलाई यस क्षेत्रमा नलाग्न समेत उहाँले सुझाउनु भयो ।

हस्ताक्षर समारोहमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सह–प्रा.डा. अजय थापाले पोखरा विश्वविद्यालयल र ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रमको बारेमा प्रस्तुति गर्नुभएको थियो भने नबिल बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमु्ख सूर्य बहादुर रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै गरी नबिल बैंक लिमिटेडका दिगो बैंकिङ्ग विकासका प्रबन्धक लिला प्रसाद ओझाले नबिल बैंक लिमिटेड र एमओयूको मुख्य पक्षबारे प्रस्तुति गर्नुभएको थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको मेडपा कार्यक्रमका राष्ट्रिय परियोजना प्रबन्धक डा. रामजी प्रसाद न्यौपानेले कार्यक्रममा विशेष टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

दुई संस्थाबीचको सहयोगको क्षेत्रमा नबिल बैंकले उद्यमशीलता विकासमा चारवर्षे स्नातकतह (ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट) कार्यक्रममा अध्ययरत तथा उत्तीर्ण विद्यार्थीहरूले सञ्चालन गरेका जस्तैः विभिन्न कृषि व्यवसायमा संलग्न व्यक्तिगत एवम् सामूहि लगानीमा सञ्चालनमा रहेका र नयाँ सञ्चालन गरिने फर्म परियोजनाहरूलाई नबिल किसान कर्जा, कृषि, वन, व्यापार, उत्पादन, सेवा क्षेत्र आदिमा संलग्न सञ्चालित र नयाँ सञ्चालन गरिने विभिन्न लघु, साना तथा मझौला उद्यमहरूका लागि नबिल उद्यमशील कर्जाका साथै ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रम अध्ययन गर्न इच्छुक विद्यार्थीलाई उच्चशिक्षा उच्चशिक्षा कर्जा र शिक्षित युवा स्वरोजगार कर्जा प्रदान गर्नेछ ।

१०+२ पास गरेका विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न चाहेमा उच्चशिक्षा कर्जा अन्तर्गत उच्च प्राविधिक/व्यावसायिक शिक्षाका लागि पाँच वर्षको अवधिमा चुक्ता गर्नुपर्ने पाँचलाखसम्मको कर्जा नबिल बैंकले प्रवाह गर्नेछ भने शिक्षित युवा स्वरोजगार कर्जा पनि पाँच वर्षको अवधिमा चुक्ता गर्ने गरी अधिकतम सातलाखसम्म प्रदान गरिनेछ ।

किसान कर्जामा व्यक्तिगत व्यवसायका लागि १५ लाखसम्म, फर्मका लागि २५ लाखसम्म र सामूहिकमा पाँच लाख प्रति सदस्य प्रदान हुनेछ । पाँच वर्षसम्मको अवधि भएको किसान कर्जामा एक वर्षभन्दा कम नगद प्रवाह चक्र भएको व्यवसायका लागि छोटो अवधि कर्जा (एसटिएल) र सोभन्दा माथिको आवधिक कर्जाका रूपमा प्रवाह हुनेछ ।

विश्वविद्यालयले समय समयमा आफ्ना ब्याचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रममा अध्ययरत तथा उत्तीर्ण विद्यार्थीहरूलाई बित्ती विद्यार्थी र स्नातकहरूलाई वित्तीय साक्षरता÷उत्पादन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न प्लेटफर्महरू उपलब्ध गराउने तथा त्यस्ता विद्यार्थीहरूको डाइरेक्टरी/डेटाबेस उपलब्ध गराएर बैंकको वित्तीय क्षेत्रलाई सहज तुल्याउनेछ ।

पोखरा विश्वविद्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा नेपालमै पहिलो पटक पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिश शास्त्र संकाय अन्तर्गत स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गमा गत वर्षदेखि वेचलर अफ ईन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट कार्यक्रम सञ्चालनमा आएको थियो ।

कार्यक्रमका तस्विरहरू

« of 8 »